22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

गोप्य भेटघाटले तरंग : पूर्वराजामाथि निगरानी र भारतीय राजदूतलाई स्पष्टीकरण सोध्ने तयारी

    | प्रकाशित मितिः शुक्रबार, चैत्र ८, २०७५  

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसँग भारतीय राजदूत मन्जिब सिंह पुरीले गोप्य भेट गरेपछि सरकारले स्पष्टीकरण माग्ने तयारी गरेको छ । सरकारलाई जानकारी नै नदिई राजदूत परीले पूर्वराजासँग गोप्य भेट गरेपछि सरकार स्पष्टीकरण माग्ने निस्कर्षमा पुगेको छ ।

परराष्ट्र मन्त्रालय मार्फत भारतीय राजदूत पुरीलाई स्पष्टीकरण सोध्ने तयारी सरकारले गरेको छ ।धार्मिक मिशन लिएर मधेश यात्रा गरिरहेका पूर्वराजासँग भारतीय राजदूत परीले मध्यरातमा गोप्य भेटवार्ता गरेका थिए । उनको भेटवार्तालाई लिएर सरकारले आपत्ति जनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान विपरित गतिविधि गर्दै हिँडेका पूर्व राजासँगका गोप्य भेटवार्ता गर्ने भारतीय राजदूतलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाल सरकारलाई जानकारी नै नगराई पूर्वराजासँग भेट गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस पनि पोखेका छन् ।

पूर्वराजासँग राजदूतले भेटघाट गरेको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले सरकारी निकायलाई सत्यतथ्य बुझन निर्देशन दिएका थिए । सरकारी निकायले पनि भेटवार्ता भएको पुष्टी गरेपछि प्रधानमन्त्री आक्रोसित भएको स्रोतले जनाएको छ ।

‘भारतले नेपालमाथी फेरी अस्थिरता निम्त्याउन खोजेको’ आशंका मन्त्रीपरिषद बैठकमै गरिएको थियो । जनकपुरको शीताशरण होटलमा पूर्व राजा र भारतीय राजदूत पुरीबीच भेटवार्ता भएको थियो ।

सरकारले राजदूतमाथी स्पष्टीकरण र पूर्वराजाका गतिविधिमा निगरानी बढाउने संकेत गरेको छ । धार्मिक यात्रामा नाममा आफनो विरासत फर्काउने हर्कत पूर्वराजाले गरेको निस्कर्ष पनि सरकारले निकालेको छ ।

संविधान विपरीत गणतन्त्र, संघीयता र धर्म निरपेक्षविरुद्ध खुलेआम गतिबिधि पूर्वराजाले गरिरहेको र उनका गतिविधिमा निगरानी बढाउने तयारी गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा ५६ जना सुरक्षाकर्मी खटाएको छ । त्यस्तै पूर्व राजाको निवास सुरक्षाका लागि अलग्गै बेस छ ।

गत साता जनकपुरलाई मुकाम बनाएर पूर्व राजा ज्ञानेन्द्र शाहले सर्लाही, धनुषा, सिराहा, उदयपुर र सप्तरीका बिभिन्न मठमन्दिरको भ्रमण गरेका थिए । धार्मिक भ्रमण भनिए पनि पूर्व राजाको मुख्य मिसन मधेसी समुदायसँग संवाद रहेको उनका सहयोगीले बताएका थिए ।

पूर्वराजाको भ्रमणका क्रममा ठूलो संख्यामा मधेशी समुदाय जम्मा गरिएको थियो भने उनीहरुले राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए । मधेशमा हिन्दू धर्मको रक्षाका लागि राजा आवश्यक रहेको बहस समेत चलेको थियो ।

भारतीय दूतावास स्रोतले भने पूर्वराजासँग भएको भेटको पुष्टि गर्न चाहेको छैन ।

 

 

प्रकाशित मितिः शुक्रबार, चैत्र ८, २०७५     7:14:03 PM  |

प्रतिक्रया दिनुहोस्