12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

सनातनी धर्म रक्षा र नेवा: पहिचान पुनर्स्थापनाका लागि गूठी विधेयक खारेज गरौ !

    | प्रकाशित मितिः शनिबार, असार ७, २०७६  

सोम विक्रम सिंह
सर्वे भवन्तु सुखिनः भनेर सम्पुर्ण जगतको भलो चाहने वैदिक सनातन धर्म संस्कृतिको संरक्षण,सम्वर्धन गर्ने र निरन्तरता दिने गुठीको सुकार्यको समुल नै नष्ट हुने किसिमले गुठि बिधेयक , २०७५ आउन लागेपछि सम्पुर्ण गुठीयार राजधानीमा अाक्रोसित भई मालईतिघर मण्डला तात्यो । ” कुनै पनि राष्ट्रको सांस्कृतिक परम्परा त्यस देशको जनतालाई एकतामा गाँस्ने सूत्र हो ” – स्व. श्री ५ वीरेन्द्र । यस भावनाले हालको स्थिती प्रष्ट पार्छ । गुठी  नेवाको मात्रै नभई समस्त नेपालबासिको पहिचान हो भनी गुठी  बिधेयक बिरूद्व सबै एक ठाउँमा उभिएको अाभाष भयो ।

बिदेशीको निर्देशनमा होली वाईन पिएर लट्ठ भएका ज्वाईराजाहरूले ससुरालीको सम्पत्ति ,आस्था ,धर्म तथा संस्कृति  र पहिचानमा अाँखा गाडी ल्याउन लागेको गुठी बिधेयक , २०७५ को बिरूद्व एक सुत्रीय बिधेयकको खारेजीको माग राखी चेलीबेटीको माईतीघरमा ससुराली पक्ष यानी राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको बिरोध कार्यक्रममा लाखौ उपत्यका बासिले समर्थन जनाए । माइतीघर मण्डला यानी फिब्व ख्यःलाई गुठी बिधेयक खारेज गर्ने एैतिहासिक थलो बनाए । फिब्व ख्यः नेवा शब्द हो सो को अर्थ फि भनेको बालुवा , ब्वको अर्थ ढिस्को र ख्यःको अर्थ मैदान हुन्छ र यसलाई बालुवाको ढिस्को मैदान भनेर भन्ने प्रचलन थियो ।

जनश्रूति अनुरूप नेताहरूले बेची खाएका एैतिहासिक ट्रलिबस सेवा भक्तपुर देखि काठमाडौंमा चल्ने समयमा माईतिघर भन्ने सिनेमाको पोस्टर त्यस स्थानमा राखिएको थियो । त्यस समयका कण्डक्टरले फिब्व ख्यः  माईतिघर फिल्मको पोस्टर राखेको स्थान निर अाईपुग्दा माईतिघर अायो भन्न शुरू गरेदेखि सो स्थानलाइ बिस्तारै माईतिघर भन्न थालियो । पछि ज्वाइँ साहेवहरूको राजमा सार्क सम्मेलनलाई मध्येनजर गरि मण्डला बनाईयो । त्यस समय देखि यस स्थानलाई माईतिघर मण्डला भनि सम्बोधन गर्न थालियो । कुनै पनि नामको एैतिहासक महत्व हुन्छ तसर्थ नेवा भाषाबाट राखिएको सबै नामको अहिल्यै विभिन्न आफ्नै किसिमको नाम दिईएको छ । यसको एैतिहासिक मर्म बुझि फेरि पहिल्यैकै नाम राख्न उचित देखिन्छ ।

गुठी बिधेयक , २०७५को बिरोध कार्यक्रम फिब्व ख्यःमा सम्पुर्ण पहिचान प्रेमी जनता नेपालीले सभ्य र भव्य रूपले व्यापक सहभागिता जनाएको देख्दा जनअान्दोलनको झझल्को दिएको थियो । त्यसमा नेवार मात्रै नभई विभिन्न जातका गुठियारहरू श्री ५ महाराजधिराज सरकारको राजगुठी  देवगुठी , नेवा मुस्लिम ,  बौध्दका गुठियार , राणाजीका र बस्नेतहरूको दम्यानता देबी निजी छुट गुठीका  गुठियारहरू , शेर्पाको गुठियारहरू पनि देख्न सकिन्थ्यो । त्यस माहौलमा सञ्जय श्रेष्ठ , योगेश्वर अमात्य , जेम्स प्रधान , गैंडे भनेर चिनिने कलाकार तथा अन्य कलाकार देखिएता पनि मदन कृष्ण र हरिबंश आचार्य नदेख्दा मन नै खल्लो भएको महशुस उपस्थित जनताले गरेका थिए ।

२०४६ साल र ६२/ ६३ को आन्दोलनमा उनीहरू अग्रस्थानमा बसि बुरूक्क बूरक्क उफ्रेको देखेका थियौं । सायद अहिले बुड्यौली छोपेर हो कि बिरामी भएर हो उहाँहरूको हाजिरी गयल भएको देखियो । जुन आन्दोलनलाई हामी बिदेशी द्वारा संचालित र निर्देशित थियो भन्ने गर्छौं त्यहा उनिहरूको बलियो उपस्थिति हुनु र अहिले गुठी बिधेयक २०७५ बिदेशीको संचालनमा , ईशारा र निर्देशनमा हाम्रो धर्म , संस्कृती , जात्रा , पर्व , रहनसहन , मौलिक सभ्यता र राष्ट्रिय पहिचान माथि प्रहार हो भन्दा समेत उहाँहरूको कुनै टीका टिप्पणी आएको सुनिएन । यसको खारेजीको माग गर्दै बिरोध गर्ने आन्दोलन थियो । तर ए! आम्मा त्यत्रो भाडाका टट्टु , सामान्ती र मुर्ति चोर ससुरालीहरू ज्वाई केपि सरकारको बिरोधमा माईतिघरमा जम्मा हुँदा यत्रो काठमाडौं बासि जुरूक्क उठ्दा मदन कृष्ण र हरिबंश दुवैको नाक मुख देखिएन । अब यसलाई कसरी जनताले मिलाएर बुझ्ने हो त्यो हेर्न बाँकि छ ।

हुन त जनताको मनोवल खुस्काउने किसिमले मुर्ति चोर , दुईचार जनाको भाडाका टट्टु वा सामान्तिको संज्ञा दिने मन्त्री तथा नेतालाइ जनताले कस्तो प्रतिकृया दिने हुन् , त्यो भविष्यले नै बताउने छ । हुन त नेवार समुदाय सोझा पनि साह्रै सोझा नै हुन् । आफुलाई पिट्ने प्रहरीलाई योगेश्वर दाईको नेतृत्वमा फुल बाँड्ने काम भयो भने ड्युटीमा बसेका प्रहरी र आन्दोलनमा उपस्थित जनतालाई पानी गुठिद्वारा पानी उपलब्ध गराईयो । त्यहाका फोहोरहरू एउटै नरहने गरि अन्य गुठियारद्वारा सरसफाई गरियो भने अत्यन्त आबश्यक सवारी एम्बुलेन्स जस्तालाई सर्लक्क बाटो पन्छाईदिने प्रशंसनिय काम पनि भयो ।

एउटा कम्युनिस्टको खोल ओढेर बिदेशीको तलुवा चाट्नेले गुठी बिधेयक बिरूद्व अान्दोलनमा राजाका समर्थक छिरे भनेर आपत्ति जनाए । तर यो हेक्का रहन पर्यो राजसंस्था र राजसंस्थाका समर्थक नै यो देशको सच्चा राष्ट्रवादी र देशभक्त हुन् । जसलाई यो देशको मौलीक सभ्यता , राष्ट्रिय पहिचान , अमुल्य संस्कार , राष्ट्रियता , वैदिक सनातन धर्म तथा संस्कृती , चाडपर्व , जात्रा , भेषभुषा , भाषा , रहनसहन , लवाईखवाई , सार्वभौम , स्वाधिनता र पुर्ण स्वतन्त्रता गुम्ने चिन्ता छ । यसलाई जगेर्ना , संरक्षीत र सुरक्षीत कसरी गर्ने भन्ने पिडा छ ।

यो देशको सीमा कोतरिएकोमा सोच्नीय बनाएको छ । तिमीहरू जस्ता कठपुतली , दलाल र दास होर , बिदेशीको ईशारामा लेण्डुप बन्दै देश बेच्न उद्वत हुने ?  गुठीलाई समान्तवादीको संज्ञा दिनेले यो हेक्का राख । तिमी सर्वहाराका नेता प्याट्प्याटे चप्पल लगाउँदै दुधको चीया खान पाउँदा सुखद महसुस गर्दै सुरूप्प सुरूप्प आवाज निकाल्दै खानेले बिचार गरेका छौ , तिम्रा हैसियत आज कहाँ पुग्यो ? तिमीहरू जस्ताले नै होईन गुठीका मठाधिस , पिठाधिस र पुजारी तथा जग्गा दलाली र भुमाफियासँग मिली तथा प्रलोभनमा परि प्राय गुठीको जग्गा बेची खाई आज काठमाडौंमा आलिसान दरवार जस्ता घरमा एैस आराम गरी बसिरहेका छौ । तिमीहरूलाई के थाहा जुन गुठियार वर्गलाई तिमी सामन्ती भनी गुठी बिधेयक ल्याएर गुठीलाई प्राधिकरणमा परिणत गरि राजनितीक झोलेहरूको हालिमुहाली गर्न लागेका छौ ।

त्यो गुठी गुठियारहरूको पुर्खाले ती जग्गा , जिन्सी तथा अन्य सम्पत्ति के कति प्रायोजन तथा उध्येश्यको लागि संरक्षण गर्न आफ्ना सन्ततीलाई सिकाएका थिए ? थाहा पाइराखे राम्रो । तिमीले संज्ञा दिएका सामन्ती गुठियारहरूको पुर्खाले त्यो भगवानको सम्पत्ति हो । यहाँका बासिन्दाले जग्गा सम्पत्ति भगवानकै देनबाट प्राप्त भएको र केही अंश तिमी भगवानलाई नै फिर्ता भनी गुठीको रूपमा स्थापित गरेका थिए । त्यसबाट विभिन्न गुठी बन्यो जसको उचित संरक्षण हुन सकेन त्यो अर्को कुरा होला । तर गुठी भगवानको लागि मात्रै नछुट्टाएर गुठीको सम्पत्ति र जग्गाबाट हुन आएको आम्दानीबाट बाँदर संरक्षण , बाघ संरक्षण , जनावर संरक्षण , प्रकृती संरक्षण , बन संरक्षण , रितिरिवाज संरक्षण , बाजा संरक्षण , भेषभुषा संरक्षण , भाषा संरक्षण , जात्रा संरक्षण , पर्व संरक्षण , मानव सभ्यता संरक्षण , कुनै बर्ग संरक्षण , जात संरक्षण तथा , पीउने पानी संरक्षण , पुजा अर्चना गर्न , कुल पुजा गर्न , कुनै अस्पताल बनाउन , कुनै पाठशाला बनाउन , सामाजीक सेवा गर्न , सामाजिक कार्य गर्न , गरिबी उन्मुलन गर्न अन्य विशेष कार्य गर्न हेतु राज गुठी , निजी गुठी , छुट गुठी तथा अन्य गुठी निर्माण भएका थिए ।

प्राय गुठी कि राजा महाराजा , कि राणा जीहरू , कि बस्नेतहरू कि नेवारहरू , बाहुन , ठकुरी , क्षेत्री , मुस्ताङे , मनाङे , राई , लिम्बू , मगर , थारू , गुरूङ तथा अन्य जातहरूले गुठी अाफ्नो निजी सम्पत्ती तथा जग्गाबाट स्थापित गरेका थिए ।

तिमी कम्युनिस्टहरू गुठियारलाई सामान्ती भन्नेले अहिले सम्म कति जग्गा , जिन्सी तथा सम्पत्ति सामाजिक तथा धार्मिक कार्यमा छुट्टाएका छौ ? प्रमाण पेश गरे उत्तम शुने थियो । अाफ्नै नेताको नाममा त सरकारको पैसोले ट्रष्ट खोल्ने अाफुले सुक्को सहयोग गर्न नसक्नेले धेरै नखोके हुन्छ । गुठि हाम्रो नितान्त निजी सम्पत्ती भगवान र प्रकृतिको नाममा छुट्टयाइएको सम्पत्ति हो । यसलाई तिमीहरू चलाउन प्रयास नगर बरू सक्छौ भने गुठी भित्रका अनियमितता तथा भ्रष्टाचार रोक । सक्छौ अनियमिततामा सरिक प्रत्येक व्यक्तिलाई कारवाहिको घेरामा राख यदि तिनीहरू पिठाधिस , मठाधिस , पुजारी तथा कुनै गुठियार भुमाफिया तथा तिम्रै बालुवाटर खाने नेता नै किन नहोस् । गुठिलाई चलाउँदा तिमीहरूको गिदी खल्बललिन्छ यो जगजाहेर छ ।

एउटा ज्यानमाराले धर्म तथा संस्कृति र  पहिचान रक्षकलाई चोरको संज्ञा दिएछ । छेरूवाले पछाडीबाट खूकुरीले काटि काटि झापामा ज्यान मारेको सामन्ती भन्नेको छोरा बिचरा काठमाडौंमा जागिरे जीवन बिताएर अवकाश पाएको खबर सुने । तर ज्यानमारा तथा सर्वहाराका नेताले माईतिघरको काम गर्ने सुद्वलाई घडेरी , घर , सम्पत्ति , जागिर , व्याङ्क व्यालेन्स अादि जोडिदिएको नजिकको नातेदारबाट सुन्न पाईयो । तिनको नजिकको नातेदार बज्रचार्यको अनुरूप झापाबाट आउँदा एउटा सानो कोठामा नेवार ससुरालीको घरमा त्यहि भान्छा , त्यहि पाहुना कोठा , त्यहि सुत्ने कोठा बनाएर सुत्थ्यो रे । शाक्यको छोरी टप्काए पछि दम्पतीले हदै दुखः पाए रे अनि बज्रचार्य तथा अन्य नेवार नातेदारका भतुवा लाग्न जान्थे भनणने कुरा सुनियो । अहिले राजसि ठाँटमा बस्दै अाए पछि सबैलाई चोर देख्ने गर्छ ।

झापाली बाजेले नेवार घरबेटीका छोरी उडाउन थालेपछि २०३३ साल तिर झापालीलाई कोठा दिनै बन्द गरेका थिए । अहिले त्यहि नेवारका ज्वाइँ राजाहरू रजाइँ गर्दै हाम्रो अस्तित्व , पहिचान धर्म संस्कृतिमा हान्दै यसलाई बचाउन पर्छ भन्नेहरूलाइ चोर देख्न थालेछ । उच्च ओहदामा बस्नेले हामीलाइ बानी , व्यहोरा , अनुशासन शालिन , सभ्य बनाउन सिकाउन पर्नेमा हामीलाई सुद्व तथानाम गाली गर्न सिकायो । यहि हो तिमीहरू र पञ्चायती व्यबस्थाको फरक , सुन्दै छ होला ठालु साहेबले ?

तसर्थ – काठमाडौं बासी तथा नेवा समुदायले अब मुटु ठूलो बनाउँदै पहिचान हामी सबैको हो भनेर सम्पुर्ण समुदायलाई आव्हान गर्न जरूरी छ । एउटा कुरा ज्ञान रहोस् राजसंस्था र वैदिक सनातनी देवहरूको पनि नेवारी धर्म , संस्कृति प्रति कति गहिरो सम्बन्ध छ भन्ने । भर्खरै मनाईएको ईन्द्रजात्रामा मत्स्येन्द्रनाथलाई रथमा राखि काठमाडौं परिक्रमा गरिन्छ ।

दस अवतार मध्ये प्रथम अवतार जसलाई सुवृष्टिदेव , सुभिक्षदेव वा सहकालका देवता तथा सुर्यवंशीले रातो मत्स्येन्द्रनाथ , चन्द्रबंशीले सेतो र बौद्वहरूले आर्यावलोकितेश्वरको रूपमा मान्छन् । भगवान शिवले देवताहरूलाई प्राणीहरूको कल्याणार्थ योग प्रचार गर्न गुरु गोरखनाथको रूपमा अवतरण भएको भनेका छन् । गुरु गोरखनाथलाई गाई रक्षार्थ अवतार लिएको हुनाले शिवगोरक्ष पनि भन्ने प्रचलन छ । गुरु गोरक्षनाथ राजासँग रिसाएर नाग र मेघमालाई आसन बनाई बसेकाले काठमाडौ राज्यमा १२ बर्ष सम्म खडेरी लाग्यो । यो देखि त्यहाका जनता र राजा मिली कदलीमठबाट मत्स्येन्द्रनाथलाई काठमाडौं मण्डली भित्राईयो ।

आफ्नो गुरु मत्स्येन्द्रनाथ आएको देखि गुरु गोरक्षनाथ आसनबाट उठि प्रणाम गर्न लाग्दा आसनबाट नागराज र मेघमाला फुत्कि भागे पछि काठमाडौंमा वर्षा भयो त्यस समय देखि नै मत्स्येन्द्रनाथको जात्रा प्रचलनमा आएको भन्ने भनाई छ । त्यहि गुरु गोरखनाथको नेपाल एकीकरण गर भन्ने आदेश तथा आशिर्वादबाट श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरे । काठमाडौंमा गोरखा सैनिक प्रवेश भएपछि तलेजु भवानीले (जसलाई पार्वतीको रूप पनि मानिन्छ ) पृथ्वीनारायण शाहलाई म कुमारीको रूपमा साक्षात देवी भई बस्ने छु तसर्थ उपत्यकाको धर्म संस्कृति संरक्षण गर भनेपछि उनले कुमारीको पाउमा आफ्नो श्रीपेचधारी शिर राखि राज्य संचालन गर्न र नेपाल मण्डलमा प्रचलित धर्म , संस्कृति , जात्रा , पर्व र चाडको संरक्षण गर्न अाशिर्वाद मागि नेवारहरूको चाड पर्व नै नेपालको विशेष चाड पर्व हो भनी फुकुवा गरि अाफु संलग्न भएका थिए भन्ने ईतिहास छ । तत्पश्चात शाहबंशीय राजाहरूले नेपा मण्डलको पचलीको घैंटो साट्ने , खड्क साट्ने खड्क सिद्वी जात्रा , भक्तपुरको नवदुर्गा , हनुमान ढोकाको कुमारी जात्रा , ललितपुरको भोटो जात्रा अादिमा सरिक भई यसलाई राष्ट्रिय पहिचानको रूपमा जिवीत राखेको । दशैको अष्टमिको दिन राजाले पुरै भगवती मठको दर्शन गर्ने प्रचलन पनि छ ।

बसन्तपुरको शान्तिपुर्ण गुठि बिरोध सभामा युवराज पारस शाह सरकार पनि एउटा रेष्टुरेन्टमा बसेर पुरै सभाको श्रवण गर्ने तथा दृश्यावलोकन गरि समर्थन जनाएको समाचार पनि सुनियो ।  उनले समर्थन जनाएको बिदेशी धर्म र संस्कृतिको लागि नभई अाफ्नै पुर्वजले मानि अाएको धर्म , संस्कृति तथा आफ्नै मौलिक सभ्यता र राष्ट्रिय पहिचान प्रति होला । कुरा काट्नेले बरू सोचुन देश र जनताको अभिभावक बनेर बसेका राष्ट्रपति चाहि यत्रो महत्वपुर्ण कुरामा किन चुप ? भनेर । यहि जनता र राजाको अपुर्व तथा घनिष्ठ सम्बन्ध देखि रिस डाहामा पश्चिमाले दुईचार जना लाल कमरेडहरूको जमात दलाललाई समेटि यति धार्नि नाक काटे भनेर हौवा चलाए । पछि नेवारहरूले त्यत्रो धार्नी नाक काटी जम्मा गर्न त पुरै उपत्यकाको नेवार मारिन पर्छ तथा लडाईमा मर्ने , काट्टिने र सिद्विने त हुन्छ नै , पृथ्वीनारायण शाहकै आफ्नै भाइ भारदार तथा बिश्वासिलो सेनापति कालू पाण्डे धरि सिद्वियो भने पछि यसलाई बिषय बनाउन हुन्न हैट हावा फुकेको रहेछ भन्ने चाल पाई चुप बस्न थालेपछि पश्चिमाले तिब्बती शरणार्थी एउटा आङलाई उचाल्न थाले । तर अब पश्चिमाबाट खाईपाई आएका रखेलहरूले कुनै उपाय नदेखि रिसले आगो ओकाल्दै गुठि बिधेयक ल्याई धर्म , संस्कृति र पहिचान नष्ट गर्दै बिदेशी धर्मलाई बढावा दिन तल्लीन देखिन्छन् ।

उपत्यकाबासि उठेर नै राणा बिरूद्व आन्दोलन र २०४६ साल ६२/६३ को अान्दोलन सफल भएको हो । तर दुवै चोटि नै अाफु प्रति धोखा भएको महशुस गर्दै छन् नेवा समुदाय । अवको आन्दोलन तथा चरणबद्व लडाई भनेको बिशुद्व धर्म , संस्कृति र पहिचानको लागि हो । जसले आफ्नो आस्थाको केन्द्र , मौलिक सभ्यता , राष्ट्र र राष्ट्रियता , राष्ट्रिय पहिचानको जगेर्ना गर्छ यसको निरन्तरता र स्थायित्वको जग बसाल्छ । तसर्थ नेवा एकता जिन्दावाद भन्दै सम्पुर्ण नेपा एक हौं भन्ने नाराका साथ सम्पुर्ण नेपाली गुठि बचाउँदै पहिचानको पुर्ण स्थापानार्थ लागौं । गुठि बिधेयक ,२०७५ खारेज गरौँ , खारेज गरौँ । ज्वाईसाहेवको हुकुम खारेज गरौं।

प्रकाशित मितिः शनिबार, असार ७, २०७६     5:51:37 AM  |

प्रतिक्रया दिनुहोस्