18 June 2019  |   मङ्लबार, असार ३, २०७६

जिम्मेवार नागरिक बनी देश बचाऔं !

    | प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६  


खगिन्द्र राज पौडेल

माओवादी द्वन्दबाट आहत जनताले द्वन्दबाट उन्मुक्तिका लागि जुनसुकै एजेण्डा पनि स्बिकार गर्न तैयार हुनुलाई अस्वभाबिक रुपमा लिन नसकिए पनि सो एजेण्डा कस्का लागि र केका लागि थियो भनेर बिश्लेषण गर्न नसक्ने तात्कालिन प्रबुद्धबर्गका कारणको देन नै आजको नेपाल हो भन्न हिच्किचाउनु पर्दैन । मीठा सपना बाँडेर सिधासाधा बिकट बस्तिका युवाहरुलाई शिकार बनाएर देश बिस्थापित गर्नकै लागि बिदेशी एजेण्डा बोकेर सिंहदरबार छिरेका राज्यद्रोहीहरुबाट एउटा मात्र पनि देशको हितमा काम हुन नसक्नु कुनै नौलो कुरा होईन ।

दरवार हत्याकाण्ड देखी राजसंस्था बिस्थापनको चरणलाई देशद्रोहको पहिलो चरण मान्न सकिन्छ । देशको धर्म, संस्कृती, परम्परा, रितीरिवाज, भाइचारा मास्ने कार्य दोस्रो चरणमा गरियो र एक अखण्ड सनातन हिन्दु अधिराज्य नेपाललाई बिखण्डन गरी संघियता र धर्म निरपेक्षता लादियो ।

तेस्रो चरणका रुपमा बिखण्डनकारी सिके रावत लगायतका देशद्रोहीसंग सहकार्य गरी ईसाइकरण गर्न सरकार आफैं झोला बोकेर गाऊँ शहरका बस्तीबस्तीमा छिर्दै १२००० चर्चहरु निर्माण गर्न सफल भयो । चौथो चरणमा जनतालाई करको भार बोकाएर भ्रष्टाचारले सिमापार गर्दै भ्रष्टाचारी सरकारको बिल्ला भिरेर भएपनि स्वदेशी सबै रोजगारका श्रोतहरु बन्द गर्दै आम नेपालीलाई बिदेशी भुमिमा पसिना बगाउन बाध्य पारियो ।

पाँचौं चरणमा देशद्रोही शक्तिहरु एक भएर पचास लाख युवालाई बिदेश पठाएर चुनाब गरियो र बलियो सरकार निर्माण भयो तर जनमतका हिसाबले हेर्दा ३० प्रतिशत मात्र मतदान भएको देखिन्छ किनभने लगभग तीन करौंड जनसंख्या भएको देशमा भोट हाल्ने भोटरको संख्या अनुमानित सवा करौड हुन्छन् जसमा पचास लाख बाहिर भएपछी सो प्रतिशत लगभग साठी प्रतिशत हुन जान्छ र बाँकी रहेका भोटर मध्ये पनि ६० प्रतिशत मतदान हुंदा पनि औसत ३० प्रतिशत भन्दा बढी मतदान भएको देखिंदैन । ३० प्रतिशतको बहुमतको सरकार भन्नाले १५ देखी २० प्रतिशत जनमतले देशलाई गद्दार गरिरहेकाछन् र बाँकी ८० प्रतिशत जनताले त्यही गद्दारहरुलाई जायज सरकार मानेर गद्दारी स्विकार गर्नुपर्ने बिवषता अति नै पिडादायक छ ।

छैटौं चरणमा नागरिकता बिधेयक र हाल गुठी बिधेयक आएको छ यो पुर्ण देशद्रोही कदम भएरपनि यो सरकार बिदेशीसंग गुहार माग्दै नेपालीत्व मास्नका लागि नेपाली जनता माथि चरम यातना दिईरहेको छ । बिदेशी नागरिकलाई नागरिकता दिएर देशलाई सिक्किमीकरण गर्ने र ईसाइ शक्ति कत्तिको बलियो भयो? भन्नका लागि गुठी बिधेयक ल्याएर हिन्दु धर्ममाथि प्रहार गर्ने काम गरिरहेको छ लेण्डुप सरकार ।

प्रशासनिक निकाय र न्यायालयमाथि सफलता प्राप्त गरेपछी अब बाँकी रहेका राष्ट्रबादी शक्तिहरुलाई समाप्त गर्न एक एक गर्दै नाङ्गो प्रहार गरिरहेकोछ । देश र जनताप्रति संधै बफादार देखिएका राजालाई संधै धम्क्याउने र देशप्रति बफादार देखिएका जनतालाई लाठी बर्साएर बर्बर अन्याय गर्दै चरम अधिनायकवादको प्रदर्शन गरिरहेको छ सरकार । राजा र राष्ट्रवादी जनता एक ठाऊँमा उभिएमा अझै पनि आफुहरु कमजोर नै रहने भएकाले बिभिन्न प्रलोभन र बाहानामा यी दुई शक्ति माथि खेलिरहेको छ सरकार ।

देशमा आत्मनिर्भर भएर बाँच्नका लागि की पार्टीको झोले कार्यकर्ता बन्नुपर्ने वा बिदेश भासिनुपर्ने बाहेकको तेस्रो बिकल्प नेपाली जनतासंग छैन । उच्च कर, उच्च ब्याजदरका कारण नेपालमा नै ब्यबसाय गरेर बाँच्न सक्ने स्थिती देखिंदैन । यस्तो बिषम परिस्थितीमा सरकार गुठी बिधेयक ल्याएर धार्मिक द्वन्द निम्त्याउन तैयार भएको देखिन्छ । हजारौं बाधा ब्यबधानका बावजुद राजाले नेपाली जनताको र देशको लागि बेलाबेलामा आँखा खोल्न जनतालाई आब्हान गरिरहेकाछन् तर नेपाली जनता पापी पेट पाल्नका लागि यो आब्हानलाई साथ दिन सकिरहेका छैनन् । परिवारलाई भोको राखेर देशका लागि लड्ने कि बिदेश गएर पसिना बगाई परिवारको पेट पाल्ने द्विविधामा देशभक्त नेपालीहरु रहेकाछन् ।

ईसाइकरण गर्न, सिक्किमिकरण गर्नका लागि जनताको करको पैसा लगानी भैरहेको छ । यी कार्यका लागि बैदेशिक सहयोग पनि पर्याप्त आइरहेको छ तर निरिह देशभक्तहरु दुई दिन आन्दोलन गरि देश बचाउनका लागि सहयोग जुटाउन सकेका छैनन् । यही तीतो यथार्थमा देश थिलथिलो पारिएको छ ।

देशको माया की बिदेशमा रहेका ५० लाखलाई छ उनीहरु चिन्ता गर्न सक्छन् तर आन्दोलन गर्न सक्दैनन् । देशमा थोरै मात्र बचेका देशभक्तहरुलाई एकै ठाउँमा उभिन नदिने शक्तिहरुमा , स्वयंम सरकार, राष्ट्रवादीहरु बिचको अहमता र मपाईत्व लगायतका कारण एकता हुने संभावना देखिंदैन ।

सबैका बिचार फरक देखिन्छ कोही भारतले धर्मका आडमा हिन्दु अधिराज्य र राजसंस्था ल्याईदिन्छ र देशको रक्षा हुन्छ भन्ने भ्रममा छन् भने कोही ईसाइकरणका कारण असुरक्षित महशुस गरेको चीनले राजसंस्था र हिन्दु अधिराज्य पुनस्थापना गरिदिन्छ भनेर भारत र चीनको आशमा देश सुरक्षित रहन्छ भन्ने भ्रम पालेर बसेकाछन् । यस्ता वहियात बिचार बोक्नु भन्दा पुर्व किन नेपाल र नेपालीका लागि लडिदिन्छन् उनीहरुले? भन्ने सोच्नु आबश्यक देखिन्छ ।

चीनले  आफ्नो बलबुताले आर्थिक संबृद्धि गर्दै बिश्वको प्रथम शक्तिहुने होडमा छ । बिश्व ब्यापारमा हेर्ने हो भने नेपालसंग चीनको ब्यापार ०.००१ प्रतिशत पनि छैन । ब्यापारीले संधै ब्यापारको हिसाबले सोच्छ त्यसैले जुन देशबाट फाईदा छैन त्यो देशलाई छिमेकी भएको नाताले मात्र सहयोग गरेर आफ्नो ब्यापार घाटा बढाउन चाहंदैन । चीनको एउटै चिन्ता नेपालमा ईसाईकरणले अस्थिरता श्रृजना गर्दा आफ्नो देशमा पनि प्रभाव पर्न सक्छ भन्ने हो र सो बिषयमा नेपालको राष्ट्रपतीको भ्रमणको समयमा कुराकानी पनि भयो तर चीनलाई आफ्नो देशको सिमा र शक्तिमा पुर्ण भरोसा भएकोले त्यताबाट कुनै आशा राख्न सकिंदैन ।

भारतको हालको चासो भनेको धार्मिक चासो मात्र हो । हिन्दुहरुको आरध्यदेव पशुपतीनाथ रहेको मुलुक भएकाले हिन्दुराष्ट्रसम्म नेपाल बनिदिए हुन्थ्यो भन्ने चासो मोदी सरकारको हुनसक्छ ।

नत्र सोनियाको नेपाल खाने दाउबाट श्रृजना गरिएको परिस्थितीलाई मोदी सरकारले पनि निरन्तरता दिंदै नागरिकता बिधेयक लादि दिएको कुरा हामीले बिर्सनु हुंदैन । प्रम मोदी धार्मिक ब्यक्ति भएकोले हिन्दुराष्ट्रसम्मको मनशाय हुनसक्छ तर त्यतिले मात्र हाम्रो देश जोगिदैन किनभने राजसंस्था बिना नेपाल सिक्किम बन्ने पक्का छ । त्यसैले भारत र चीनलाई छिमेकी भन्दा माथि सोचेर दाजुको भुमिका दिनु देशको दुर्भाग्य हुनेछ ।

हालको सरकारको मुहानको रुपमा रहेको ईसाईकरण गराएर नेपालमा बसी चीन र भारतको बढ्दो शक्तिलाई क्षईकरण गर्दै आफु शक्तिराष्ट्रको रुपमा राखिरहने प्रयासमा रहेको अमेरिका र युरोपियन शक्तिहरुले नेपाललाई कहिल्यै स्थिर रहन दिने छैनन् किनभने नेपालको अस्थिरता नै उनिहरुको लागि नेपालमा रहिरहनका लागि सहायक सिद्घ हुन्छ । किनभने नेपालमा स्थिरता र बिकास भएको खण्डमा बाह्य हस्तक्षेप र भिख मागिरहनु पर्ने बाध्यताबाट नेपाललाई मुक्ति मिल्छ, यस्तो अबस्थामा अरुको एजेण्डा मानिरहनुपर्ने बाध्यता नेपाललाई हुंदैन ।

त्यसैले ईसाईकरण र आईएन्जीयोको माध्यामबाट नेपाललाई घेराउमा पारिरहने चालमा यी राष्ट्रहरु देखिएका छन् । राजसंस्थाको अन्त्य, उधोगधन्धा कलकारखानाहरु नखोलिनु र भएका पनि बन्द गराउनु, बिधुत उत्पादन गरेर आत्मनिर्भर बन्न नदिनका लागि बिभिन्न प्रयास गरिनु, सिके राउत जस्ता बिखण्डनकारीलाई सम्मानित जीबन जीउन दिनु, स्वंयम प्रमले प्रधानमन्त्री कार्यालय छोडेर होटलमा कुरेर होलीवाईन पिउनु यसका पछिल्ला उदाहरणहरु हुन् ।

त्यसैले अन्त्यमा हामीले स्वाधिनता गुमाउँदै गरेको हालको अबस्थामा कुनै बिदेशीको भर नपरी, देशप्रति गद्दार गर्नेहरुको पहिचान गरी, देशभक्त जनताका बीचमा एकता गरी, हाम्रो बैदिक सनतान धर्मको रक्षा गर्दै राजसंस्था पुनस्थापना गर्नका लागि एक भै हातेमालो गरी देशको रक्षा गरौं !

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६     12:48:58 PM  |

प्रतिक्रया दिनुहोस्