20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

आफैले पहल गरेर SAARC जस्तो क्षेत्रीय सङ्गठन निर्माण गर्ने आत्मबल कसरी पैदा भयो होला ? – मिसकल गौतम

    | प्रकाशित मितिः शनिबार, असार २१, २०७६  

मिसकल गौतम

समाजमा आज एउटा शब्दले साह्रै विकृति, द्वन्द्व, कलह अनि वैमनष्यता सृजना गरेको छ, त्यो शब्द हो ‘राजनिति’ । अब यसको बहस गर्दैगर्दा हामी सब ईमान्दारी, परिवर्तनशील अनि स्वतन्त्र नेपाली हुन जरुरी छ ।
हिजो कुनै कालखण्डमा अंग्रेजसँग नेपाली विर गोर्खाली लडेको ईतिहास लेखिरहनु पर्दैन मैले । त्यसपछि जहानियाँ राणा शासनको विरुद्धमा देश लाग्यो र राणाहरुबाट उन्मुक्ति पायो यो राष्ट्रले ।
अनि पञ्चायत व्यवस्था हुदै बहुदलिय प्रजातन्त्र र दश वर्षे जनयुद्धको विषयमा ऐनासरी ईतिहास देख्नु, सुन्नु, पढ्नु र भोग्नु पनि भएको छ ।
हुँदाहुँदा आज राष्ट्र संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल हुन पुगेको छ । जनताले चुनेका आफ्नै जनप्रतिनिधिहरुले देश हाँकिरहेका छन् ।
अब यहाँसम्म आइपुग्दा राष्ट्र दिनानुदिन परिवर्तनको संघारमा छ र हामी संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौं । अब यसो भनिरहँदा राजतन्त्रको अन्त्य पश्चात देशले ८ जना प्रधानमन्त्री, १० ओटा सरकार र २ जना राष्ट्रपति (३ ओटा कार्यकाल ) अनि अहिले आएर ७ वटा प्रदेश सरकार र ७५३ स्थानीय तहमा गरी अनगिन्ती जनप्रतिनिधि छन् ।
हामीसँग टोल-टोल, वस्ति-वस्तिमा जनप्रतिनिधि छन् यतिबेला देश बिकास नभए कहिले हुन्छ त ?? यहि प्रश्न को जवाफको प्रतिक्षामा सिङ्गो नेपाल राष्ट्रका नागरिकहरु छन् । फेरि पनि के यी नागरिकहरुले अनुत्तरित हुनुपर्ने ?? देश विकासको तिव्र गतिमा अघि बढेको जो कोहीलाई हेर्ने धोको छ । तर किन पुरा भैरहेको छैन त ?? देशमा लोकतन्त्र आइसकेपछि विकास भयो कि पहिला शासकहरुको हातमा यो देश रहँदा पनि विकास हुन्थ्यो आउनुस् बहस गरौँ।
करिब ६५ वर्षअघि दशरथ रङ्गशाला बनेको रहेछ । राजा महेन्द्रले त्यहीबेला एअरपोर्ट पनि बनाएका रहेछन् । राष्ट्रिय बजेट साह्रै थोरै थियो र पनि पूर्वपश्चिम राजमार्ग कसरी बन्न सक्यो होला ? चीन जोड्ने अरनिको राजमार्गका निम्ति कति समय लाग्यो होला ? त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग सम्पन्न गर्न पनि पक्कै बजेट थिएन होला । अलिकति खुला ठाउँ चाहिन्छ भनेर खुलामञ्च राख्नु त्यतिवेलाका शासक भनिएकाले गरेको विकास होईन??
विश्वविद्यालयको नाममा बल्खुको त्यत्रो डाँडा छुट्याउने दूरदृष्टि शासकमा कहाँबाट आयो होला ?
चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिगा जग्गा छुट्याउने चेतना कसले दियो होला ? त्यही जग्गा मासेर अहिले धुर्मुस सुन्तलिले क्रिकेट रंगशाला बनाउन पाएका छन् ।
वीर अस्पतालदेखि कान्ति र शिक्षण अस्पताल बनाउन पनि पक्कै ठूलो खर्च चाहियो होला । के त्यो त्यतिबेलाका शासक भनिएकाले गरेको विकास होईन ??
राष्ट्रिय नाचघरदेखि प्रज्ञाप्रतिष्ठानसम्म देशलाई चाहिन्छ भनेर कसले सोच्यो होला ? ठाउँ ठाउँमा प्राविधिक शिक्षालय, प्रदर्शनी मार्ग, राष्ट्रिय सभागृह, लहरै क्याम्पसहरू कसरी बने होलान् ?
अहिले त बिजुलीबस उद्घाटनका दिनमात्रै चल्ने गर्छन्, त्यो ट्रलीबस चलाउने बुद्धि कसले दियो होला ? औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजना कसरी सफल भए होलान् ? आयात निर्यातमा सहज हुने गरी विराटनगरलगायतका औद्योगिक करिडोर बनाउने चेष्टा कहाँबाट आयो होला ? यी सबै काम त्यति थोरै राष्ट्रिय बजेटबाट कसरी सम्भव भए होलान् ?
अझ आफैले पहल गरेर SAARC जस्तो क्षेत्रीय सङ्गठन निर्माण गर्ने आत्मबल कसरी पैदा भयो होला ? अहिले त डर लागिरहन्छ,
देशहरूले देश निलिरहेको त्यो बेला हामी कसरी स्वतन्त्र बनिरह्यौं होला ? सम्झिँदा पनि गर्व लाग्छ, एकादेशमा काठामाडौंबाट सोझै युरोपको फ्लाइट पनि हुन्थ्यो रे, अहिले भारत हुँदै जानुपर्छ ।
हाम्रा शासकलाई लिन बेलायती महारानीदेखि अमेरिकी राष्ट्रपति स्टेशनसम्मैं गएका तस्बीर अझै हेर्न पाइन्छन् ।
हामी ६ दशकअघि नै सर्वाङ्गीण विकासबारे सोच्न सक्ने बनिसकेका रहेछौं । तर, आज आएर एउटा खानेपानीको योजना सम्पन्न गर्न २० वर्ष लाग्ने कसरी भयो होला ? दशकौं अघि स्वाभिमानको अर्थ बुझेका हामी नाथे तरकारीमा विष छ, छैन भन्ने जाँच्न पनि नसक्ने गरी कमजोर कसरी भयौं होला ? च्वास्स बिझ्दैन ?
यसो भन्दै गर्दा मैले यतिसम्म स्वतन्त्र रुपमा लेख्न बोल्न पाइएको छ यो के विकास होईन ?? त्यसको जवाफ छ म संग-
विकास हो, तर स्वतन्त्र लेख्न र बोल्न पाइएको नाममा प्रधानमन्त्री, राष्ट्रपति तथा बिभिन्न ब्यक्तित्वको टाउको अर्कैको जोडेर भिडियो बनाएर स्वतन्त्रताको खिल्ली उडाएको विकास छ ।अनि अर्को कुरा मोबाइल, नेट तथा कम्प्युटर युगमा छौं । लोकतन्त्र आएर यतिसम्म विकास भयो पनि नसोच्नु किनभने विश्व धेरै अघि बढिरहेका बेला जाबो यत्तिकै विकास त राणा राजा जोकोहीले राज्य चलाए नि हुन्थ्यो । यसको प्रमाणका लागि माथि मैले भनिसकेको छु । त्यतिबेलाको बजेट थोरै हुँदा त त्यत्रा ठुलाठुला आयोजना सम्पन्न भए भने के नै लछारपाटो लागेको छ र ६०/६२ साल पछि देखि आजसम्म ?
लेख्नै मन त कति धेरै थियो तर यत्ति पढ्दा त हजुरलाई दिक्कलाग्दो भएहोला अब अर्को पटकमा ।
यतिसम्म धैर्यताका साथ मेरो लेख तथा बिचार पढिदिनु भयो हजुरको अमुल्य समय खेर गएकोमा म माफी माग्दै आवश्यक सहि सुझाव तथा सल्लाहको अपेक्षा गर्दछु ।
देशभक्त तथा कुनै राजनितिको झोले नबनेका देशलाई सच्चा माया गर्ने नागरिकले एकपटक सोच्न पर्ने बेला आएको छ ।
जय देश।

मिसकल गौतम
परशुराम नगरपालिका वडा नं. ६, सिमलखेत, डडेल्धुरा ।
हाल दक्षिण कोरिया

प्रकाशित मितिः शनिबार, असार २१, २०७६     3:23:40 PM  |

प्रतिक्रया दिनुहोस्