14 October 2019  |   सोमवार, अशोज २७, २०७६

नेपाल सिंगापुरसँग ८२ रनले पराजित, टि–ट्वान्टी विश्वकपको सपना चकनाचुर

    | प्रकाशित मितिः आइतवार, साउन १२, २०७६  

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल सिंगापुरसँग पराजित भएको छ । यो पराजयसँगै ग्लोबल क्वालिफायर पुग्ने सपना पनि समाप्त भएको छ । एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग ८२ रनले पराजित भएको हो ।

सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा १ सय ९ रनमा अलआउट भयो । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । दिपेन्द्रसिंह ऐरीले २३ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । २१ बल खेलेका ज्ञानेन्द्र ४ चौका र ३ छक्का प्रहार गर्दै विजयकुमारमार्फत बोल्ड भएका थिए ।

दिपेन्द्रले २२ बल खेल्दै १ चौका र छक्का प्रहार गरेका थिए । कप्तान पारस खड्का १२ रनमा आउट हुँदा शरद भेषवाकर ७ रन बनाए ।सोमपाल कामीले ११ रन बनाउँदा विनोद भण्डारीले ९, रोहित कुमार पौडेलले ५ रन बनाएका थिए । सन्दीप लामिछाने र करण केसीले खाता नै खोल्न सकेनन् । नेपालका खेलाडीलाई सस्तैमा समेट्न सिंगापुरका विजय कुमारले ४ विकेट लिए । बिनोथ बसक्रनले २ विकेट लिँदा अम्जाद महबो, जनक प्रकाश र अन्नथ कृष्णको नाममा १–१ विकेट रह्यो ।

यसअघि पहिला ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ६  विकेटको क्षतिमा १ सय ९२  रनको लक्ष्य दिएको हो ।

सिंगापुरका लागि टिम डेभिडले अर्धशतक बनाए । ४३ बल खेलेका उनले ८ चौका र ३ छक्काको मदतमा ७७ रन बनाए । सिंगापुरलाई फराकिलो रनतर्फ डोर्याएका टिम अभिनास बोहराको बलमा ज्ञानेन्द्र मल्लमार्फत क्याच भए ।
रोहन रङगराजन अर्धशतक बनाउन १ रनले चुके । ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका उनी पनि अभिनास बलमा शरद भेषवाकरमार्फत क्याच भएका थिए । मनप्रित सिहंले ४२ रन बनाए ।

२७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका मनप्रित करण केसीको बलमा दिपेन्द्रसिहं ऐरीमार्फत क्याच भए । ओपनर सुरेन्द्रन चन्द्रमोहन ८ रनमा पवेलियन फर्किएका चेतन सूर्यवंशीले खाता नै खोल्न सकेनन् । ७ बल खेल्दै २ चौका प्रहार गरेका चन्द्रमोहन करण केसीको बलमा ज्ञानेन्द्र मल्लमार्फत क्याच हुँदा चेतन अभिनासको शिकार भए ।

अनिस परम ९ रनमा अबिजित रहँदा अन्नथ कृष्णले १ रन तथा  जनक प्रकाशले कुनै रन न जोड्न सकेनन् । नेपालका अभिनास बोहराले ४ विकेट लिए । करण केसीका नाममा २ विकेट रह्यो । जितसँगै सिंगापुरले युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ ।

प्रकाशित मितिः आइतवार, साउन १२, २०७६     10:29:06 AM  |

प्रतिक्रया दिनुहोस्