14 October 2019  |   सोमवार, अशोज २७, २०७६

सरकार कुन खुशीमा मनाउँ गणतन्त्र दिवस ?

    | प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६  

खगिन्द्रराज पौडेल
देश र जनताप्रतिको उत्तरदायित्व युक्त सरकारको कल्पनामा नेपाली जनता सदियौं देखि तड्पिरहेकाछन् । छान्दा छान्दा कोही त मिल्छ की मलेशियाको मोहम्मद महाथिर जस्तो, कोही त मिल्छ की सिंगापुरको ली क्वान जस्तो भनेर ।,तर खै यहाँ त जति नेता फेरिएपनि जति ब्यबस्था फेरिएपनि झन् झन् कमजोर बनिरहेछ राष्ट्रियता, झन्झन् उकुस मुकुस भइरहेका देखिन्छन् नेपाली जनता । हिसाब ग-यो ग-यो हात लाग्यौ शुन्य भने झैं हालत भइरहेछ नेपाली जनतालाई ।

केही त राम्रो महशुस होस्, केही त राहतको र परिबर्तनको प्रत्याभुति गर्न पाइयोस् भन्ने नेपाली जनताको चाहनामा संधै ग्रहण लागिरहेको छ । जो आएपनि लुटेरै जान्छ भन्ने आभाष भइरहेको प्रष्ट देखिन्छ नेपाली जनतामा ।

देशले राजनेता नपाएकै हो यसमा दुईमत कसैमा पनि छैन ,तर यसो भनिरहंदा बिकल्प पनि भेटेका छैनन् नेपाली जनताले यसको । देशको स्थायी संरक्षकको भुमिकामा त राजसंस्थालाई स्विकार गर्न तैयार भैसकेका देखिएकाछन् नेपाली जनता ।,तर राजनेताको आबश्यकता पुरा गर्ने नत कुनै राजनीतिक दलका नेता देखेकाछन् नत स्वतन्त्र ब्यक्ति नै । यसो भनिरंहदा कतिपय राजनीतिक नेतृत्वमा रहेका नेताहरुलाई चित्त दुख्ला तर पनि यो हाम्रो नेपाल र नेपालीको दुर्भाग्य हो की यहाँ त जनताले खोजेजस्ता राजनेता छैनन् ।

के को खुशीमा मनाउँ गणतन्त्र दिवस आफैं भनिदेउन सरकार ! एउटा राजा फालेउ भनेर गर्व गर्छौ तर किन भैरहेको छ मातृभूमीकै बलात्कार ??

देशमा अथाह रोजगारी र बिकासका संभावनाहरु छन् तर पनि सम्पुर्ण युवा बिदेशिनु परेको छ । यो विकराल स्थिति किन आइलाग्यो ? यसको समाधान र विकल्प खोज्नतर्फ लाग्दैन सरकार । स्वदेशमा रोजगारी श्रृजना गर्नु भन्दा युवा बिदेश पठाउन श्रम संम्झौता गर्न क्रियाशिल छ सरकार । जल विधुत, पर्यटन, सस्तो श्रमिक देशमा छंदाछंदै पनि उधोग धन्दा, आत्मनिर्भताका लागि स्वदेशका लागि मात्र भएपनि आत्मनिर्भर हुनसक्ने उधोगहरु खोल्ने मानसिकतामा समेत सरकार नदेखिंदा यो ब्यबस्था र राजनीतिक पद्दति माथि नै जनविश्वास गुमिसकेको देखिएको छ ।

संधै परनिर्भर, बिदेशमा बेचेको पसिनाबाट घरपरिवार र सरकार पाल्नुपर्ने बिवशता, संधै तरकारी देखि खाधान्नसम्म बिदेशबाट आयात गर्नुपर्ने चरम परनिर्भरताका कारण देश दिनानुदिन कंगाल भइरहेको छ । देशको बजेटभन्दा बढी बैदेशिक ऋण लिएको देख्दा देशका नेताको नालायकपन र अदुरदर्शिता छर्लंङ् हुन्छ । उसो त विदेशमा श्रमका लागि बेचिएका गरिवका छोराछोरीले पठाएको रेमिट्यान्स मात्रै देशको कुल बजेको एक तिहाई बेसी देखिन्छ,यसको हिसाब किताब नाफा नोक्सान हेर्दैन सरकार ।

अर्कोतिर देशमा न्युनतम शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि पनि संधै अभावमा रहनुपर्ने बिडम्बना अति नै पिडादायी छ ।एकातिर लोकतन्त्र अर्कोतिर लुटतन्त्रको कहालीलाग्दो अबस्थामा देश बाचिरहेको छ । लोकतन्त्रका नाममा जनता झुक्काउने सर्बाहारा वर्गको मुक्तिकामी माफीयाको चतुर्‍याइँ धन्दा गज्जवले चलेको देखिन्छ । देशमा नेता र जनता बीचको खाडल झनै गहिरो बन्दै जानु कतै गृहयुद्घमा त देश फस्ने हैन भन्ने त्रासले जनतामा निराशा ह्वात्तै बढेको देखिएको छ ।

भ्रष्टाचारको पारोले सिमा नाघेको सरकार आफैं स्विकार गर्छ तर भ्रष्टाचारीलाई कार्यवाहीको कुरा गर्दा कार्यलय नै खाली हुने डरले कार्वाही गर्न सकिएन भनेर अक्तियारले नै कार्वाही गर्दैन, कति लाजमर्दो अबस्था छ ? सरकारले आशालाग्दो काम गर्न नसकेको सरकार प्रमुखहरु नै स्विकार गर्छन् तर भ्रष्टाचारको विरोध गरेर सरकारलाई नै सहयोग गर्ने अभियान्ता माथि बर्बर दमन गर्न सरकार र त्यसका भातृ संगठन नै खुल्लेयाम चुनौती दिएर लाग्नु कति लाजमर्दो कार्य हो, यो ।

विविधता भित्रको एकतामा रहेका नेपाली जनतालाई फुटाएर राज गर्नका लागि संघियता, धर्म निरपेक्षता, जातीय क्षेत्रिय बिचलन ल्याउनु कति दुःखद छ,कति सुखद भयो ? त्यो अब समयले अवस्य बताउला । आरक्षणका नाममा जनतालाई दोस्रो दर्जाको नागरिक बनाउनु कति न्यायपुर्ण हो ? सरकार ,यसको जवाफ कोले दिने ? देश र जनताले चाहेको विकास र संबृद्धिलाई निराशामा परिणत गर्न सरकार स्वयंम नै लागि पर्नु कति लाजमर्दो छ ।

राजसंस्थालाई बिना एजेण्डा हटाएर धर्म निरपेक्षता र संघियता रातारात ल्याउनुलाई सबै नेपालीहरुले यो नेपाललाई सिक्किमिकरण गर्ने प्रपञ्च थियो भनेर बुझिसकेका छन् र त्यही सिक्किमिकरण गर्ने मनसायबाट बिदेशीको रिमोटमा चलेको सरकार र गणतन्त्र दुबै राज्यद्रोही हुन् भनेर जनताले महशुस गरिसकेकाछन् । तर पनि बैकल्पिक शक्ति र नेतृत्वको अभावमा नेपाली जनता अल्मलिएको अबस्था हो हालको । त्यसैले कसैले आशालाग्दो काम गरेको देखियो, सुनियो भने त्यसलाई साथ दिनुपर्छ भन्ने भावका एक उदाहरण हुन् रवि लामिछाने ।

त्यसैले अब धेरैले त बुझेर महशुस गरिसकेकाछन् र थोरै बुझ्न बाँकी नेपालीले पनि बास्तबिकतालाई मनन गर्न जरुरी छ । यो पनि बुझ्न आवस्यक छ ,की नेपालको रक्षाका लागि राजा र जनता एक भएर बिदेशीलाई सहयोग गर्नका लागि ल्याईएको गणतन्त्र र गणतान्त्रिक सरकारलाई जरैदेखि फालेर राष्ट्रिय स्वाधिनताको रक्षाका लागि राजालाई संरक्षकको भुमिकामा स्थापित गर्न अपरिहार्य देखिन्छ । अब निकास जनताले नै खोज्ने हो र जनताद्वारा प्रजातान्त्रिक पद्दतीबाट शासन संञ्चालन गर्न नागरिक सरकार गठन गरी देशको स्बाधिनताको रक्षा गर्नु पहिलो जिम्मेवारी हो । त्यसैले गणतन्त्र दिवस मनाउनु भन्दा गणतन्त्र सिध्याउन सकेमात्र देश रहन्छ, त्यसैले अन्तमा सबैले मनन गरौं ” नेपाली हामी रहौंला कहाँ नेपालै नरहे” !!

प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६     6:24:33 AM  |

One Comment

प्रतिक्रया दिनुहोस्