15 June 2019  |   शनिबार, जेष्ठ ३२, २०७६

आजदेखि लगानी सम्मेलन ,निजी क्षेत्रको २७ आयोजना प्राथमिकतामा

    | प्रकाशित मितिः शुक्रबार, चैत्र १५, २०७५  

काठमाडौँ ।  मुलुकमा बाह्य लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबार (आज) देखि सुरु हुँदै छ ।

काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा सुरु हुने सो सम्मेलनमा सहभागी हुन विदेशी लगानीकर्ताहरू काठमाडौं आइपुगेका छन् । यस सम्मेलनमा विभिन्न ४० देशका करिब साढे ६ सय बढी विदेशी लगानीकर्ताको उपस्थिति रहनेछ । सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनका लागि निजी क्षेत्रले २७ वटा आयोजनाको प्रस्ताव तयार पारेको छ । निजी क्षेत्रले अध्ययन गरी तयार पारेका परियोजनाको सूचीमा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म छन् । जसमा विशाल सिमेन्ट, गरुड सिमेन्ट, आईएमई सिमेन्ट जस्ता उत्पादनमूलक उद्योग परियोजना छन् ।

यसैगरी, जलविद्युत् क्षेत्रमा त्रिशूली–गल्छी हाइड्रोपावर, इङवा हाइड्रोपावर, कालीगण्डकी गर्ज, तल्लो वरुणखोला, मध्ये कालीगण्डकी, म्यादीखोला हाइड्रोपावर, नाम्लान खोला हाइड्रोपावर, माथिल्लो चमेलिया जलविद्युत् परियोजना, माथिल्लो बलेफी जलविद्युत् परियोजना, माथिल्लो बलेफी ए जलविद्युत् परियोजना र तारप खोला जलविद्युत् परियोजनालगायत छन् ।

त्यसैगरी, पूर्वाधार क्षेत्रतर्फ जालपादेवी केबुलकार तथा पर्यटन परियोजना, अन्नपूर्ण सिक्लेस केबुलकार तथा पर्यटन परियोजना, स्वर्गद्वारी केबुलकार तथा पर्यटन परियोजना, सिटी अफ ड्रिम्स, मुक्तिनाथ दर्शन केबुलकार रहेका छन् ।

नयाँ थप गरिएका सेवामूलक रिसोर्ट तथा होटलमा हिमालयन रिसोर्ट, हायात प्लेस काठमाडौं जस्ता परियोजना पनि निजी क्षेत्रको सूचीमा समावेश भएका छन् । अब यी परियोजनालाई ‘सोकेस’ का रूपमा प्रस्तुत गरिने लगानी बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस सम्मेलनमा सरकारी र निजी क्षेत्रबाट गरी कुल ७७ वटा परियोजना प्रस्ताव तयार भएको छ । लगानी सम्मेलनका लागि तयार पारिएका यी ७७ वटै परियोजनाका लागि करिब ३५ खर्ब बढीको लागत अनुमान गरिएको छ ।

सो सम्मेलनका लागि सरकारका तर्फबाट ५० वटा र निजी क्षेत्रका तर्फबाट २७ गरी कुल ७७ वटा परियोजना प्रस्तावमा छलफल हुनेछ भने १२ वटा परियोजनामा सम्मेलनकै बेला सम्झौता हुने बोर्डले जनाएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले अहिलेसम्म विभिन्न मुलुकबाट आएका लगानीकर्तालाई राजधानीका विभिन्न होटलमा बास बस्ने व्यवस्था मिलाइएको बताए । उनले शुक्रबार बिहान सोल्टी होटलमा प्रधानमन्त्रीले सम्मेलन उद्घाटन गरेपछि परियोजना प्रस्ताव पेस भई स्वदेशी एवं विदेशी लगानीकर्ताबीच छलफल हुने जानकारी दिए ।

कुल ७७ वटै परियोजनाको विस्तृत अध्ययन गरेर प्रस्ताव तयार गरिएको जानकारी दिँदै उनले यस सम्मेलनमा सरकारका तर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा गरी कुल ७७ वटा प्रस्ताव पेस हुने बताए ।

बोर्डका अनुसार सरकारको प्राथमिकता यातायात, पर्यटन, ऊर्जा र पूर्वाधार रहेको छ भने निजी क्षेत्रको प्राथमिकता ऊर्जा, केबुलकार र उत्पादनमूलक उद्योगमा बढी देखिएको छ ।

 

 

प्रकाशित मितिः शुक्रबार, चैत्र १५, २०७५     8:38:11 AM  |

प्रतिक्रया दिनुहोस्