25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

गुण्डाहरुले मलाई मार्छन्, मेरो यो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ- सुष्मा महरा

    | प्रकाशित मितिः बिहिबार, जेष्ठ २, २०७६  

काठमाडौं । द काठमाडौं मल ब्यापार संघकी अध्यक्ष सुस्मा महराले मलमा करौडौको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदा पनि सरकार छानबिन गरि संलग्नलाई कारबाहि गर्न नसकेको गुनासो गरेकी छिन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मलमा भएको करौडौको आर्थिक घोटालाबारेमा आफूहरुले सुरुवातदेखिनै आवाज उठाएको तर सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश पोखिन् ।

अध्यक्ष महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको सुनाईन् । उनले भनिन्,‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो । तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन् । म कहाँ–कहाँ जान्छु रु भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन् । अहिलेपनि मेरो ज्यानमाथि असुरक्षा छ ।’

त्यस्तै, उनले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको जानकारी दिईन् । उनकाअनुसार दर्जनौं साथीहरु अहिलेपनि पीडामा छन् । उनले भनिन्,‘नयाँ व्यवसायी साथीहरुलाई आफ्नो साथमा लिएर मलमा घोटाला गर्ने गुण्डाहरु हिँडिरहेका छन् ।’ महराले मलमा देखिएको घोटालाबारे सञ्चयकोष बेखवरजस्तै बनेको पनि आरोप लगाईन् ।

उनले अघि थपिन्,‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ । हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौं ।’ नयाँ टेण्डर खोल्दापनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उनको माग छ ।

आफूले सुरुवातदेखि नै घोटालाबारे बोल्दै आएको सुनाउँदै उनले आफूलाई ती घोटालामा संलग्न व्यक्तिहरुले एक दिने ज्यान मार्नेसम्मको खुलासा गरिन् । उनले भनिन्,‘मैले बोलेपनि÷नबोलेपनि मलाई ती गुण्डाहरुले मारिहाल्छन् । तर, म नबोलेर मर्नुभन्दापनि बोलेर मर्न चाहन्छु । सायद आजको पत्रकार सम्मेलन मेरो अन्तिम पत्रकार सम्मेलनपनि हुनसक्छ ।’

 

प्रकाशित मितिः बिहिबार, जेष्ठ २, २०७६     6:04:17 PM  |

प्रतिक्रया दिनुहोस्