17 July 2019  |   बुधबार, साउन १, २०७६

कथा: “सन्ध्या” – सिर्जु शाह

    | प्रकाशित मितिः सोमवार, असार २३, २०७६  

भाग १.

हेलोsssss हेलो कहाँ छस?

म तलाई कुरिरहेको छु।

बानेश्वर को रोएल एलिनाजमा आइजा न!

उताबाट रिप्लाई आयो ।

अलि समय लाग्छ यार आज शनिबार सबै जना घरमा छन,कपडा भिजाएको छु तै पनि त पर्खेर बस म आउँछु अलि समय लाग्छ है !ओके म तलाई कुर्छु भनेर मैले फोन राखिदिए।

एक कप कफी मगाए । उसो त असारको मध्य महिना काठमाडौंमा पनि ज्यादै गर्मी को महशुस भै रहेको थियो।तर पनि गर्मी गराउने कफी नै मेरो च्वाईस बन्यो।

मलाई एक्लै बस्न पनि खासै अफ्ठ्यारो लाग्थेन,मनमा आएका केही कुरा टुइटमा पोस्ट गर्दै मेन्सनमा रमाउन रमाइलो लाग्थ्यो।अनि कहिलेकाही केही भावहरु लेखेर नोट मा राख्ने गर्थे ,अक्षर मै घोत्लिन थाले भने समय गएको पत्तो नै पाउदिन ।मलाई शब्दसँग खेल्न असाध्यै मन पर्छ ।

आज पनि मोबाइलमै शब्दको चिरफार गरिरहे एलिनाजमा उसलाई कुरेर।

प्लास्टिकका फूलहरु प्राकृतिक फूल झै कुलर को हावामा हल्लिरहेका थिए! मुस्कुराए झै देखिन्थे ।,एकोहोरो फूल मुस्कुराएको हेरिरहेछु। पलास्टिक फूलमा जीवन नभए पनि कती सुन्दर छन। तर के जीवन बिनाका बस्तुहरु कुरुप नै छन त ?

घोत्लिन्छु एकानाससङ्ग अनि टुइटर खोलेर टुइट पोस्ट गर्छु ।

“के जीवन बिनाका बस्तुहरु कुरुप नै हुन्छन र?”

मैले भाव बिनाका बस्तुहरुमा पनि औलोकिक सुन्दरता देखेको छु।”

त्यसमा भाव भर्ने प्रयास मानव ले नै त गर्ने हो होइनर?

“सबै दृश्यहरुमा भाव हुदैनन तर निर्जीव सुन्दर बस्तु बनाउदा भावुक भएर हामी भाव भर्ने गर्छौ । ”

आखिर शब्द पनि त निर्जीव छ होइन र?तर भाव छ नि !!

यस्तै यी फूलहरु बनाउनेको भाव भरिएको देख्छु म यहाँ त्यसैले त म यी फूलहरु हेरेर भावुक बनिरहेको छु।

“सजाउन सक्यो भने जिन्दगी पनि फूल जस्तै सुन्दर बनिदिन्छ त्यो हामी मा नै निर्भर हुन्छ।”

यस्तै यस्तै भाव पोस्ट गर्दै आएका मेन्सन धन्यवाद भन्दै रिप्लाएर बस्छु ।वेटरले मुस्कुराउदै बाफ उडिरहेको कफी टेबलमा ल्याउदा म झसङ्ग भए!ओहो अझै उ आएको छैने।

एकपटक फेरि फोन गरे यसपाली फोन नै उठेन,अर्को पटक ट्राई गरे फोन उठ्यो ।, तर तोते बोलिले हेल्लो भन्ने आवाज आयो । ,पक्कै छोरा होला सोचेर बाबा मामु खोइ फोन दिस्यो त भने मामु त बाल्थ लुम गैसेको छ भनेर राखिएदियो।

सोचे अब आउछे होला।

उ काठमाडौ बस्थी,आएको बेला भेटेर जानू पर्यो भनेर मैले उसलाई कल गरेर बोलाए। श्रीमान सरकारी कार्यालयका हाकिम आफू चाहिँ एउटा प्रोजेक्टमा अकाउन्टेन्ट एक छोरा एक छोरी राम्रो परिवार थियो उसको।

बच्चादेखि हामी धेरै मिल्ने साथी थियौ । ,तर भेट नभएको पनि धेरै भएको थियो । फेसबुकका भित्ताहरुमा उसका पारिवारिक फोटा देख्दा उसको जीवन सुखी भएको अडकल लाउन सकिन्थ्यो।

घडिमा चार बजिसके छ उ अझै आइने,अब त मलाई मै सङ्ग अल्छी लाग्न थालिसक्यो,उ सङ्ग रिस उठन थाल्यो।

दुई कप कफी को कप रित्तिसकेको थियो,अब त वेटर पनि ठुला ठुला आँखा ले हेर्न थाल्यो।

दिक्क लागेर बसेको थिए,हस्याङ्ग फस्याङ्ग गर्दै उ आईपुगी मेरो अगाडि । ,सरि ल हेर्न कस्तो समय मिलाउन गाह्रो भयो भन्दै

म तिर हेरि ओए तँ त उस्तै छेस त ।, हेर्न म त बुढी भए भन्दै मुस्कुराउदै हेल्मेट टेवलमा राखेर बसि। अनि सुख्खा उडेका कपाललाई हातले डल्लो पारी।

एकछिन त म उसलाई हेरेको हेर्यै भए । कलेजी कलरको कुर्ती र पाइन्टमा थिई । कुर्ती भरी सेतो-सेतो के लागेको थियो,पाइन्टमा पानीपानी जस्तो,कतै भिजेको जस्तो थियो । कपाल छाडेकी,भर्खरै नुहाएर सुकेको जस्तो तर दह्रो पराल झै,फुस्रो अनुहार, आँखाका वरिपरि चाउरी प्रष्ट देखिन्थ्यो,ओठ पनि फुर्सो थियो।

सुन्दर त उतिकै थिई तर कताकता बनावटी मुस्कान,हाँस्न नचाहेरै हासिरहेकी जस्तै।

ब्यस्त काठमाडौ अनि उसको ब्यस्त दिनचर्यामा आफूलाई कहाँ केयर गर्न पाई होलि यसले, यस्को हालत हे भगवान ।

मनमनै बोले।

म मौन बसे,उ बोलिरही हेर्न,यति हतार भो रोटि र तरकारी बनाएर दिनको नास्ता रेडि गरेँ ।

कपडा एक हप्ता देखिको थियो । सारा धुँदा,घर सफा गर्दा, आफू नुहाउँदा बच्चाहरुलाई नुहाईदिदा यति ढिला भयो यार।

यति धेरै कुराए मैले तँलाई सरि है सिर्जु ।

म उ तिर पुलुक्क हेरेर सोधे तैले केही खाइस ? उसले भनी कहाँ खानु नि उनिहरुलाई मात्रै बनाएर आएको हुँ ।

म खान लाग्दा झन अबेर हुन्छ सोचेर हतार हतार आए।

लौ भन अब के खाने?उसले सोधी ।

मैले भने तँ जे खान्छेस तेहि खाउन हस? मेनु हेरि

वेटर नजिकै आए उसले भनी एउटा पिजा,१ प्लेट आलु पराठा अनि २ कप चिया ।

हामी दुई टेवल को वारिपारी बस्यौं ,उसलाई पहिले पनि धेरै बोल्नु पर्ने थियो, अझै बोल्न त उस्तै रैछ ।

म तिर क्वार क्वार हेरिरही तँ किन यस्ती? अझै बच्चा झै,

म मुस्कुराए । हेर्न म त चाउरिए,आफ्नो केयर गर्ने फुर्सद पनि हुदैन।

खुईय्य!! सुस्केरा हाली ,लाग्थ्यो त्यो सुस्केरा भित्र धेरै दुखका भावहरु मडारिरहेका छन ।

धेरै गाह्रो रैछ घरपरिवार र अफिस दुबैलाई सङ सङ्गै हिडाउन चुनौती नै रहेछ नि । मरिमरि बाच्नु परेको छ ,यो काठमाडौंमा।

“अथाह पीडा यतैको ब्यस्ततामा हराउँदै गएका छन।”

“मेरा सुस्केराहरु,मेरा थकानहरु यहि शहर ले निलेको छ।”

कहिलेकाही त लाग्छ कतै दुर जाउ,एकान्तमा बह पोखाउ,तर सोचेको कहाँ नै हुन्छ र सानो छोरो छ । छोरीको अझै केयर गर्ने बेला भएको छ ।

खुईय्य सुस्केरा हाल्छे र आँखा भरी आँसु डलपल पारेर भन्छे हेर्न सिर्जु मेरो हालत,”मेरा सबै बहहरु यो देखावटी मुस्कानले यो भिडभाडमा,ब्यस्ततामा लुकाईदिएको छ ।कहिलेकाही त लाग्छ यो बनावटी मुस्कान मेरि आमा को दाइजो हो”।

उन्मुक्त भएर हाँसेको दिन याद छैन मलाई”

“मुस्कुक्क मुस्काउनु भनेको दर्द नै रहेछ”

हेर,खुशि ले मुस्कुराएको होइन नि मुस्कानको लागि मुस्कुराईदिएको। सोच्ने फुर्सद छैन भने हाँस्ने मुस्कुराउने फुर्सद कहाँ होला?यहाँका मानिसहरु सबै सपना बोकेर पूरा गर्ने उदेश्य ले हाँस्न नै भुलेका जस्ता देखिन्छन् ।त्यहीँ भिडमा म पनि उस्तै छु।उस्तै देखिन्छु।

म सुनिरहेको छु उसलाई,मेरो सुन्न्ने शक्ति अलिक धेरै नै छ।

म धैर्य गर्न सक्छु त्यो माथि मेरि साथी आफ्ना बह पोखाउदै छे।

म टोलाए फूलदानीहरुमा मुस्कुराईरहेका प्लास्टिकका फूलहरु हेर्दै ,यस्को मुस्कान पनि यस्तै शून्य,खुशी बिनाको

तर मुस्कुराईरहेकी चाहिँ छे ।

उ फेरि बोल्न थाल्छे निरास अनुहार बनाएर,

मेरा सफरहरु अर्थहिन छन झै लाग्छ,उत्साहहिन भएको छु म,मेरा हरेक भावहरु छरपस्टिदै टुक्रिन्छन यिनै सडकहरुमा।

परेली ले सधैं आँसु लुकाउन जानेको छ । मानौं म बर्सौ देखि तालीम प्राप्त छु।

थोरै घोसे मुन्टो लगाउछे ,आँखाहरु आँसुले ढलमल भै रहेछ उसले भने जस्तै तालिम प्राप्त नै रहेछ्न उसका परेलीहरु आँसु लुकाउन।

बहेको नदी झै जो कहिले फर्केर आउने छैनन । त्यो दिन,त्यो समय,मेरा स्वतन्त्र जीवन, मेरा बाल्यकालका चिच्याहट,मेरा साथीहरू । बाँस को फिरुली सङ्गै तैले र मैले भर्ने उडान उ त्यो हिमालपारी गाउँमा छोडिएको छ ।

मेरो उडान मेरो पखेटा सबै काटिएका छ्न।

अबका यी समयहरु त मेरा ब्यस्तता र जिम्मेवारी सङ्गैमेरो आयु खाएर जाँदैछन ।

यो शहर बिस्तारै मलाई बिष पिलाउदै छ । हो स्लो पोइजन पिलाउदै छ । म मदहोशी झै भएको छु, न गतिलो लाउन मन छ,न गतिलो खान,हरेक काम ठिक ठिक समयमा नगरे म पागल हुनेछु।कामले च्यापिएर मेरो गला रेटिने छ। सायद पैसाले मलम लाउने छ कुनैदिन । समय कै नशामा च्यापिएर म बिस्तारै ओझेल हुदैछु।

म सन्ध्या म रातकी रानी तर म अँध्यारो मै उषाका किरण जस्तै आशाहरु खोजिरहेकी पनि छु तर मेरो आलस्यता,उदासिपन,एक्लोपनले मलाई खाईरहेको छ ।

रोक्छु ,बाध्छु तर फेरि फुस्किन्छु ए भगवान! तिमी नै भन न

म के गरौ? कहाँ हराउ म ? कहाँ बिलाउ म?

भक्कानिन्न्छे ……फेरि पनि आँसु गहभरी लुक्छन ।

एउटा कुरा सोधुँ ? उ नजिकै सरेर बोले मैले।

उसले जवाफ दि सोध न !

तँलाई त पहिले देखि म हरेक कुरा सुनाउँथे,तँ सुन्न सक्छेस र सल्लाह पनि दिन्छेस, सोध न यस्तो पनि प्रमिसन लिनु पर्ने हो र ?

उ मुस्कुराई,आँखामा परेको ऋन्कल झनै प्रष्ट देखियो। ठुला आँखा चन्चल बनाई उसले।

म गम्भीर भएर प्रश्न सोधे तँ नरोएको कति दिन भयो???

what??? भन्दै

उसले बिस्मयका आँखा ले मलाई हेरि उसका ठुला आँखा भरिएर आए । हो मैले सोधेको तँ नरोएको कति भयो? म सिरियस्ली सोद्दैछु?परेली भिजिसकेका थिए,स्वर थरथर काम्दै थियो । बिस्तारै बोली,सिर्जु के भनौं ?

मैले भने..

तँ मेरो अगि छेस,यहाँ एकान्त छ तँ रुन सक्छेस सन्ध्या म पनि भावबिह्वल बनिसकेको थिए।

“कहिलेकाही त लाग्छ मेरा केही अमुल्य बस्तुहरु बेचेर थोरै फुर्सद र एकान्त किन्न सकुँ ” अनि एकान्तमा चिच्याएर रुन सकुँ ,कराउन सकुँ “।

म आफैले आफैलाई नहेरेको,नबुझेको कति दिनभयो म हिसाब गर्न सक्दिन। म म नै होइन जस्तो लाग्छ,जब बुझ्न खोज्छु म पत्थर बनिदिन्छु।

झरी बर्से जस्तै उस्का ती आँखाबाट आँसुहरु बर्सिरहयो,केही समय आँसु ले पिँडा पखाल्यो केरे ,फेरि सुकसुक गर्दै भाव बिहिन मुस्कुराई दिई।

यतिखेर सम्म हाम्रो चिया टेवल मा आईपुग्छ,

चियाको सुर्की सङ्गै फेरि बोल्न थाल्छे।

जिम्मेवारी ले लुछुप्पै पारेको छ,दुई बच्चा,एक बिरामी सासू,अनि श्रीमान को पुरै केयर गिभर म नै हो। जिम्मेवारी मेरै काँधमा छ्न। लाग्छ मेरा चार बच्चाहरु छन।

बुढाबुढी भए पछि बच्चा जस्तै हुँदा रहेछन मान्छेहरु,

सासू पनि बच्चा झै गर्नु हुन्छ। श्रीमान तिमी छौ र म मेरो सफलतामा उचाई थपिएको छ भन्नू हुन्छ।

त्यसैले म खम्बा जस्तै उभिएकी छु उहाँहरुको ढाल भएर।

न पानी भन्छ न घाम सधै खपिरहन्छ हरेक बदलिरहेको प्रकृतिलाई त्यो खम्बा, हो त्यस्तै छु म।

नमिठो मुस्कान आउँछ यसपाली उसको ओठहरुमा यो बनावटि थिएन,दर्द सहितको थियो।

यति काम त म जसरी नि खुशी खुशी गर्न सक्थे तर हेर अफिस को काम यति ब्यस्त हुन्छ,नगरौ भने एक को खर्चले हामी पाँच पाँच जना कसरी पालिनु यो महँगो काठमाडौंमा ?

म मनमनै सोच्छु,सायद तेरो जिम्मेवारी तेरो अनुहारका चाउरीहरुमा,खजमजिएका कपडाहरुमा,तेरो सुख्खा पराल झै कपालहरुमा देख्छु । अब बिस्तारै सबै फुल्नेछन।

तँ यसरी नै हाँस्न नपाई चाउरिनेछेस,फुलेर सेतै हुनेछेस मेरि प्रिय् साथी।

फेरि बोल्न सुरु गर्छे ।

कहिलेकाही त लाग्छ सबै भएर पनि म एक्लै छु, कसैले सोधिदिओस लाग्छ,आज कस्तो छ तिमीलाई? किन मलिन छौ?के सन्चो छैन?किन गुम्म छौ? अनि सारा पिँडा पोखाएर शान्त पारुँ आफूलाई। अनि बिहानी किरण झै मुस्कुराउँ ।

तर उहाँ जतिखेर ब्यस्त कहिले मोबाइलमा,कहिले ल्याप्टपमा

कहिले अफिसको काममा।

“अनि मेरा आशाहरु सधैं निराशा हुन्छ्न,भावहरु शून्य बनिदिन्छन,म सुख्खा बगर जस्तै सुकिरहन्छु”।

आलु परौठा,पिजा पनि आई पुग्छ,परौठा टोक्दै बोल्न थाल्छे सुरु भयो उसको दिनचर्या……

 

२.

बिहान दैनिक क्रियाकलाप पछि घरमा सबै जना सुतिरहेका हुन्छ्न म उठ्छु । सबैलाई चिया दिएर म खाना बनाउन थाल्छु,बच्चाहरु उठिसकेका हुन्छन।

उनिहरुको तयारीमा लाग्छु,खुवाउनु ,कपडा लाईदिनु,स्कुल को रुटिन अनुसार किताब म्यानेज गरिदिनु,अनि रेडि बनाएर स्कुल गाडिमा पुर्याएर आउनु।

अनि उहाँलाई  र सासूलाई खाना पस्किदिन्छु ,आफु हतारहतार खाएर,जुठा भाडाहरु एकै ठाउँमा बटुलेर प्लास्टिक को डबका ले ढाकी दिन्छु।

त्यसपछी कपडा लाईवरी म स्कुटीमा40/50 को स्पिडमा अफिस हुइकिन्छु।

मुसुक्क मुस्कुराउछे रुखो मुस्कान, ब्याङ्ग्यात्मक मुस्कान अनि बोल्छे, हेर्न अनि यो काठमाडौको जाममा मेरो 40/50 को स्पिड फेरि म जस्तै शून्य भएर शुन्यमा झरिदिन्छ।

जाममा पनि  म जस्तै हतारमा रहेका रोबर्ट जस्ता फुस्रा कलेटी ओठ पारेका मानिसहरु नियाल्दै अफिस पुग्छु।

दिनभर अफिसको काम,एक छिन फुर्सद हुदैन,म्यासेन्जरमा साथी भाईहरुका म्यासेजले भरिएको हुन्छ ,लाइक सम्म पठाउन पाउदैन,रिसाउछन ,ठुली मान्छे बनी,पुगेको छ।

अनि हामी लाई के सम्झिस्थिस,भनेर ब्याङ्ग्य गर्छन।

एक तँ मात्र फरक थिइस कुरा गर्न मन भए फोन नै गर्थिस,तर फोनमा सबै कुरा सुनाउन कहाँ सकिन्थ्यो र?

फेरि लामो सुस्केरा हाल्छे,

“यो जादु को शहर हो,जो देखिन्छ त्यो नहुन सक्छ,

जे देखिन्न त्यो हुन सक्छ”यस्तै चल्छ यहाँ ।

यतिखेर सम्म उसको फोनमा तीन पटक कल आइसकेको थियो पहिलो कल उठाएर उसले म सिर्जु सङ्ग छु एक्छिनमा आउछु भन्छे,त्यसपछी को कल उठाउदैने।

लामो सास लिन्छे पुनः कुरालाई जोड्दै जान्छे,

घर फर्किन यति हतार हुन्छ,धन्न सासू आमा हुनुहुन्छ र बच्चाहरुलाई रिसिभ गर्नु हुन्छ। कहिलेकाही अफिसमा पनि बेला न कु बेला मिटिङ्ग एक्कासी  फिक्स गर्छन,अफिस टाइम पछि पनि।

म यति सन्किन्छु कि कहिलेकाही त हाकिम साकिम पनि नभनी चिच्याउछु,तर के गर्नु,बस्नै पर्छ जे भए पनि ।

उहाँ को फोन म ६ बजे घर नपुग्दा यति धेरै पटक आउँछ कि कुरै नगरुँ ।

कहिले जाम ले यति दिक्क बनाउछ कि आफै उडेर घर पुगौं झै लाग्छ। जाममा पनि के सोच्नु यहि बच्चाहरुले आमालाई दुख दिए होला,भनेको मानेनन होला,होमवर्क गरे कि गरेनन होला? कहिलेकाही त दिदी ले भाइलाई  पनि होमवर्क  गराईदिन्छिन । र ढुक्क हुन्छु ।

बिहानीका जुठा भाडाहरुले मलाई नै कुरिरहेका छन झै लाग्छ । सम्झिन्छु जुठा भाडा ,अस्तब्यस्त रुम,ओहो अनि यो जाम ।झनै मन हतास हुन्छ। जब  जाम खोल्छ म यसरी हुइकिन्छु कि 50/60 को स्पिड्मा कुनै दिन यतै कता म पल्टिने छु डर लाग्छ सोच्दा पनि।

घर पुग्छु ,अस्तब्यस्त हुन्छ,कपडा भुइँ भरी,सामान यत्रतत्र सबत्र ओहो !! बैठक रुम  उस्तै, आफ्नो रुम उस्तै ,जस्तो सुकै होस ,कपडा चेन्ज गरेर म किचनमा पुग्छु। खान बनाउन लाग्छु।

त्यसपछी म मधुर स्वरमा उसलाई सोद्छु अनि भिनाजु कति खेर फर्किसिन्छ नि अफिसबाट?

भिनाजु को पाँच बजे बिदा हुन्छ,कहिले त सबेरै घरमा आएर पढ्न थालिसिन्छ,कहिले ल्याप्टप,कहिले मोबाईलमा अफिस को काममा ब्यस्त होइसिन्छ।कहिलेकाही साथीहरू भेटिए भने रातको १०/११ बजे उहाँ फर्किसिन्छ,कहिले खाना बाहिर नै हुन्छ,उहाँहरुको पार्टी धेरै जसो भै रहन्छ ।यस्तै हो केटा मानिसहरु साथीहरु टन्न हुन्छ्न,हाम्रो जस्तो होर?

अध्यारो बनाउछे अनुहार।

बच्चाहरुलाई होमवर्क सिकाउदै खाना बनाउछु,उनिहरु र सासू आमालाई खुवाउदा ९:३० त भै सकेको हुन्छ! उहाँलाई कल गर्छु अनि कति खेर आइसिन्छ भनेर सोध्छु  अनि उहाँ ले तिमी खाउ म ढिला हुन्छ भने पछि म खाँदा ,भाडा माझ्दा ११ बज्छ । कहिले उहाँलाई कुरेर बस्छु कहिले कुर्दा कुर्दै निदाउछु।

त कहिलेकाही रातभर निन्द्रा लाग्दैन,रातका  पिडाहरुले झनै मलाई बिक्षिप्त बनाउँछन । अनिद्रामा म जस्तै बलिरहेको यो अनिदो शहर हेरेर घन्टौ टोलाउछु म।

सम्झिन्छु  अतीत,त्यो रानिबन,त्यो स्कुल,त्यो जर्के धारा,अनि हाम्रा आवाजहरु कानमा गुन्जिए झै लाग्छ,म एक्लै मनमा बहश गर्न थाल्छु पागल झै बरबराउन थाल्छु।

यति भनिरहँदा सात बजिसकेको हुन्छ,उसका आँखाहरु सुख्खा भै सकेको हुन्छ।

मैले सोधे अहिले कस्तो फिल भै रहेको छ ??

उसले भनी ,मैले आज उहाँ का १० कल उठाईन, मैले सबै बिर्सिए त्ँ सङ्ग मेरो कुरा शेयररिङ्ग गर्दा,मलाई आज साह्रै आनन्द फिल भैरहेको छ।

अब तेरो भन्नू केही छ?? उसले मलाई सोधी ?

म मुसुक्क मुस्कुराए, छ नि अहिलेसम्म तैले मात्र भनिस अब मेरो पालो । म केही गम्भीर बनिदिन्छु र बोल्न थाल्छु।

स्वभविक हो तँ दुखी हुनु तेरो तनाब,ब्यस्तता,दुख म बुझ्छु प्रिय् साथी ।

तेरो परिस्थिति घर र अफिसको ब्यस्तता र शेयरिङ्ग गर्न नपाउदा तँ मा देखिएको घुटघुटी तडपाई, मानसिक तबाब,शारीरिक थकान, यस्तो अबस्थामा तिमीलाई आज कस्तो छ ? थाकेको हौली है भनेर सोध्ने ब्यक्ती पनि ब्यस्त र मौन रहिदिनाले एक्लोपन महशुस भएको र आफूलाई अभागी ठान्दै काम गरिरहेकाले झनै तनाब बढी देखिएको छ।

समयर परिस्थिति लाई सधैं स्विकार गर्न सिक्नु पर्छ,आफू लाई सधैं तनाब मा छु म बिचारी भनेर कहिले सोच्नु हुन्न।

सक्छौ भने आफ्नो वरिपरि को बाताबरण आफू बस्ने घर मिलि जुलि स्वर्ग झै प्रेम र शान्त बाताबरण ले सिङ्गार्नु पर्छ।

जिन्दगीको यो दौडधुपमा चोर्न  सक्नु पर्छ ति छोटाछोटा खुसिका पलहरु र उसैमा रमाउन सिक्नु पर्छ। बच्चाहरु सङ्ग को पल,उनिहरुको अस्तब्यस्तामै आफू पनि रमाउन सक्नु पर्छ। ठुला भएपछी बच्चाहरु को तेहि पल सम्झेर हामी आन्न्दित हुन्छौं ।

साथीहरू सङ्ग को छोटो पल किन नहोस त्यसलाई पनि रमाइलो बनाउनु पर्छ

त्यस्तै श्रीमान सङ्ग को हरेक पल सुन्दर बनाउने कोसिस गर्नु पर्छ। रोमान्टिक बनाउने,घुम्ने,घरमा गफ गर्दै खाना बनाउने यस्तै यस्तै आनन्दित पललाई हामिले जिम्मेवारी र ब्यस्तता बाट चोर्न सक्नु पर्छ।

म अलिक नजिक सर्छु उसको,उसका ठुला आँखा ले मलाई एकोहोरो हेरिरहेको हुन्छ।

हेर सन्ध्या  ,

हरेक मानिसको मन दुर्बल छ किन भने अस्थिर छ,छरिएको छ,उड्न सक्छ,एक ठाउँ मा रहदैन।

आत्मबल सबै भन्दा शक्तिशाली हुन्छ,आत्मा सबल बनाउन मन स्थिर बनाउनुपर्छ।

के कोसिस गरेकी छेस? प्रेमले  भिनाजुलाई सोध्ने,आज हजुरलाई कस्तो छ?? थाक्नु भएको छ हो? वा आजको दिन कस्तो रहयो?

त्ँ सधैं गुमसुम रहँदा उहाँ लाई कस्तो फिल हुदो हो? घरमा सधै सन्न्नाटा छाउँदा,घर भन्दा बाहिर उहाँलाई रमाइलो लाग्दो हो कि ?

सायद उहाँ पनि तेरो ब्यस्तताबाट केही समय चाहानुहुन्छ कि ? एकपटक कोसिस गरि हेर,तेरो जिन्दगी फूल जस्तै मुस्कुराउने छ,चरी जस्तै स्वतन्त्र हुनेछ अनि प्रेमको महल हुनेछ तेरो घर।

हेर,

एक अर्कामा शेयरिङ्ग कम हुँदै गए शीत युद्ध हुन्छ मन टाढा हुँदै जान्छ प्रेमको भाव हराउदै जान्छ। तनाब र दिक्दारीपन आउछ । जिम्मेवारी दुबैको हो दुबैले बाँडिचुडी निभाउदा अबश्य घर स्वर्ग हुन्छ,यसरी उदासीमा भड्किरहनु पर्दैन।

सम्बन्ध जिउँदो बनाउनका लागि प्रेम अपरिहार्य हुन्छ,प्रेम मनमा मात्र भएर हुदैन व्यबहार मा देखिनु पर्छ,केयरिङ्ग सेयरिङ्ग मात्र नभएर कहिलेकाही रोमान्टिक पनि बन्नुपर्छ।

मनमा रहेको प्रेमलाई प्रस्तुत पनि त गर्नु पर्छ होइन र?

प्रेम जिउँदो रहनका लागि थोरै सम्मान,थोरै समझदारी ,र स्याहार, सम्भार,अनि धेरै धेरै प्रेम मुटु मा जीउँदै रहनु पर्छ।

त्यो दुबै तर्फबाट उतिकै रहनुपर्छ।

र अर्को कुरा,याद राख ,

कामको ब्यस्ततामा के आफ्नै केयर गर्न भुलिदिने होर?

“आफू रहे सन्सार रहन्छ”छोराछोरी हुन्छन,श्रीमान हुन्छन”

आफू नै नरहे जस्को लागि हामी मरिमेट्छौ उनीहरुको हालत के रहन्छ र?

स्वस्थ सुन्दर रहन,अरुको केयर गर्नलाई पनि आफ्नो केयर जरुरी हुन्छ ।

“खानपिन मात्र होइन लवाईखवाई,स्मार्ट्नेस सधै बचाईराख्नु पर्छ” ।

तँ यती सुन्दर छेस अझै आफू लाई केयर गर त कति सुन्दर,स्मार्ट र फूर्तिलो देखिन्छेस।

तेरो तर्फबाट यी सबै गरिहेर…..त्यसपछी को भेट अर्को बर्ष तँ र म यहि एलिनाजमा बसेर मुस्कुराउदै कफी पिउनेछौ।

मुसुक्क मुस्कुराई, र भनी एस बोस

अहिले को मुस्कान ताजा र फ्रेस थियो।

धेरै बोझ आज मलाई सुनाएर चङ्गा जस्तै मन बनाएकि थिई।

अनि अन्तिममा मैले “ओई” भने,उसले “है” भनी

एउटा कुरा भनुँ ? दुइटा भन न खित्का मारेर हाँसी ,म पनि हाँसे,एलिनाज अगाडिको पार्किङमा हामी हाँसेको देखेर सबैले हामीलाई हेरे…..

अनि मैले भने स्पिड अलि कम गर  है,काठमाडौंको सडक

हाम्रो रातानाङ्ग्ला भन्दा पनि खत्तम छ।

एस बोस भन्दै खितखिताउछे ……

त्यसपछि उ स्कुटीमा मलाई बसालेर दौडाउछे र  म बस्ने ठाउँमा लगेर छाडिदिन्छे।

समय भए फेरि भेटौला भन्दै……….सन्ध्या उज्यालो उषा खोज्दै मेरो आँखा बाट हराउँदै जान्छे दुर दुर……..

मन चङ्गा झै भुरुरु उडाउदै  अनि स्कुटी  गुडाउदै कोटेश्वर तिर हुइकिन्छे मेरि प्रिय् सन्ध्या …….

 

सिर्जु शाह, वीरेन्द्रनगर, सुर्खेत

प्रकाशित मितिः सोमवार, असार २३, २०७६     3:08:57 PM  |

प्रतिक्रया दिनुहोस्