23 September 2019  |   सोमवार, अशोज ६, २०७६

प्रधानमन्त्रीज्यू, पासपोर्ट बोकेर विदेशीने र बाकसमा फर्किने दिनको अन्त्य कहिले हुन्छ ?

    | प्रकाशित मितिः आइतवार, भदौ १, २०७६  

सम्माननिय प्रधानमन्त्री ज्यू , नमस्कार 

कुनै समयमा महान वैज्ञानिक ‘थाेमस् एल्बा एडिसन’ले बिजुलीको बल्ब देखेर अहिले संसारलाई नै उज्यालो बनाउने विधुतकाे आविष्कार गरे, ‘राइट ब्राेदर’ले आकाशमा उडेकाे चरा देखेर हवाईजहाजकाे आविष्कार गरे, ‘एलेक्स जेन्डर ग्रामबेल’ले संसारलाई नै साँघुराे पार्ने टेलिफोनकाे आविष्कार गरे । पूर्व- पश्चिम रेल कुदाउने, सबैकाे घर-घरमा ग्याँसपाइप जाेड्ने, काेशीमा पानीजहाज चलाउने जस्ता सपना देख्नु अनावश्यक हाेईनन् । तर कुनै पनि सपना आफ्नाे क्षमता, दक्षता र आवश्यकता अनुसार देख्नु जरुरी छ । अहिलेकाे परिवेशमा नेपालीले सहज र सुलभ तरिकाले यात्रा गर्न पाउनु, भनेकाे बेला ग्याँस उपलब्ध हुनु, करिब सानाठूला गरेर ६०० भन्दाबढी रहेका खाेला-नालाबाट नेपालीलाई आवश्यक पर्ने विधुत उत्पादन गरेर लाेडसेडिङ निर्मुल पार्न सक्नु बढि उपलब्धिमुलक कार्य हाेला महाेदय !

धनवानकाे व्यापार, नङ्गाकाे भगवान् र भाेगकाे राजनीति हाे । तर हाम्राे देशमा जसले जति चलखेल गर्न सक्याे, जसले जति पैसा बाँड्न सक्याे, जसले जनतालाई धेरै भ्रम फैलाउन सक्याे उही नै राजनीतिकाे अग्रपंक्तिमा छ । विश्वकाे हरेक इतिहास कालखण्डमा महान राजनितिज्ञहरु जन्मिएका थिए र छन् । उनीहरूकाे याेगदान अतुलनीय छ । जस्तो कि ‘जर्ज वासिङ्टन’काे पहलमा अमेरिका सम्पन्न भाे, ‘दिङ सि वाङ्दि’काे नेतृत्वमा चीन महान भाे, ‘बिटुर द गेरेट’काे प्रयासले रसिया विश्वविशाल भाे, ‘पार्क चुङ ली’काे याेगदानमा दक्षिण काेरियाले छाेटाे समयमा विकासको छलाङ् मार्याे, ‘लिक वान यु’काे सहि रणनीति र कार्ययोजनाले सिङ्गापुर ३० बर्ष भित्र तेस्रो विश्वबाट पहिलाे विश्वमा उत्रियाे, ‘नेल्सन मन्डेला’काे तपस्याले अफ्रिकाको अँध्यारो हट्याे । दक्षिण अफ्रिका विश्वव्यापारकाे गन्तव्य बन्याे ।

नेपालले पनि धेरै राजनितिज्ञहरु जन्मायाे । सबैकाे विवादित नाम लिउँ वा नलिउँ तर पृथ्वीनारायण शाह देखि अहिलेसम्म धेरै राजनीतिज्ञहरु जन्मिएका छन् । कति मारिए कति काे टाइमिङ मिलेन भन्छन् । जस्ताे कि बिपी काेइराला र राजा महेन्द्र, मारिएकाकाे नाम लिँदा मदन भण्डारी ! अब देशले कहिले स्पष्ट कार्यनीति, नेतृत्व र समृद्ध देशकाे खाका तयार पारेर देशलाई विकासतिर अग्रसर गर्ने नेता पाउँछ प्रधानमन्त्री ज्यू ? हजुर प्रथम पटक प्रधानमन्त्री हुँदा भारतकाे नाकाबन्दीलाई प्रतिवाद गरेर चीनसगँ सम्झाैता गरिरहँदा नेपाली जनताले हजुरकाे गुनगान गाएकै हुन् । अब देशले सक्षम नेतृत्व गर्न नेता पायाे भनेर जनताले हाई-हाई गरेका हुन् । तर जुन हिसाबमा हजुरकाे प्रथम पटककाे हाई-हाई थियाे । त्याे हाई-हाई द्राेस्राे पटक प्रधानमन्त्री हुदाँ बाई-बाई मा परिणत हुन थालिसकेकाे छ ।

जनताले हजुरप्रति गरेका आशाहरु निराशामा परिवर्तन हुन थालिसकेका छन् । हजुरले चुनावकाे बेला गरेका प्रतिज्ञा, बाचा र कबुलहरु जनताले हाँस्यास्पद उखानटुक्का का रुपमा लिन थालिसकेका छन् । नेपालकाे इतिहासमा अहिलेकाे याे बामपंथी दुई तिहाइ सरकार सबैभन्दा शक्तिशाली सरकार हाे । विद्यादेवी भण्डारी राष्ट्रपति, केपी शर्मा ओलि प्रधानमन्त्री, रामबहादुर थापा(बादल) गृहमन्त्री, गभर्नर डा. युवराज खतिवडा अर्थमन्त्री, प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री, गाेकर्ण बिष्ट श्रम तथा राेजगार मन्त्री हुदाँ देशले विकासकाे गति लिन सकेन भने नेपाली जनताले कस्काे नेतृत्व हुदाँ र कहिले विकासकाे अपेक्षा गर्ने महाेदय ?

 पुँजीवादले ढ्याप्पै ढाकेकाे समाज भनाैं वा राेजगारकाे अभाव भनाैं देशमा केहि सिप नलागेपछि म अहिले राेजगारकाे सिलसिलामा दक्षिण काेरियामा छु । म त एउटा प्रतिनिधि पात्र मात्र हाे । ६० लाख भन्दाबढी युवायुवतीहरु प्रवासी हुन बाध्य छन् । म हजुरलाई एउटा सानाे सम्वाद सुनाउन चाहान्छु । आजभन्दा केहिदिन अघि गाउँकै एकजना साथीसँग मेराे भेट भयाे । उसले भन्याे, “खै किन किन छाेरी जन्मेपछि हिजाेआज मलाई त घर जाऊँ जाऊँ जस्तै भकाे छ । काममा मन नि जादैन यार ! फेरि घर जाऊँ भनेपनि राेजगार छैन । नजाऊँ भने छाेरीकाे कलिलो आँखाले बाबु खाेजिरहेकाे छ । बाबाअामाकाे याद नि साह्रै आउँछ फेरि उनी नि उता एक्लै एक्लै म नि यता एक्लै एक्लै ।” याे साथीका मनका व्यथा वास्तवमा सबै परदेशी युवाका व्यथा हुन् । भिडियाे कल  गरेर चित्त बुझाउँदै आफ्ना छाेराछाेरी हुर्केको हेर्नुपर्ने पीडा धेरै परदेशीहरुकाे छ । छुट्टीमा घर जादाँ सानी छाेरीले आफुलाई अंकल भनेर बाेलाउदा परदेशीलाई कस्ताे हुन्छ हाेला ? पासपोर्ट च्यातेर मिल्काउँदै छाेरीलाई छातीमा च्याप्दै छाेरी म तिम्रो अंकल हाेईन बाबू हाे भन्न मन लाग्छ हाेला । तर के गर्नु हामी त्याे जाबाे कागज च्यात्न सक्दैनौं । एउटा युवक आँखाभरी रहर बाेकेर परदेश पुग्छ अनि तिनै आँखाभरी आँशु र मनभरि यादहरु बाेकेर बाँचिरहन्छ । कसैका रहरहरु पूरा हुन्छन् त कसैका अधुरा ! काेहि बाकसमा रहर पुरा गर्ने धन बाेकेर फर्किन्छन् त काेहि बाकसमा आफ्नै जीन्दगी बन्द गरेर फर्किन्छन् । दैनिक तीन चार जना नेपालीहरु परदेशबाट बन्द बाकसमा फर्किन्छन् ।

बन्द ठुलाे बाकसमा !!

फर्कियाे उड्दै आकाशमा !

अन्धकार भयाे गाउँघर !!   

दियाे निभ्दा प्रवासमा

उसलाई हेर्दै पर्खेकाे बाटाे रुन्छ कि रुँदैन् ?

एउटा परदेशी मर्दा माटाे रुन्छ कि रुँदैन ?

म जस्ताे युवाले आफ्नाे देशकाे स्थायी परराष्ट्रनीति नभएकाेमा धेरै चिन्ता गरिन ! देशकाे आफ्नाे राष्ट्रिय सुरक्षानीति नभएकाेमा कुनै चिन्ता गरिन ! याे देशकाे राष्ट्रिय दिन (National day) परिचान नभएकोमा चिन्ता गरिन ! याे देशकाे राष्ट्रिय पाेसाक के हाे ? राष्ट्रिय खाना के हाे ? राष्ट्रिय खेल के हाे ? राष्ट्रिय चरा के हाे ? भनेर मैले चिन्ता गरिन भने चिन्ता कसले गर्छ ??? अनि पासपोर्ट बाेकेर काे बाहिर जान्छ ??

याे मेराे पुस्ताकाे चलन हाे । याे मेराे पुस्ताकाे पीडा हाे । याे मेराे पुस्ताकाे आक्राेश हाे । याे मेराे पुस्ताकाे आँशु हाे र तपाईंप्रति शब्दको ज्वाला पनि हाे । हामीले सधैं यसैगरी शब्दहरुकाे आक्राेशहरु पाेखेर याे देशकाे विकास हुन्छ भन्न छाडिसकेका छाैँ किनकि याे देशकाे उच्च ओहदामा रहेर नेतृत्व गर्नेहरुसँग देश विकास गर्ने मानसिकता छैन, संकल्प छैन, देशकाे प्रेम छैन । हामी त्यस्ताे राष्ट्रियताकाे पुजा गरिरहेका छाैँ जहाँँ जनता बिनाकारण मारिएका छन्, फसाईएका छन् । पैसा र राजनीतिक शक्तिकाे आडमा बलियाले निर्धालाई दबाएका छन् । व्यक्तिकाे शासन छ, सक्नेले मनपरितन्त्र गरिरहेका छन् । एक घन्टाकाे सम्बाेधनमा नरेन्द्र माेदीले संसदमा भाषण गरेर हामीलाई सम्झाउनुपर्छ हाम्रो राष्ट्रियता ! जुम्लामा जडिबुटी छ, मुस्ताङमा स्याऊ छ, पाेखरा पर्यटन का लागि आकर्षक गन्तव्य बन्न सक्छ । अझ उनले दिएकाे थ्योरि पनि छ HIT ( Hydro – information Technology) याे सबै उनकाे आवाजकाे घनले हाम्राे कानमा ठाेकेपछि हामीलाई आफ्नाे देशकाे धेरै माया लागेर आउँछ अनि हामी संसदमा क्या गड-गडले ताली बजाउँछाैं कसै कसैले त टेबुलपनि ठटाउँछाैं ।

वा राष्ट्रियता ! वा स्वाभिमान !

धन्यवाद !

– माधब न्याैपाने
दक्षिण काेरिया 

प्रकाशित मितिः आइतवार, भदौ १, २०७६     2:45:18 PM  |

प्रतिक्रया दिनुहोस्