22 September 2019  |   आइतवार, अशोज ५, २०७६

प्रधानमन्त्रीलाई ढकालको खुल्ला पत्र !प्रधानमन्त्रीज्यू शासन फेरियो, सत्ता फेरियो तर अवस्था किन उस्तै ?

    | प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६  

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार !

आराम छु, आराम चाहन्छु ।

विशेष पत्राचार गर्नुको खास कारण त केही थिएन तर देश प्रतिको अथाह माया पत्र बाटै पोख्न चाहन्छु ।

प्रधानमन्त्रीज्यू, २०४६ को बहुदलिय व्यवस्था पछि हामीले पाउनु भन्दापनि धेरै गुमाइसकेका छौं । हामीले जनप्रिय नेता मदन भण्डारी गुमायौं, २०५२ बाट सुरु भएको जनयुद्धले देशलाई तहसनहस बनायो, २०५८ मा लोकप्रिय राजपरिवार गुमायौं, २०६२/६३ मा हजारौं सपुतहरु गुमायौं र गुमाउँदा गुमाउँदै प्रकृतिले समेत हामीलाई ठग्यो । २०७२ बैशाख १२ मा आएको विनासकारी भुकम्पले हजारौं प्राकृतिक सम्पदाहरु ढले । कयौं मानिसले ज्यानसमेत गुमाउनुपर्यो । प्रधानमन्त्रीज्यू, यी त भए हामीले गुमाएका सम्पत्तिहरु । हाम्रो देशको शासन फेरियो, सत्ता फेरियो तर अवस्था कहिल्यै फेरिएन ।

प्रधानमन्त्रीज्यू, अब हामीले कहिलेसम्म अर्काको मुलुकमा रगत र पसिना बेच्ने ? दिनहुँ १५०० युवाहरु आफ्नो जन्मदेश छाडेर परदेशी भुमीमा सपनाको महल खोज्दै भौतारी रहेका छ्न् । जसमा म पनि एक पर्दछु ।

प्रधानमन्त्रीज्यू, हजुर प्रधानमन्त्री बन्दै गर्दा हामीले अब त देश समृद्ध बन्छ भन्ने आशा गरेका थियौं । तर समृद्धिको नाममा नारा मात्र लगाइयो । तपाईं प्रधानमन्त्री भएपश्चात देशमा धेरै काण्डै-काण्ड भए । जस्तै ३३ किलो सुनकाण्ड, निर्मला हत्याकाण्ड , वाईडबडि काण्ड, एनसेल काण्ड आदि । यस्ता काण्डै-काण्डले भरिएको सरकारबाट हामीले अब के अपेक्षा राख्ने सरकार ? हामी आफ्नै देश फर्कन चाहन्छौं, हामीलाई आफ्नै देशमा केही गरेर खानसक्ने वातावरण सिर्जना गरिदिनुहोस्, हामी विदेशमा भएका लाखौं युवाहरु स्वदेश फर्कन तयार छौं । यहाँ हामीले १८ घण्टा काम गर्नुपर्छ, भनेजस्तो सजिलो कहाँ छ र बिरानो यो मुलुक?

प्रधानमन्त्रीज्यू, मलाई हिजो जस्तै लाग्छ घरबाट विदा माग्दै गर्दा मेरी आमाले ‘तँ पुग्ने बित्तिकै फोन गरेस् है बाबू’ भनी रुनुभएको । त्यति मात्र कहाँ हो र ? छोरीले ‘बाबा हामीलाई छाडेर कहाँ जान लाग्नुभको?’ भन्दै गर्दा अनि जीवन सङ्गिनीले बाइबाइ भन्दै गर्दा मुटु दरिलो बनाउँदै केहि छिनपछि काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी हानिएको ।

प्रधानमन्त्रीज्यू, म आफ्नो वास्तविक जीवन भोगाईको बारेमा भन्दैछु, जब म ५ घण्टाको हवाई उडानपछि क्वालालम्पुर पुगें, जता हेर्यो सबै बिरानो लाग्छ । एकछिन त मनमनै रोएँ पनि । भाषा पनि आउँदैन, अलमलमै परें, एअरपोर्टमै बल्लतल्ल साहु लिन आयो ।यो त थियो मेरो जीवनका घटेका कुराहरु । अब जाउँ विकासतर्फ, मलेसिया पनि कुनैबेला नेपाल भन्दा गरिब देश हो । महाथिर महम्मदको बाईस वर्षे संघर्ष पछि मलेसिया अहिले आत्मनिर्भर छ । हामीलाई थाहा छ अमेरिकाका राष्ट्रपति बाराक ओबामा दुईपटक राष्ट्रपति बनेकाले आफ्नो बस्ने घरसम्म जोड्न सकेनन्, मेरो देशमा वडा अध्यक्षमा जितेसी पाँच बर्षे कार्यकालमा सातौं पुस्तासम्म पुग्ने सम्पत्ति कुम्ल्याई दिन्छन्, अनि कसरी विकास हुन्छ ?

प्रधानमन्त्रीज्यू, हाम्रो देश मा राती नेपाल मै सुतेको हुन्छ, बिहान उठ्दा भारतीय नागरिक बन्न पुग्छन्, कस्तो बिडम्बना छ ? केहि पनि बोल्न सक्नुहुन्न तपाईं । भारतले नाकाबन्दी लाउँदा झुक्दै नझुकेको केपी ओली अहिले आएर किन झुक्यो ? हामी जान्न चाहान्छौं । हाम्रो मौलिकता लुटिदैंछ । हाम्रो संस्कार लुटिदैंछ अब पनि नबोल्ने हामी ? गौतमबुद्ध को देश नेपाल हो भनि छिमेकीले भन्दिनु पर्ने सगरमाथाको देश नेपाल भनी अरुले भन्दिनु पर्ने । हाम्रो सम्पत्ति माथि आँखा गाड्दै छन् ।

प्रधानमन्त्रीज्यू, हामी ले बेलैमा सचेत हुन जरुरी छ । आशा त गरेकै छौं, तपाईकै कार्यकालसम्म ती पापी आँखा लाउनेहरुको आँखा फुटाई दिनुहुनेछ, सिमामा पर्खाल लगाइ दिनुहुनेछ, पक्कै पनि । नालापानी, कालापानी जस्तै नबनाई दिनु होला यो आग्रह अपिल गर्न चाहान्छु । म जस्तै हजारौं युवाको सोच यहि नै छ ।

अन्तमा केही गल्ती भनेछु भने क्षमाप्रार्थी छु ।
– लछिराम ढकाल
सुर्खेत
हाल मलेसिया

 

प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६     7:49:06 PM  |

प्रतिक्रया दिनुहोस्