25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

पुर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि जनकपुरमा दलहरुकै नेताको लस्कर,घन्कियो राजतन्त्र जिन्दावादको नारा

    | प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५  

जनकपुर । पुर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि जनकपुरमा राजनीतिक दलहरुकै नेताहरुको लावालस्कर लागेको छ ।

मधेश भ्रमणका क्रममा बुधबार साझ जनकपुर पुगेका पूर्वराजा  शाहको स्वागत र भेटघाटका लागि प्रमुख प्रतिपक्षी देखि मधेस्गवादी दलका नेताहरुको समेत सहभागीता रहयो ।

बुधबार साझ जनकपुरस्थित सिताशरण होटेलको मुलद्वारमा शाहका समर्थकहरु र विभिन्न राजावादी संघ-संगठनले उनको भव्य स्वागत गरे । भने राजा आउ देश बचाउ’को चर्को नारा पनि  लगाए ।  राष्ट्रवादी नागरिक समाज जनकपुरले देशमा विदेशीको हस्तक्षेप बढेको भन्दै पूर्वराजा शाह समक्ष अब देशको जिम्मेवारी सम्हाल्न अपिल गर्यो ।

सोही क्रममा नेपाली कांग्रेसका नेता समेत रहेका ललन चौधरीले राजसंस्था र हिन्दु धर्म सापेक्ष बिना मुलुक नचल्ने देखिएकोले राजाको आवश्यक रहेको भन्दै पूर्वराजा शाहको स्वागतको लागि पुगेको बताए ।

त्यस्तै राजपा नेपालबाट अलग भएका राजपा लोकतान्त्रिकका संयोजक रितेश सिंहले जनकपुरमा पाहुनालाई स्वागत गर्ने हरेक नागरिकको अधिकार रहेकोले आफू स्वागत गर्न आएको उनको तर्क थियो ।

पूर्वराजा शाह भोली बिहान सर्लाहीस्थित दुर्गा मन्दिरमा पूजापाठ गरि सप्तरीस्थित सखडा मन्दिरलगायतका मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ भने पर्सि पुनः जनकपुरमा भेटघाटका कार्यक्रमहरु राखिएको राजदरबारका सचिव फणी पाठकले जानकारी दिए ।

पूर्वराजा शाहको स्वागत अभिनन्दनका लागि सैकडौँ राजावादीहरुको उपस्थिथि देखिएको थियो । भने उनको भ्रमण तय भएका हरेक जिल्लामा स्वागतको निकै ठुलो तयारी छ ।

सिके राउतलाई सरकारले मुलधारमा ल्याएको र मधेसको प्रमुख दल राजपा सरकारसँग असन्तुष्ट बनेको अवस्थामा पूर्वराजाबाट भएको मधेस भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

चैत ३ गतेसम्मको भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन् । भ्रमणका क्रममा उनले समर्थकसँग भलाकुसारी, मन्दीरहरुको दर्शन र केही राजनीतिक भेटवार्ता समेत गर्ने बुझिएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५     9:44:08 PM  |

प्रतिक्रया दिनुहोस्