25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

कोरियाबाट नेपाल फर्किने तयारीमा रहेका एक नेपाली झुन्डिएको अवस्थामा मृत फेला 

    | प्रकाशित मितिः बुधबार, बैशाख ११, २०७६  

दक्षिण कोरिया । कोरियाको बसाई अवधि पुरा गरी नेपाल फर्किने तयारीमा रहेका एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

रोजगारीको लागि इपिएस मार्फत दक्षिण कोरिया आएका नेपालको नवलपुर घर भै दक्षिण कोरियाको ह्वासङ् फारान नजिकै एक कम्पनीमा कार्यरत २६ वर्षीय मौसम शर्मा पौडेल झुन्डिएको अवस्थामा गएराती मृत फेला परेका हुन् l

कम्पनीमा सँगै कार्यरत नेपालीका अनुसार गएराती करिब १० बजे कोठाबाट बाहिरिएका पौडेल निकै बेरसम्म पनि कोठा भित्र प्रवेश नगरेपछि उनलाई कम्पनीका सबै साथीहरु मिलेर खोजेका थिए l करिब एक घण्टा सम्म सम्भावित ठाउँहरुमा खोजे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए l तत्कालै प्रहरी आई उनको अन्तिम पटक स्विच अफ भएको मोबाइलको लोकेसन ट्रयाक गरी खोज्दा कम्पनी नजिकैको डाँडोको एक रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए l

परिवारका एक मात्र छोरा पौडेल कोरियाको बसाइँ अवधि ४ बर्ष १० महिनालाई करिब ४ महिना छोट्टाउदै आउँदो मे १० तारिखका दिन नेपाल फर्किने तयारीमा रहेको समेत बुझिएको छ l उनी नवलपुर सम्पर्क समिति दक्षिण कोरियाका सदस्य समेत हुन् l

घटना बारे नेपाली दुतावासमा अनौपचारिक जानकारी आएको श्रम सहचारी डिल्लीराम बास्तोलाले बताए। त्यस्तै नवलपुर सम्पर्क समितिका अध्यक्ष हेम पाठकले यस्तो दुखद घटनाले आफूलाई निकै स्तब्ध बनाएको बताए l

हाल उनको शवलाइ प्रहरीले नजिकैको अस्पतालमा राखेको छ भने घटना बारे थप अनुसन्धान भैरहेको बताइएको छ l

(हेल्लो नेपाल कोरिया डटकमको सहयोगमा) 

प्रकाशित मितिः बुधबार, बैशाख ११, २०७६     9:12:32 PM  |

प्रतिक्रया दिनुहोस्