22 September 2019  |   आइतवार, अशोज ५, २०७६

कविता :म कवि होइन

    | प्रकाशित मितिः शनिबार, असार ७, २०७६  

कविता:

म कवि पनि होइन,
म लेखक पनि होइन
खोइ म के लेख्न जान्छु र ?
घरको मझेरीमा तप्प तप्प खस्ने,
पानीको थोपा हेरेर टोलाउँछु
आँखिझ्यालबाट देखिने
मनोरम दृश्य हेरेर मुस्कुराउँछु
बैठक कोठा मिलाएर दङ्ग पर्छु
भान्सा कोठाका भाँडाहरुको
धुनसँग मधुर स्वर निकाल्छु
यस्तै यस्तै परिवेशमा फुर्सद भयो कि
बालबच्चाका कथा
र परिवारका गाथाहरु लेख्ने गर्छु ।

यो आकाश, यो प्रेमिल बतास
अद्भुत शक्ति दिन्छ्न
मनमा ओतप्रोत प्रेम भर्छ्न
आकार फेर्ने बादल, झर्ने झरी
अनि त्यो स्वतन्त्र उड्ने चरी
हो आँखीझ्यालमा बसेर
बिचित्र चित्र
मनमा कोर्दै कोरा पान्नाहरुमा
केही प्रेमका अक्षरहरु रङ्याउछु !!

आखिर म कवि होइन, लेखक पनि होइन
न जानेको छु बन्दुकका कथाहरु
न बुझेको छु राजनीतिक छ्क्कापन्जा
न त गहन भएर सुनेको छु युद्धका नियमहरु,
न पढेको छु गोर्कीका कहानीहरु
न त सम्झेको छु गान्धिका, बुद्धका
शान्ती ल्याउने उपदेशहरु,
भोगेको छु त केवल
पढ्दा पढ्दै रोकिएका कलमहरु,
खोसिएका कापीहरु,
र मन भित्रका युद्धका चपेटाहरु
तर पनि म मुस्कुराएर
लेख्ने गर्छु केही भोगाईहरु!!

हो म कवि होइन
न कतै मेहफिलमा कविता
बाचन गर्न जान्छु ,
न मलाई कसैको निमन्त्रणा आउँछ!
आओस पनि कसरी ?
म सङ्ग मेरो सानो पाँच बर्षको छोरो
छ,
जब म कविता बाचन गर्दै हुनेछु
उसले मेरो पछ्यौरी तानिदिनेछ,
हल्ला मच्चाउनेछ,कहिले टेबल माथी
कहिले सोफा माथी चढिदिने छ,
उद्दन्डता मच्चाउने छ!!
शान्त मेहफिल मेरो छोरोको
क्रियाकलाप ले गुन्जाएमान हुनेछ,
सबैका आँखा “म” आमा माथी हुनेछ
सबैको मनमा
मेरो लालनपालनमा प्रश्न उब्जिनेछ ?
प्रश्न नै प्रश्नका आँखा ले मलाई हेरिनेछन?

कस्ले बुझ्थ्यो र ? यो सानो बच्चा हो,
यो क्रियाकलाप स्वाभाविक हो ,
अप्राकृतिक होइन
यिनीहरु चकचके नभए को हुन्छ?
तर यहाँ त संस्कार को नाममा
आमा दोषि ठहरिन्छे ,
कस्तो संस्कार दिएको होला भनेर?
क्रुर आँखाहरुले मलाई हेर्नेछन
म लाजले रातो हुनेछु,
बेस्सरी रुन मन हुनेछ
म घर आएर भक्कानिएर रुनेछु ।

सायद यस्तै हुनेछ,
म मेहफिल मा भए भने,
पुनः लेख्ने छु यहि भोगाई अनि शिर उठाएर
कुनै दिन मेहफिलमा बाचन गर्ने छु!

बाबाको गलबन्दी यसरी
मेहफिल मै कुनै सानो छोराले
तानेको इतिहास छैन सायद !
तर म जस्तै “उनी”
उनको पछ्यौरी उनको छोरोले
तानेको याद छ, उनी कविता
बाचन नगरी आँखामा मूल फुटाएर
घर गएर भक्कानिदै आँसुका भेल
बगाएको इतिहास छ,
तर अर्को दिन प्रखर भएर
शिर उठाएर बाचन गरेको पनि इतिहास छ!

ठक्कर खाएर फेरि उठ्न सक्ने
चोट पिएर हाँस्न सक्ने,
जति पछारेपनि उठन सक्ने
हामीहरु आमा हौं, धर्ती हौं
आगोको मधुर झिल्का हौं ,
पानी पनि हौं तर कमजोर होइनौं ।

म कवि होइन, म लेखक पनि होइन
खोइ म के जान्छु र? यहि टुटेफुटेका
शब्दहरु कोर्छु,रङ्याउछु,।

शब्दहरुमा मन जोड्न थालेपछी,
अक्षरहरुमा मुटु रङ्गिन थालेपछी
मनमा आनन्द आउँछ, खुशी लाग्छ।
आफै मा बहकिन्छु, खुशी-खुशी रमाउछु।
शब्द मै शक्ति हुन्छन्, मलाई शक्ति दिन्छन्।
मलाई न मंच चाहिएको छ न मेहफिल
बस आँखिझ्यालमा बसेर पनि म
मौन मेरा भावहरु कहाँ कहाँ पुर्याउन सक्छु।

तर पनि आखिर म कवि होइन!
लेखक पनि होइन!
म एक सृष्टि हुँ, सम्मान, संस्कार,
सकारात्मकता, प्रेम, मधुरता,
कठोरता, विनम्रता
हरेक रुपमा आफूलाई सजाउन सक्ने
करोडौं मा एक अद्भूत शक्ति हुँ
म सृष्टि हुँ । म नारी हुँ, मलाई गर्ब छ,
म नारी भएकोमा
हरेक परिस्थितिमा मौन रहेर खुशी हुन सक्ने
एक महान सृष्टि को एक अंश हुँ म!!

म कवि पनि होइन, म लेखक पनि होइन
तर पनि केही मौन लहर लेख्ने गर्छु म।

सिर्जु शाह ,वीरेन्द्रनगर( सुर्खेत)

 

प्रकाशित मितिः शनिबार, असार ७, २०७६     10:14:37 AM  |

प्रतिक्रया दिनुहोस्