24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

मानसिक सन्तुलन गुमाएका सुर्खेती युवाको उपचारका लागि कोरियाबाट आर्थिक सहयोग ‌‌‌‌‌‌‍‌‌

    | प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६  

दिपेनजी हमाल, दक्षिण कोरिया । मानसिक सन्तुलन गुमाएका सुर्खेती युवा रमेश बहादुर शाहीको उपचारका लागि कोरियाबाट आर्थिक रकम संकलन गरि सहयोग गरिएको छ ।


सुर्खेत समाज दक्षिण कोरियाको अगुवाईमा समाजका पूर्व अध्यक्ष लक्ष्मीनारायण बस्नेत, सल्लाकार आशाराम ढुंगाना, कोषाध्यक्ष वीरेन्द्र बि.सी. र प्रविण शाहीको सक्रियतामा बैशाख १ गतेदेखि ७ गतेसम्म सहयोग अभियान सञ्चालन गरि संकलित १० लाख ६९ हजार ८ सय ८८ वन (१ लाख ७ हजार रुपैयाँ) रमेशका दाजु जनक बहादुर शाहीलाई बुझाइएको हो ।
रोजगारीको शिलशिलामा इपिएस मार्फत केही समय पहिले दक्षिण कोरिया आएका चौकुने गाउँपालिका ९ सुर्खेतका रमेश बहादुर शाहीको मानसिक सन्तुलन बिग्रँदै गएपछी उनलाई सुर्खेत समाज दक्षिण कोरियाका सल्लाहकार आशाराम ढुंगानाको सकृयता र कोरियन प्रहरी तथा थाईल्याण्ड प्रहरीको रोहवरमा नेपाल फिर्ता पठाइएको थियो ।
कोरियन प्रहरीको हिरासतमा रहँदा प्रहरीले रमेशलाई शारीरिक तथा मानसिक यातना दिएर धेरै दुख दिएको तथा नेपाली दूतावासले पनि उनलाई फिर्ता पठाउनको लागि कुनैपनि सहयोग नगरेको भन्दै सुर्खेत समाजका सल्लाहकार आशाराम ढुंगानाले दुखेसो व्यक्त गरेका छन् ।
त्यस्तै, नेपाली दुतावासका कर्मचारीहरू तथा दूतावासका श्रम सहचारी डिल्लीराम बास्तोला पनि तलब खान मात्र बसेको, समस्यामा परेका युवाहरूलाई कुनै सहयोग नगरेको भन्दै समाजका पूर्व अध्यक्ष लक्ष्मीनारायण बस्नेतले आक्रोश पोखेका छन् ।
आर्थिक अवस्था कमजोर रहेका रमेशको परिवारलाई आर्थिक चाप धेरै नहोस् र उपचारमा केही हदसम्म सहयोग पुगोस् भनेर एकसातासम्म सहयोग अभियान सञ्चालन गरि जम्मा भएको सो रकम रमेशका दाजु जनक बहादुर शाहीको नाममा पठाइएको समाजका कोषाध्यक्ष वीरेन्द्र बि.सी.ले जानकारी दिएका छन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६     8:54:20 PM  |

प्रतिक्रया दिनुहोस्