25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

नेपाल एयरलाइन्सले असार १९ बाट जापान उडान भर्ने

    | प्रकाशित मितिः शुक्रबार, बैशाख २०, २०७६  

काठमाण्डौ । नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ ।

असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीन वटा उडान मंगलबार, बिहीबार र शनिवार हुनेछ ।

काठमाण्डुबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे काठमाण् डुआइपुग्ने कम्पनीले जानकारी दिएको छ । ओसाकाको सबै उडानहरु वाइड्वडी ए३३०–२०० बाट हुने छन् ।

यस अघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो र तत्कालिन समयमा विमानको कमीका कारण सन् २००७ मा स्थगित भएको थियो ।

निगमको गृष्मकालीन तालिका अनुसार काठमाण्डु–ओसाका र ओसाका काठमाण्डु उडान एक तर्फी करिव ६ घण्टा ३० मिनेटको हुनेछ । दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

नारितामा उडान शुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई वटा उडान गर्ने योजना रहेको निगमले जानकारी दिएको छ । काठमाण्डुबाट ओसाकाको एकतर्फी भाडा ४५ हजार लाग्ने यसअघि नै निगमले जानकारी दिइसकेको छ ।

 

 

प्रकाशित मितिः शुक्रबार, बैशाख २०, २०७६     5:44:51 PM  |

प्रतिक्रया दिनुहोस्