22 September 2019  |   आइतवार, अशोज ५, २०७६

प्रदेश सरकारले कैलालीमा हावाहुरीबाट ज्यान गुमाएका मृतकका परिवारलाई एक लाख ५० हजार राहत रकम दिने

    | प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६  

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा हावाहुरीबाट ज्यान गुमाएका मृतकका परिवारलाई एक लाख ५० हजार राहत रकम उपलब्ध गराउने भएको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले घाइतेहरुलाई पनि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले घर पूर्णरुपमा क्षति भएका परिवारलाई २० हजार रुपैयाँ र आशिंक क्षति भएकालाई १० हजार रुपैँया प्रदेश सरकारले छुट्टै उपलब्ध गराउने भएको छ भने घर पूर्णरुपमा क्षति भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने निर्णय पनि भएको आन्तरिक मामिला तथा कानूनमन्त्री एंव सरकारका प्रवक्ता प्रकाश बहादुर शाहले जानकारी दिए ।

यसैगरी बालीनाली, पशुपन्छीमा क्षति भएको विषयमा विषय गत मन्त्रालयले कानुन बमोजिम मापदण्ड बनाई कार्यान्वय गर्नुपर्ने निर्णय भएको छ ।मन्त्री शाहका अनुसार हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको छ । उनले क्षतिको विवरण आएलगत्तै राहत रकम उपलब्ध गराइने बताए । उनका अनुसार अहिलेसम्म कैलालीमा एक हजार एक सय ७४ घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक विवरण आएको जानकारी दिए ।

कैलालीको धनगढीमा अवरुद्ध विद्युत सेवालाई जति सक्यो चाँडो ल्याउने प्रयास भइरहेको उनलेे बताए । विपद राहतकोषमा रकम सहयोग गर्न आह्वान प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६     5:53:59 PM  |

प्रतिक्रया दिनुहोस्