19 August 2019  |   सोमवार, भदौ २, २०७६

कोरियाको गर्मी विदा – माधव न्यौपाने

    | प्रकाशित मितिः सोमवार, साउन २०, २०७६  

याे पटककाे गर्मी बिदामा सउलमा रहेकाे “हानगल चर्च” मा विशेष कार्यक्रम छ । तिम्रो के छ याेजना ? समय भए आउनु भनेर पास्टर खिमले गतहप्ता फाेन गरेका थिए । मैले हुन्छ म आउँछु भनेर बाचा गरेकाे थिएँ । पास्टर खिमले मलाई असाध्यै माया गर्छन् । म पनि बेला माैकामा उनकाे चर्चमा जाने गर्छु ।

बिदाकाे पहिलाे दिन सबेरै उठें । केही समय पछि आफ्नाे पूर्ण तयारीका साथ नजिकै रहेकाे ट्रेन स्टेसनमा गएँ ।समयतालिका बोर्डमा यसाे हेरे रेल आउन पाँच मिनेट बाँकी रैछ । दुई मिनेट बाँकी छदाँ मान्छेहरु भटाभट आउन थाले र प्लेटफर्म टन्न भयाे। ठिक समयमा रेल आयाे, ठिक समयमा हिँडिहाल्याे । सबथाेक घडीको सुई अनुसार चल्ने ! समयसँगै हिडेर नै यिनीहरुले यति धेरै बिकास गरेका हाेलान् ! सिटमा बसेर एकछिन घाेरिए के समयकाे यति धेरै दास बन्नु राम्रो हाे त ? हामी त समयमा यिनीहरू भन्दा अघि छाै । हामी २०७६ मा छाै जबकि यिनीहरु बल्ल २०१९ मा छन् ।

समयमा अघि भएतापनि हामी किन विकासमा पछि ? फेरि प्रष्ट रुपमा  देखिने यी ठुला-ठुला भवन, फराकिला सडक, मेसिनको अत्याधिक प्रयाेग विकासका धाेतक हुन् भने हामी नेपालीले कम विकास गरेकाे झैं लाग्दैन । विकास भनेकाे भाैतिक भन्दा बढि मानसिक हुनुपर्छ । मानसिक बिनाकाे विकास आत्माबिहिन शरीर जस्तै हाे । करिब एक घन्टाको  यात्रा पछि म सउल (काेरियाकाे राजधानी ) मा रहेकाे विशाल चर्च “हानगल”मा पुगें । चारैतिर ठुला ठुला प्रबेश द्वार खुल्ला  छन् । एकछिन त अलमलमा परें कताबाट भित्र  प्रस्थान गर्ने ! जेनतेन गरेर भित्र पसें आज आइतबार भएकाले भित्र काेरियन भाषामा प्राथना चलिरहेकाे थियाे । आफु चाहिँ फुत्त बाहिर  निस्केर सबै दृश्य अवलोकन गर्न तिर लागें ! चर्चकाे वरिपरि कति सफा, शान्ति छ । सबै नवआगन्तुकहरुलाई स्वागतम छ । हाम्रा मन्दिरहरु किन त्यति धेरै फाेहाेर र अव्यवस्थित ? जति ठुलाे मन्दिर त्यति धेरै हल्ला जति ठुलाे मन्दिर परिसर त्यति धेरै फाेहाेर ! फेरि मन्दिरका ती ढाेकाहरु किन सबैका लागि खुल्दैनन् !

हिन्दुधर्मालम्बीहरु दिनहुँ दिन ह्रास हुनुकाे प्रमुख कारण यसकाे सर्बसुलभता नहुनु हाे जस्ताे पनि लाग्छ । हामी उहीँ परम्परागत  मान्यतालाई  अनुकरण गरिराखेका छाैँ । प्रसिद्ध उर्दु कविका पङ्तिहरु सम्झिन्छु ” सज कहदु यी विरह मन गर्तु बुरहा नमाने , तेरे बुद्धत के बुद्ध हाे गे पुराने “धर्म के हाे ! के हाे धर्म ! जीवन दर्शन ,ईश्वर प्राप्ति , गलत सहि , न्याय अन्याय मृत्यु पछिकाे जन्म ! म यहाँ धर्मका बारेमा धेरै गन्थन गर्न चाहान्नन् । त्यसैपनि गालिप ले भन्नुहुन्छ ,” बहुत गहिराई मे नजा गालिप डुब्जाहेगा ।” एकैछिनमा सबै भक्तजनहरु प्रार्थन सकेर बाहिर निस्किन्छन् । पास्टर खिमले सबैलागि खाना खान नजिकैकाे रेष्टुरेन्टमा जान अाग्रह गर्नुहुन्छ । हामी सबै खाना खान थाल्छाैं । कति धेरै समय लगाउँछन् यिनीहरू खाना खान हामी नेपालीमा त्यति धैर्य कहाँ छ ! पलेटि कस्याे सल्याप सुलुप पार्याे सक्कि हाल्याे फेरि खानलाई के नै हुन्छ र ! दाल, भात भाग्य बलियाे भए दुई चार टुक्रा मासु त्यहि त हाे । मैले खाना खाईसकें ! म भन्दा अगाडि सुरु गरेका एक जाेडी युवायुवतीले अझैं आधा खाईसकेका छैनन् । यिनीहरु खाना खान्छ कि एकअर्कालाई माया गर्छन् ? म कर्के नजर लगाएर हेरिरहन्छु ।

मध्यान्ह १ बजे हामी दाेङदेमुनमा रहेकाे सङ्ग्रहालय अवलोकन गर्न जान्छौं । यस सङ्ग्रहालयकाे भित्र विविध संस्कृतकला, मुर्तिकला, चित्रकलाहरु छन् । यहि नजिकै विविध सांस्कृतिक कार्यक्रमका लागि ३, ४ वटा भवनहरु पनि छन् । याे पटक त्यस्ताे कुनै कार्यक्रम चाहिँ छैन । केहिछिन पछि म दाेङ्देमुन (जसलाई हामी नेपालीले  रत्नपार्क पनि भन्ने गर्छाैं) त्यहाँ जान्छु । काेरियाकाे दाेङ्देमुन र सुवन यस्ताे ठाउँ हाे । जहाँ टेनिङ सेन्टरबाट छुटेका साथीहरु भेटिन्छन्। यी ठाउँहरुकाे छुट्टै बिशेषता छ । काेरियाकाे सबैभन्दा आकर्षणकाे केन्द्र भनेकाे “लाेट्टे टावर ” र “सउल टावर” हुन् । आज हामी लाेट्टे टावर चढ्याैं जुन १ सय २३ तलाकाे छ । टावरकाे माथिल्लो तलाबाट फराकिलो सडकमा चम्किला कारहरु चिप्लेकाे, सडक छेउका फुटपाथमा युवायुवतीहरु हिडिरहेकाे, गाडीहरुमा यात्रीहरुले निधक्क सगँ यात्रा गरिरहेकाे देखिन्छ । कसैले कसैकाे बाटाे मिच्दैनन् । गाडीमा धक्कम धक्का, नारिप्रति दुर्ब्यवहार केही छैन् किनकि २, ३ मिनेटमा गाडीहरु आईरहन्छन् । खाली भएपनि शहर परिक्रमा गरिरहेका हुन्छन् । हाम्रो काठमाडौंमा किन  यात्रामा अव्यवस्थित ? लुछाचुड, तानातान, ठेलमठेल, नारिप्रति अमानवीय व्यवहार ? मलाई गृहबिरहले च्यापन थाल्छ।

बिदाकाे दाेस्राे दिन हामी “थेजन फादा ” (समुन्द्र) तिर लाग्यौं । सन्जाेक बस् पास्टर र म गाडीको एउटै सिटमा पर्छाैं । उनलाई अङ्ग्रेजी भाषा पनि आउने भएकाले यात्रामा रमाइलो हुनेभयाे भनेर म केही उत्साहित भएँ । थाहा भएकै कुराे हाे ! हामी नेपालमा डि:भि भरेर अमेरिका जाने सपना बुनेझै यिनीहरूले पनि देश बिदेश चाहार्दै हिँड्ने चाहाना गरेका हुन्छन् ! सके जान्छन् नसके गुगलबाटै भएपनि त्यहाँको बारेमा बुझेका हुन्छन् । यी पास्टरले पनि नेपालकाे बारेमा बुझेका रैछन् । म भएतिर हेर्दै उनले भने , “माधव तिम्रो देश साच्चै राम्रो छ ! माउन्ट एभरेष्टकाे देश ! बुद्ध जन्मेकाे देश ! जलस्रोतकाे दाेस्राे धनी देश ! म तिम्रो देश प्रति सारै आकर्षित छु ।” उनले फेरि थपे, “बिश्वकाे धनी देश अमेरिकाका केही मानिसहरु राेजगारका लागि चाईनामा छन् ! काेरियनहरु पनि अझै केही सङ्ख्यामा विदेशमा छन् । ” राेजगारका लागि विदेश जानू नराम्रो हाेईन तर नेपालीहरु यति धेरै मात्रामा विदेश जानुकाे मुख्य कारण के हाे ? मैले सहज रुपमा सरकारकाे समस्या भनिदिएँ । “नेपालमा काम गर्न सरकारले प्रतिबन्ध गरेकाे छ र ?” उनकाे गम्भीर प्रश्नले मेराे तिघ्रामा तिखाे सुईयाेले सुई राेपे जस्ताे भयाे । उनकाे देश पाे धनी छ, काम छ काम गरे अनुसार पैसा छ । मेराे देशमा त दश जनाकाे परिवारलाई नि एक्लैले काम गरेर पाल्नुपर्छ !

सरकारले काम गर्ने वातावरण नै सिर्जना गरेकाे छैन अब यसलाई प्रतिबन्ध नै त भन्नपर्ला नि ! मनमा यस्तै अनेक भाव उब्जिए तर उनलाई बुझाउने गरि कसरी भन्नू ? म नबाेलि बसें ! उनले फेरि थपे, “देश सक्षम हुनु भनेकाे जनता सक्षम हुनु हाे । जनता सक्षम हुनलाई नीति बनाउने राजनेता पनि सक्षम चाहियाे । नेतृत्व सक्षम छान्नका लागि यता फेरि जनता सक्षम र विवेकी हुन जरुरी भाे !” उनका कुरा आदर्श राजनीतिका लागि ठिक थिए तर मेराे देशमा त अलमल छ न राजनेता सक्षम न त जनता नै अब्बल ! एकैछिनमा हामी समुन्द्रमा पुग्छौं । म चाहिँ पाैडी खेल्दिन बरु त्यहाँको वातावरण अवलोकन गरि बस्छु। काेहि आफ्ना छाेराछाेरीसगँ रमाइरहेका छन्, काेहि जाेडीहरु एकान्तमा रमाइरहेका छन् ।

म चाहिँ समुन्द्रकाे दृश्य पछि बाहिर बजारतिर जान्छु । कति व्यस्त शहर पुरुष भन्दा महिला व्यस्त ! काेहि सरसमान त काेहीँ अाफ्नाे जवानी बेच्न व्यस्त ! म नजिकै काे पसलमा बियर पिउँदै रमिता हेरिरहन्छु । यहाँ अधिकार पनि कति किसिमका बालबालिका अधिकार, महिला अधिकार, पुरुषलाई त अधिकार चाहिँदैन क्या रे ! आफ्ना पशुलाई पनि अधिकार छ यहाँ । तर कस्ताे बिडम्बना “डाक्टरकाे घरमा बिरामी भनेझैं” यस्ताे विकसित देशमा पनि ती रेल स्टेसन छेउछाउमा बस्नेहरुकाे अधिकार खाेई ?

बिदाकाे तेस्रो दिन चर्चकाे “एवरल्यान्ड पार्क ” जाने याेजना रहेछ । म चाहिँ बिदाकाे दिन धेरै नभएकाले उनीहरुसगँ बिदा भएर नेपालीहरुकाे अत्याधिक भिड हुने शहर “सुवन” तिर लाग्छु । अचानक नेपाली रेष्टुरेन्टमा आत्मिय मित्रहरू भाेजराज, गगन, दिपेन्द्र, दिपक, सागर, प्रकाशसगँ भेट हुन्छ । त्यहि रेष्टुरेन्टमा नाचगान गर्दै रमाउँछाैं। एकैछिनमा हामी बाहिरतिर निस्किन्छाैं । कसैले भन्छ, “यी फुलहरु हेर्दाहेर्दै बिदाकाे समय बितेकाे पत्ताे हुन्न यार !” अर्काेले भन्छ, “ओए! धेैरै फुल नहेर यता जेब खाली उता भाउजूको गाली !” फेरि अर्केले प्रश्न गर्छ,” छुसक नजिकिँदै छ फेरि आउने हाेला नि ?” मेराे छेउमा हिडिरहेकाे सागरले मुस्कुराउँदै थप्छ,” फुल भएकाे ठाउँमा भमरा नआई मान्ला र !” म मनमनै हाँस्दै सबैकाे कुरा सुनिरहन्छु । यहाँको प्रशंसा याेग्य कुरा भनेकाे शान्ति सुरक्षा हाे । स्वदेशमा गाउँ त के शहर पनि सानाे बालककाे झैं साँझ पर्ने बितिक्कै बन्द भैहाल्छन् ।

काठमाडौंमा पनि ठमेल बाहेक अरु ठाउँ ८ बजेपछि चकमन्न हुन्छ । यहाँ १२ बजेसम्म त हामी पनि बरालिंदै हिडिरहेका छाैं । शान्ति सुरक्षाले नै भन्नू पर्छ यहाँ मध्यरातमा पनि महिला र युवती कन्याहरु आफ्नाे काम सकेर वा रमाइलो गरेर हिँडिरहेकाे हेर्न सकिन्छ । यहाँका युवतीहरुले पुरुषसगँ काँधमा काँध मिलाएर हामी कुनैपनि कुरामा पुरुष भन्दा कम छैनौं भनेर हिड्नु राम्रो हाे, तर नारिले पुरुष जस्तै बन्न पुरुषकाे लवाई, खुवाईकाे अनुकरण गर्नु पर्छ र ? वास्तवमा म त यिनीहरूकाे रुपमा कुनै साैन्दर्य पाउदिनँ ! ढलकमलक गरेर शरिरका विभिन्न अबेग हल्लाउँदै हिँड्नुमा के सुन्दरता ? मैले पढेकाे छु ।

हाम्रा पूर्विय साैन्दर्य शास्त्र अनुसार “सुरक्षणा सुन्दरी हिड्दा पानीमा राजअम्स हिडेकाे आभास  हुन्थ्यो” त्यस्तै हिँडाई सुन्दरी “एलिभिया”काे थियाे जस्काे हिँडाई देखेर सेक्सपियरले “Heaven wax on the earth ” लेखेका थिए । आजकालका युवतीहरुका हिँडाईले स्वर्ग त धर्तीमा ओर्लदैंन बरु धर्ती नै सारा हल्लिन थाल्छ । सेक्सपियरले देखेकाे भए कुन्नि के लेख्ने हाेला ! मैले याे भनिरहँदा केही आधुनिक नारिजातिलाई अपाच्य हाेला ! म विवाद नगरि के भन्न चाहान्छु भने, लालुपातेकाे सुरिलाे बाेटले खयरकाे बाेट किन हुनु !” मातृजाति भएकाले प्रकृतिले पुरुषमा भन्दा नारिमा माया, स्नेह, ममता, सहनसिलता, काेमलता, लज्जा बढि मात्रामा प्रदान गरेकाे छ । यहि मातृजातिकाे मायाले नै संसार अडिएकाे छ ।

बिदाकाे अन्तिम दिन बिहानै पास्टरले अब आउने “छुसक”मा जेजुदाे जाने याेजना छ भनेर खबर पठाएका छन् । कति पहिले याेजना बनाउँछन् यिनीहरू दुबै ७० नाघिसकेका छन् अझैपनि कति जाँगरिला ! हामी ६० काटेपछि मृत्युलाई पर्खेर बस्छाैं । हाम्राे सरकारपनि आफ्ना नागरिकलाई ६० काटेपछि काम गर्न सक्दैनन् भनेर ५८ मै अवकास दिन्छ । एकपटक काठमाडौं -सुर्खेत रात्रिबस छेउमा बसेका एकजना सज्जनसगँ कुरा भएकाे सम्झन्छु, उहाँले मेराे पानीकाे बाेत्तल देखाउँदै अलिकति पानी खान सकिन्छ? भन्दा मैले पानीकाे बाेतल उहाँलाई दिएँ । बाेतलबाट पानी घटघट पिएर तृप्त भएपछि नारायण नारायण भन्दै उहाँले आँखा बन्द गरेपछि मैले उहाँलाई साेधे, “तपाई बिरामी हुनुहुन्छ ?” हाेईन तर अब ६० लागिसकियाे भाइ उहाँले यसरी भन्नू भयो कि मानाै ६० लाग्नु कुनै पाप हाे । तर ६० त त्यति धेरै हाेईन मान्छे ८० हेर्छ नि  अाजभाेलि मैले भने ! हाेला उहाँले भन्नू भयाे तर अब धेरै बाँचेर पनि के गर्नु छ र ! दुबै छाेराहरु काठमाडौंमा सरकारी जागिरमा छन्, छाेरीहरुकाे पनि बिहे भैसक्याे । ज्वाईंहरु पनि राम्रो जागिरमा छन् । तिनवटा नातिनतिना पनि छन् अब अरु के चाहिन्छ र ? कालले लगेपनि केही छैन, उहाँले यति भनेर आँखा चिम्म गर्नुभाे ।

आफ्नाे ६० वर्षकाे उमेरसम्म पहिला आमाबुबाकाे चाहाना र त्यसपछि छाेराछाेरीकाे ईच्छा र आवश्यकताहरु पुरागर्दै बुढाकाे जिन्दगी गयाे । के कहिल्यै उनका व्यक्तिगत सपना, ईच्छा, आकाङ्क्षाहरु पूरा भए हाेलान् ? यहि हाे हामी आम नेपालीहरुकाे चाहाना छाेराकाे सरकारी जागिर, छाेरीकाे खान्तेपिन्ते परिवारमा बिहे अनि नातिनतिनाकाे बाेनस यति भएपछि ऊ धैर्यपुर्वक मृत्युकाे प्रतीक्षा गर्छ ।

मेराे मस्तिष्कले प्रश्न गर्छ, हरेक कुरामा सम्पन्न विकसित मुलुकमा हुँदापनि किन मेराे मनले उहीँ गरिब नेपालकाे सपना देखिरहन्छ हँ ? किन नदेखाेस् त यहाँ बिरामी पर्दा तँलाई के भयाे भनेर साेध्ने काेहि छैन्, चाडपर्व आउँदा जाउँ भने कतै ठाउँ छैन्, संगै बसेपनि साथीले नसाेधि कपाकप खादाँ आफुले घुटुक्क थुक निल्नुकाे बिकल्प छैन् अन्तरमनले जवाफ फर्काउँछ । यस्तै यस्तै मस्तिष्क र मनकाे अन्तरद्वन्द्वमा लटपट्टिदै कम्पनीमा पुग्छु । जब फलामका चाङहरु आँखाका दृश्यमा पर्छन अनि मन कस्ताे कस्ताे भएर आउँछ, लाग्छ म त साँच्चिकै काेरियामा पाे आईपुगेछु ।

माधव न्याैपाने

हाल दक्षिण काेरिया

 

 

प्रकाशित मितिः सोमवार, साउन २०, २०७६     5:00:38 PM  |

प्रतिक्रया दिनुहोस्