22 September 2019  |   आइतवार, अशोज ५, २०७६

प्रधानमन्त्री ओलीको बोली:मुलुकमा फेरी राजतन्त्र चाहियो भन्नेहरु ‘मुर्ख’ हुन !

    | प्रकाशित मितिः शुक्रबार, जेष्ठ २४, २०७६  

काठमाडौँ । अभिव्यक्तिका कारण पटकपटक बिबादित बन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अर्को उस्तै  अभिव्यक्ति दिएका छ्न । शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई ‘मुर्ख’ को संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिब बनाउने राजतन्त्र फेरि चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।उनले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिए । ओलीले सरकार मुलुकको शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावी पनि गरे ।

प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानको बाटोमा सरकार लागि परेको पनि बताए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारी समस्या समाधानका लागि नै सुरुवात गरिएको कार्यक्रम भएको प्रधानमन्त्री ओलीको स्पष्टिकरण छ ।

प्रधानमन्त्री ओलीले ४० लाख युवाहरु वैदेशिक रोजगारमा रहेकाले उनीहरुलाई देश भित्रै रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई सुरक्षा गर्नेगरी सरकारले आवश्यक सामाजिक सुरक्षाको प्रबन्ध गरिरहेको पनि बताए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २४, २०७६     6:34:26 PM  |

प्रतिक्रया दिनुहोस्