18 July 2019  |   बिहिबार, साउन २, २०७६

झरेको जून !

    | प्रकाशित मितिः सोमवार, असार २, २०७६  


सिर्जु शाह
ए जुनी ! लौ.. लौ.. आइजा न यसो अडेसा लगाईदे । निधारबाट पसिना चुहिएर नाकको टुप्पो बाट तल झरिरहे को थियो । तिघ्रा भरि रिठा का दाना झै  नसाका गाँठाहरु फुलिएका थिए । थरथर काम्दै जेठा बाले दाउराको भारी नाम्लो बाट बिस्तारै भुइँमा राखे।

जुनी ले जेठाबा लाई हातले यसो छोइदी । र भनी बा ! किन अबेर गर्यौ?ढिला भयो स्कुल जान,मास्तिर देखाउदै भनी । उ मैसाब ले कुर्न थालेको कति भयो ।

लौ,लौ.. जुनी जा बरु केही पो खाईस कि खाइनस ? भाई बहिनीले खाए खाएनन? खाईसके उनीहरुले मैले पनि खाए बा भन्दै जुनि च्यातिएको तीन धर्के झोला भिरेर मैसाब संगै  स्कुलतिर लागि।

जुनि कक्षा कोठामा पसि । ढोका बिनाका विद्यालयका कोठाहरुमा जनावरहरुको बास हुन्थे । गोबरका दुइचार थुप्रो कुना कुनामा थियो । चारवटा सल्लाका फलेक भुइँमा बिछ्याइएको थिए । झोला एक छेउमा राखेर महेन्द्र माला किताब निकाली ,हिजो हेड्सर ले दिएको गृहकार्य गर्न थाली । तर केही आएपो, नजिकै बसेकी साथी मैसाबलाई कोट्ट्याउदै  थिई अचानक हेड सर कक्षा कोठामा पसिहाले,जुनि को मन मा ढ्याङ्ग्रो ठोक्यो ।

हेड्सर ले सबैको कपि चेक गर्न थाले । जुनि ले होम्वर्क गरेकी थिइन बाँसको मसिनो लौरीले हेड सरले जुनि लाई हात मा हाने । हातहरु पछाडीतिर लुकाई र आँसुहरु पुकुल्ले फुटेका गालाहरुमा बगाईरही ,तर आवाज आएन । हेड सरले यो पाठ पढ भन्दै कक्षा बाट बाहिरिए !

मध्य दिनको १२ बजे ! क्लासमा श्याम सर घाँटी सुकाउदै पढाउदै थिए “छ  दुना बाह्र“ छ तिहा अठार ! एक्कासि , जुनि  हो जुनि भन्ने आवाज आउँछ । सबै जुनी तिर हेर्छ्न, कता छेस त? सुनिस नि मैले बोलाको? जुनि  खुरुरु बाहिर निस्किन्छे  है बा…..भन्दै ।

श्यामसर मौन बसे । यहि समय थियो बेलाबेला आफूले नभ्याएको समय जेठा बा सधै कराउदै आउथे र जुनिलाई काम लाउथे । परिचित थे श्याम सर यो बेलाबेलाको क्रियाकलाप प्रति त्यसैले उनी मौन बसे । तल स्कूलको पर्खाल माथि  बसेर चिच्याउदै थिए । जेठा बा, माथि पाखातिर गाईगोरु लाएको छु यसो ध्यान गरेस है । यती भन्दै घर तिर लागे जेठा बा,जुनि  चिच्चाई हुन्छ बा…।

कक्षा कोठामा पस्न मात्र के पाएकी थिई श्याम सर रिसाए ए ! जुनि  त गाईगोरु को ध्यान दिन्छेस कि पढाईमा हँ ?? उ केही बोलिने ।  राता आँखा पार्दै श्याम सरले  दुना भन्न लगाए । उ  मौन बसि । फेरि अर्को पटक उसले त्यहीँ बाँसको लौरीले चोट खाई । फेरि उहीँ पुकुल्ले फुटेका गालाहरुमा आँसु चिप्लिदै  बगिरहयो……! मौन थिई उ आवाज बिहिन थिइ । बोल्ने कुनै शब्द थिएन ।

आँगनको डिलमा डोको माथि बसी बिरे चर्किदै थियो ।
जेठा बा मलाई अर्मल दिनुपर्छ । ,तिम्रा गाइगोरु ले सबै सखाप पारेछन मेरो गहुँ बारी पाल्न नसक्ने ले किन पाल्नु? अरु था छैन गहुँ एक मुरि अरमल चाहिन्छ मलाई? जेठा बा ,केही नबोली निन्याउरो अनुहार पारेर बसेका थिए। जब जुनि  घर पुगि जेठा बा उ माथी खनिए।

………..च्यातिएको झोलाबाट महेन्द्रमाला किताब बाहिर चिहाईरहेको थियो । जेठा बा ले उसको झोला बारितिर मिल्काईदिए र उसका जगेल्टा परेका कपाल तान्न थाले । तलाई हेर्नू भनेको तैले गर्दा यो सबै भयो! हे भगवान के गरुँ अब…. ? जेठा बा टुक्रुक्क पिढिमा बसे ।  बिरे ले  टिठ मानेछ क्यारे के गरेको जेठा बा केट्केटिलाई हुन्देउ भयो अब नपिट भनेर जुनिलाई आफू तिर तानेर बचायो र अरमल को कुरा नगरी फर्कियो ! त्यो दिन साच्चै गन्ने हो भने जुनि ले धेरै पटक चोट खाई ।

कसरी खप्थ्यो उसको दिमाग ले घरको काम भाइ बहिनी आमा  र बाबालाई सहयोग,कहिलेकाही जेठा बा दिक्क मान्थे रुन्थे जुनिलाई हेरेर । नरोउ बा, म छु नि तिमीलाई सघाउने भनेर उ प्रौढ देखिने कोसिस गर्थी । जुनि १३ बर्स मै धेरै भारले थिचिएकी थिइ। यसरी मलाई सधै सहयोग र  सम्झाउने जुनिलाई म सधै गाली र पिट्ने गर्छु कति सहन्छे यो ? एक्लै बरबराउछन जेठा बा । सायद काम को चपेटा गरिबी र यो समाजले देखाउने प्रतिक्रिया बाट जेठा बा पनि  थाकेका थिए। कसैलाई केही भन्न सक्थेनन र त जुनि माथी नै बर्सिन्थे मानौ जुनि उनको रिस पोखाउने भाँडो थिई !

जुनी को न पढाइ राम्रो न न घरको काम पूरा सघाउन पाउथी कठै! च्यातिएको सर्ट र मेडि माथि धर्के जुटको झोला त्यो पनि च्यातिएको हुन्थ्यो । सधै हस्याङ्ग फस्याङ्ग गर्दै स्कुल पुग्नु उसको बाध्यता थियो! पढ्न सारै मन पर्थ्यो जुनीलाई ,तर कति खेर पढ्नु घरको सारा बिहानी को काम सकेर स्कुल जानू पर्थ्यो! साझ पनि त उस्तै थियो काम को चाङ्गहरु। अह स्कुलमा सरहरुले भनेका कुरा बाहेक किताब भित्र के छ,उ कहिले हेर्न पाउन्नथी ।

तर जुनी को व्यबहार धेरै सरल र असल थियो कसैलाई केही भनेर  बिराउथिने । असारे झरी थियो । जेठी आमैलाई सारो भयो। बलेसी मा पानि झरिरहथ्यो जातो कुनामा जेठी आमैलाई सारियो रानिधारा दुलसा जिजुमुमा जेठा बा संग खासखुस केही भन्दै थिइन ।

जेठा बा यसो छलिएर भित्र पसे । एउटा पुरानो गम्सा ओढी निस्किएर मास्तिर लागे । जिजु मुमा आगनको डिलमा बसेर मास्तिर हेर्दै जेठी आमालाई हेर्दै थिइन । काखमा डालो अढ्याएर  जेठबा निन्याउरो अनुहार लाउदै घर भित्र पसे ।

ए जेठा ल बसेस अहिले म गए । ,साझ धामी आएपछि खबर गर्नु भन्दै जिजुमुमा मास्तिर लागिन ।जेठबा भित्रै बाट हुन्छ मुमा भनेर कराए ।

घाम पुर्ब मा धमिलो थियो बादलको बर्को ले लप्पकै छोपेको थियो । ल..ल… जेठा छिटो गर छिटै पुग्नु पर्छ । खबर त गरेको नै हो,बाहुन माइला बोले । नयाँ दौरा सुरवाल टाउको मा फेटा कम्मर मा पटुकी अनुहारमा केही खुशीका धर्साहरु नाचिरहे झै देखिन्थे । आज जेठबा हिजो अस्ति भन्दा नयाँ मन र तन बाटै झल्किन्थे ।

सानो गाग्रीमा पानी बोकेर जुनि बाबाको बाटोमा साइत बनेर उभिएको पनि आधा घन्टा भो क्यार ! बाहुन माईला उ तिर हेर्दै भन्छ्न च्व च्व कठै निधार माथी बरियो को पाता नै गढेछ जुनि को लौ..लौ.. हामी हिड्न पर्छ जेठा ! कति उभ्याउनु यो जुनिलाई ।

अलि अगाडि धरमरिदै सर्छे उ र कराउछे ! बा भएन छिटो जाउन के मलाई गार्हो भयो । ल.. ल.. भन्दै बाहुन माइला र जेठबा ओरालो लाग्छ्न । बाबा गएपछि उसले गाग्री बिसाउछे,अनि खुत्रुक्क भित्र पसेर तेहि धर्के झोला छड्के भिरेर स्कुल दौडिन्छे ।

घाम डुबिसकेको थियो । आज घर मा सानी दुई बहिनी एउटा भाइ कान्छा ,बिरामी आमा र जुनि थिए । अगेनामा दियालो हाल्दै आगो फुक्न ठिक्क पारिदिन्छे माइली जुनि आएर आगो सल्काउछे । आमा अगेना को डिलबाट हेरिरहेकी छन अँध्यारो अनुहार आँखा भरी आँसु मनमा धेरै पिडा दौडिरहेको थियो, बिरामी हुनु को पीडा ।

जुनी को हैरानी को पीडा अनि लोग्ने केटि हेर्न गएको पिडा । हुनत आखिर सबै पीडा नै हुन तर अभागी खप्पर भए पछि पिडाहरुको पनि लस्कर हुदोरहेछ अगाडि कुनचाहिँ पीडा भन्ने । यसो त सबै भन्दा ठुलो पीडा आज एउटै थियो अब उनको लोग्ने उनको मात्र हुने छैन।

जेठीआमै को आँखाबाट बगिरहेका आँसु नै मौन अस्विकृति  थियो । तर कस्ले बुझ्ने आँसुको भाषा आफ्नै श्रीमान नै बिहे गर्ने कसिए पछि,सुकेको फूल झै सुख्खा छिन उनी  अब कुनै रस र सुन्दरता थिएन ! न कुनै काम थियो उनको सायद यसैले होला बेक्ममा सम्झेरै आफैलाई धिक्कारी रहेकी छिन ,आफैमा कमजोरी देखेकी छिन । नियती लाई दोषि बनाएर,सहर्ष स्वीकार गरे पनि मन भारी बनाएरै स्वीकार गरेकी थिइन जेठि आमैले जेठा बा को दोस्रो बिहे गर्ने कुरा !

साँझ खाना पछि जुनि र भाइ बहिनीहरु भुसुक्कै निदाउछन तर जेठी आमै मनमा अनेकौं तर्कना बोकेर छटपटिरहन्छिन ।

ए जुनि  तेरो  बा अझै आएनन ? कान्छी आमा ल्याएर नै आउने भए है ।  बिरे डाँडाको ढुङ्गा मा बागचाल खेल्दै जुनि  तिर हेर्दै थियो । डाँडा घरे कान्छा बिरे तिर हेर्दै भने, जेठबा को दिन फिर्ने भए ,रोगी स्वास्नी च्यापेर कति दिन बसुन र? हो त है , अब जेठा बा रसाउने भए । सबै गलल हाँसे जुनिले आधा बुझी आधा बुझिने तर भारी मन बनएर  स्कुल तिर लागी ।

बा गएको पनि दुई दिन भै सक्यो अझै आएनन किन ढिला गरे होला मैसाब?स्कूलको फलेकमा बस्दै सोधि जुनी ले, तेरो बा ले त अर्को ल्याउनै लागे रे त त्यसैले ढिला भएको होला । ए जुनि  हामी त बिहे नगरौला है ! यसरी रोगी भए फेरि हाम्रो बुडो ले पनि अर्को ल्याउछ्न होला । जुनी मुसुक्क  हाँस्छे, धत मैसाप पनि भन्दै झोला बाट किताब निकाल्छे ।

दुइचार दिन पछि जेठबा ले कान्छी ल्याए, घरमा सबै खुशी देखिन्थे । कान्छी आमा ले जुनि र उनका बहिनीहरुका का कपाल का जुम्राहरु अब हेरिदिने भइन ,लट्टा परेका कपाल कोरिदिने भइन । मिठो मसिनो बनाएर खुवाउने भैइन । अब जुनी स्कुल छिटो आउने भै है जिजु मुमा मैसाब जिजुमुमा सङ्ग सोद्धै थिइन । जिजुमुमा मौन थिइन। ,सायद भबिस्य बारे केही भए पनि जानेकी थिइन ।

खाना पकाएर बच्चाहरुलाई दिने स्यहार सम्भार गर्ने काम राम्रै गरिरहेकी थिइन कान्छी आमैले । एउटा सानो झुपडी बिचमा अगेना वरिपरि सबै जना सुत्ने त्यो बिडम्बना,तर त्यहा भन्दा ठुलो बिडम्बना जेठीआमैको मनमा गै रहेको भुइचालो को थियो , रातभर निद नपरेर छटपटी हुन्थ्यो, यताउता फर्किदैमा रात बितिजान्थ्यो, महिना दिन जति यसै गरि चल्यो ।

आज जेठि आमैलाई भित्रको अँध्यारो कोठामा राखिएको थियो केही तान्न खोजे झै उनका हातहरु पसारिएका थिए । आँखा मा अश्रुधारा बगिरहेका थिए । उठ्नै नसक्ने जेठी आमै बिस्तारै जुनि को अडेसा लागेर उठिन,केही भन्न खोज्दै थिइन,जुनि बाहिर निस्कि ।

रानिधारा मुमा आफनी नातिनी लिएर फेरि अर्को दिन जेठा बा को घर गईन । जेठा बा खुशी देखिन्थे ,कान्छी आमै सङ्ग भर्खरै प्रेम मा परेका थिए । बोली मै मिठास थियो न कुनै उदासी न कुनै पीर हसिला खुशिला र रसिला थिए जेठा बा !

ए ! कान्छी मैसाब लाई चिया बनाएर ल्याइदे ।मुमा त केही खाइ बक्सिन्न हाम्रो घर को,चिच्चाए जेठबा जिजुमुमाले सोधिन कस्तो छ जेठीलाई? उठेर बस्न खोज्छे आजभोलि तर खोइ बाच्न त के बाच्ली र?मुमा, तर अझै कति दिन दुख दिने हो?यसैको रिन खाको रैछु ।  यसो नभन जेठा दुख सुखमा तलाई साथ दिएकै हो अहिले पो शरीर ले साथ दिएको छैन रोगी भै । गर्नपर्ने सबै धामी झाक्री औषधि मुलो गरि सके । मुमा टाढा हस्पिटल लिन सक्ने ताकत छैन, अलिअलि भाको पनि सकिएर गयो । जेठा बा ले दुखेसो पोखे !

जुनी र कान्छी आमै भएर जेठी आमैलाइ बहिर घाममा ल्याएर सुताए । जुनि ले माथी बाट कालो पछ्यौरीले अनुहार ढाकी  दिई ।एकछीन पछि कान्छी आमैैले फिउस को सेतो माने गिलास मा मैसाबलाई  चिया ल्याईदिन। जेठी आमैले पछ्यौरी अनुहार बाट हटाईन र मैसाब को चिया गिलास हेरिरहिन त्यो देखेर जेठबा ले भने ,,, जा त कान्छी यस्लाई नि चिया ल्याइदे । कान्छी  झनन्क झन्केर भित्र गैईन ।

अलिकति चिया रैछ बाँकी ल्याएर दिन खोज्दै थि, जेठी आमैले सकि नसकी उठेर कान्छी आमैको टाउको मा पोखिदिइन । झम्म्टेर कपाल तान्न थालिन, लौ लौ,के गरेको जेठी तैले भनेर मुमा कराईन  जेठबा ले गएर छुट्टाए । ओहो ! कहाँ बाट आयो होला ताकत जेठी आमैलाई । भर्खरै बाच्दिन होला भन्ने जेठबा हेरेको हेरेइ भए,अच्मित थियो त्यो शक्ति मुमा दङ्ग परेर घर फर्किन ।

मान्छे लाई इच्छा शक्ति वा प्रेम खोइ केले जिउदो बनाउदो रहेछ  अच्चम लाग्यो । ईर्ष्या हो वा जलन आफुले प्रेम गरेको आफ्नो श्रीमान अरु कसैको अङ्गालोमा रात दिन देखेर सायद जेठी आमैमा बाच्ने इच्छा पलायो की ? कहिलेकाही “इच्छा शक्ति मजबुत भयो भने मृत्यु पनि हार्दो रहेछ“ त्यहा एक मृत्यु ले हारेको थियो । अब चल्ने वाला थियो प्रेम को त्रिकोणात्मक युद्ध, हुन त प्रेम प्रेम नै हो । तर यहाँ मौनता ले रिस पोखेको थियो,प्रेम कै खातिर ।

“प्रेम ले मन जल्छ “ “आगोले तन जल्छ“ । जल्न त जल्छ नै । तर, यहाँ त एक अशक्त शरीर मा प्रेमको लागि लढ्ने शशक्त ताकत निस्केर आयो । जलेको मनमा धुवाँ होइन ज्वाला निस्कियो,त्यहा मात्र  ईष्र्या र रिस थिएन बस प्रेम थियो आफ्नो प्रेमीलाई पाउने अभिलाषा थियो ।

हो । अच्चम नमान्नुस जेठीआमै बिस्तारै निको हुँदै गैन, अनि त्यो घरमा हरेक दिन कलह ,लडाई हुँदै गयो ।
जुनी को  हालत उस्तौ  थियो अझै दुखको पहाड थपिएको थियो । कान्छी आमैसङ्ग सङ्गसङ्गै कामगर्नु पर्थ्यो । काम गर्न नसके कान्छी आमै पनि पिट्ने गर्थिन ।

आज जुनी बिरक्त्त थिइ । बिहानै खान नखाएर घरबाट निस्की । खाओस पनि कसरी दुई आमा लड्न थाले बा छुट्टाउन थाले ,भाइ बहिनी घर मै थिए । सबैलाई छोडेर घरबाट निस्की … स्कुल को माथि पखेरामा बसेर झोक्राईरही आज मन अर्कै भएको छ उसको ,उदासी ,चिरचिराहट,दिक्क ,झर्को लाग्दो । तर आफै दङ्ग परेकी छ के भाको आज मलाई सोचेर ? तल्लो पेट अलिअली दुखे झै लाग्दैछ, जुनी पाखाको घाम मा पसारिन्छे ।

ए, जुनी  ए, जुनी  के भो ?? कसैले झकझक्याएपछि  उ उठछे । लौ हेर त एक बजे को छुट्टी भै सक्यो त किन यहाँ सुतेको?

जुनी उठ्छे । मेडि भर केही चिसो लागे झै लाग्छ । यसो हेर्छे रगाताम्य छ,डराउछे ईइ ई  मैसाब हेर त । ठुला आखाले मैसाब तिर हेर्छे ! ला आआअ मैसाब चिच्याउछिन,जुनी त छुइ भैस , लाआआअ अब के गर्ने होला? जुनि  असमन्ज मा पर्छे,तँ त्यहीँ  बस म घर मा खबर गर्छु।

मैसाब दौडिदै जुनी को घरमा पुग्छिन र जेठी आमैलाई खबर पुर्याउछिन । केही पुराना थाङ्ना कपाडा  लिएर मैसाब र माइली बहिनी  पाखातिर लाग्छ्न । नुहाई धुवाई गरेर जुनि एक छिन पाखा मै बस्छे । मैसाब र माइली बहिनी घर फर्किन्छ्न ।

कसैको अनुहार हेर्न नहुने भएकाले उ झमक्क साँझ परे पछि मात्र छाउ गोठ मा पुग्छे ।

घरदेखि केही माथि गाई गोठ नजिकै माटो को सानो झुप्रो थियो । त्यही थियो छाउ गोठ, छुई भए पछि बस्ने ठाँउ । धेरै भएको थियो  कोहि नबसेको जेठि आमै बिरामी भए देखि  छुई नभएको पनि  बर्सौ भएको थियो । चिरा चिरा परेका  थिए भित्ताहरु । आगो बाल्ने ठाउँ पनि चिसो थियो। न दाउरा थियो न बाल्ने केही थियो।

पुरानो च्यातिएको भोक्तु गन्ने हो भने १० ठाँउ जति त प्वाल परेको थियो होला,अनि माथी एउटा पाखी  फालिएको थियो । जुनी लुसुक्क भित्र पस्छे न ढोका छ न केहि बार । ,बाहिर अन्धकार छ ,कोहि आएर नाक को टुप्पोमा हाने पनि थाह नहुने कालो रात थियो । आकाशमा बाद्ल बेलाबेला झिलिक मिलिक हुदा नजिकै मकैवारिको भिसुनपाते को सेतो पात ट्ल्किन्छ । गोठ भित्र बाट माले गोरुको सेतो छाप र आँखा पनि टल्किन्छन ।

जुनि एक्लै बरबराउछे । ए माले हो माले,ए काले आज म  तिमीहरु सङ्गै छु तिमीहरुको त तगारो रैछ छेक्ने मेरो त केही पनि छैन ,केहि आयो भने आज मलाई खाइदिन्छ केरे  । मलाई  भन्दा धेरै मुया हाम्रा बा ले  तिमीहरुलाई गर्दा रेछ्न तिमीहरु धेरै काम गर्छौ नि त म भन्दा बलिया पनि छौ, त्यसैले त होला।  हे देबी माई, हे भैरम थान आज मलाई बचाउ भन्दै जुनि पाखीले मुख छोपेर गुडुल्ली मार्छे ।

बाहिर केही खर्स्याक्क हुन्छ,कसैको पदचाप सुनिन्छ । जुनि पाखी ले मुख छोपेर झन गुडुल्किन्छे। नजिकै आए झै लाग्छ, उसको मुटुले ठाउँ छोडे झै हुन्छ । जुनी  ए जुनी ! स्वर सुनेर पाखी हटाउछे र दियालो को उज्यालो मा आमै लाई देख्छे,आमै पो भन्दै जुरुक्कै उठेर अङालो हाल्न पुग्छे । चिच्याउदै राम राम राम…. भन्दै धकेली दिन्छिन उसलाई  के गरेको होला छुनु हुदैन नि त हे भगवान !!अब म के गरुँ ? राती मा कसरी नुहाउनु ? हातबाट थाल तल भुईमा खस्छ, सेतो फिउस को कुच्चिएको थाल एकातिर खस्छ,अर्को्तिर कोदोको रोटि र नुन खुर्सानी खस्छ ।सुख्खा भएकै कारण ले नुन खोर्सानी रोटिमै टाँसिएको हुन्छ।

जुनी अँध्यारो मुख लाएर आमातिर हेर्छे मानौ आमा अब उसलाई बचाउछिन । मलाई डर लाग्छ आमा,तिमी यहि सुत्न मिल्दैन? अनि सात दिनमा सङ्गै नुहाएर घर पसौला नि त भन्छे ,आमै यहि सुत न के भन्दै रुन थाल्छे साह्रै डर लागेको छ आज मलाई, नजाउ है आमै है के भनेको ।

…….तर अन्धबिश्वाशमा जकेडिएकी आमा माया भए पनि देखाउन सक्दिनन । मन त भारी हुन्छ गएर जुनिलाई समाउ, माया गरु तर एक अन्धबिश्वाश जरा गाडेर।
कानुन झै दरिलो ठाँउ बनाएर बसेको छ जुन समाजमा  तोड्न नमिल्ने अनेकौं कारण देखाइएको हुन्छ।

के कुरा गरेको होला यो जुनी ले छुन त मिल्दैन कसरी सुत्नु?  दुइचार दिनको कुरा हो अब के गर्छेस त ? सबै कुरा बार्नै पर्छ नत्र हेर हाम्रो देवता सारै गाह्रो पो छ त ,बल्ल बल्ल त म निको भए । यहि छुई छिटा ले नै हो झै लाउच म बिरामी परेको पनि ,त्यसैले ढिपी नगर आज छोइदिईस के अनर्थ हुने हो फेरि ! जेठी आमै आँखाभरी डर लिएर म गए जुनि भन्दै  निस्किन्छिन । आमैसङ्ग केही आशा थियो झन उनी पनि आफू सन्चो नभएको कारण छुई नै हो भनेर गैन ।

आमा गएपछि दियालोको उज्यालो पनि हरायो । जुनी डर ले थुरथुर काम्छे अन्धकार छ कसरी खानु अघी आमा हुँदै  खान पर्ने होस खान्न अब भन्दै अर्को ताल फर्किन्छे अझै ढाड को ताल बाहिर पर्छ। झनै डराउछे फेरि अनुहार बहिर फर्काएर पल्टिन्छे, भोलि त आँसि लिएर पाखामा गै केहि दियालो ल्याई बाल्नु पर्ला सोच्छे ।

फेरि आकशमा बिजुली चम्किन्छ माले गोरुको आँखा टल्किदैन यसपालि सुतेछ क्यारे सेतो छाप मात्रै टल्किन्छ, मकैवारि अनि तेहि भिसुनपातको सेतो पात टल्किन्छ्न ।

जुनी यता उता फर्किदा फर्किदै झप्प निदाउछे  चिसो चिसो पानी जस्तो खुट्टाको तल तिर बगेको हुन्छ पेट पनि बेस्सरी दुखेको हुन्छ । छुई को रगत बगेछ सोच्छे, यसो खुट्टा उचालेर माथी तान्नै लागेकी हुन्छे च्यातिएको तेहि भोक्त्तु को प्वाल भित्र खुट्टा अड्किएको हुन्छ ।

केही चिसो गिल गिल लागेको जस्तो लाग्छ,हात ले बिस्तारै छाम्दै जान्छे डर ले मुटु रितिनै लाग्यो केही चिप्लो लाग्छ हातमा, ला सर्प रहेछ कतै टोक्यो कि दुखाई कतै छैन । बिस्तारै भोक्त्तु बाहिर खुट्टा निकाल्छे, भोक्तुलाई अर्को कुनामा फ्याकेर आफू अर्को कुनामा पछारिन्छे।

अँध्यारो मै  खुट्टाबाट चिसा रगत बगिरहेको हुन्छ। जुनीलाई अब पक्का भयो सर्प ले टोकेछ भन्ने,चिच्याउछे  ए, माले उठ्न मलाई बचा ए ! काले उठ न । ए बा आमै ए ! आमै कहाँ छौ आउन मलाई सर्प ले टोक्यो आइजाउन आमै ,उसको स्वर पानी को दर्को मै बिलाउछ ।

बाहिर पानीको दर्को एकनासले दर्किरहेको छ । कालो रात भित्र जुनी का अश्रुधारा र चिच्चाहट कसैले सुनेनन । आखिरी मा धङ्ग धङिदै जुनी  घर को ढोका मा पुग्छे । ढक,, ढक… ढोका ढक्ढ्याउछे! आमै हौ आमै उठ्न म मरे बा उठ्न आउन बाहिर ,जुनी को स्वर सुनेर जेठ बा, आमै, कान्छी आमै बाहिर निस्किन्छ्न । दियालो को उज्यालोमा जुनि  को खुट्टा भरि रगत बगिरहेको देखिन्छ ।

जेठी आमै झम्टिदै जुनि नीर पुग्छिन के भो जुनी तलाई??
लौ लौ नछो नछो छुईलाई अनुहार नै हेर्न नहुनी हो का छुन गैस त जेठी ? जेठा बा कराए, कहाँ बाट यहाँ आई यो जुनि  के भो खुट्टा मा? जुनी सकिनसकी सबै बेलिबिस्तार लाउछे र आमैको काखमा बेहोस हुन्छे । धामी बोलाउन जाउ त छुई भन्ने था पाए आउन्न के गर्ने होला?

हे भगवान! दिउसै आगो सागो बालिदिनु पर्ने यो जेठी ले,भन्दै  दियालो को उज्यालो लिएर कान्छी आमै र बा छाउ गोठ तिर लागे । आगो बाले नजिकै भुक्त्तो को प्वाल बाट  सकि नसकी कालो सर्प बाहिर निस्कियो! लठिएको सर्प हिड्न सकिरहेको थिएन! जेठा बाले पैयौ को लौरी ले टाउकोमा हानेर मारे।

यता जुनि  बेहोश छे । झार्ने मान्छे बोलाउन गए जेठा बा आउन त आयो तर छुई भनेर छुनै मानेन। बिहानी को ७ बजेको हुदो हो,बुरुसे डाँडा मा केही उज्यालो देखिन्थ्यो । जुनी चलमलाई आमैलाई एकनाश हेरि रही ! सायद मन मा थियो होला आमै राती एक्लै मलाई काल को मुखमा छाडेर आयौ ।

हिजो त्यति बिलौना गरे सुनिनौ तिमी पनि ढुङ्गा झै कठोर भै छ्यौ नि नजिकै बसेर अस्रुधारा बगाईरहेकी आफ्नी प्यारी साथी  मैसाबलाई हेरि आँखा बाट तप्प .. दुई थोपा आँसु झारी, अनि कहिले नखुल्ने गरि बन्द भए उसका आँखाहरु । एक भर्भराउदो ज्योती निभ्यो आज एक अन्धविश्वाशी सस्कार र अशिक्षा ले गर्दा ढुङ्गाको काँपमा हुर्किएर पनि फूल्दै गरेको त्यो फूल झरेर गयो । आज दिन की जुनी निभेर गै आज !

प्रकाशित मितिः सोमवार, असार २, २०७६     5:01:25 PM  |

2 Comments

प्रतिक्रया दिनुहोस्