20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

दुनियाँ रुवाउने रेशम चौधरीको कविताः वाह ! क्या जाती हुन्थ्यो !

    | प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६  

कविताः वाह ! क्या जाती हुन्थ्यो !

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए
क्या जाती हुन्थ्यो।
अनि संसारमा सबै नेपालीको शिर
क्या माथि हुन्थ्यो ।
धेरै वर्षपछि बन्यो संविधान
संविधानको हरपलहरूमा
हाम्रो पनि अधिकार मिसिए
क्या जाती हुन्थ्यो ।
अनि बल्ल तिम्रो विजय जुलुसको हलरमा
चारवर्ण छत्तिस जातको
क्या ताँती हुन्थ्यो ।

सारा संसार हाम्रो खुशी देखेर दंग पर्थे
अरे वा ! संसार सामू हाम्रो शिर
क्या माथि हुन्थ्यो ।
के नै मागेका थियौं र हामीले
अरूलाई जस्तै हामीलाई पनि
थोरै दिए पुग्थ्यो
अलि कति तिमी झुक्थ्यौं
अलिकति हामी झुक्थ्यौं
दुबै झुके झुक्नेमाथिको आकास
कत्ति माथि हुन्थ्थो ?
संविधान बनेको खुशीमा हामी पनि मुस्कुराउन पाए
वा ! क्या जाती हुन्थ्यो ?
अनि
न त नारा जुलुस हुन्थ्यो
न त कुटाकु हुन्थ्यो
न त कालो दिवस मनाउथ्यौं
न त झ्यापझुप बत्ति निभाउथ्यौं
सबै उज्यालोमा सजिन पाए
एकै अङ्गालोमा बाँधिन पाए
वाह ! हाम्रो शिर क्या माथि हुन्थ्यो

अहिले त तिमीले एक्लै खुशीयाली मनाउँदैछौ
तिमी एक्लै हाँसे
तिमी एक्लै नाचे
तिम्रो नाँच हेर्ने रमिते नै नभए
तिमी खल्लो कि आँगन खुल्लो ?
खल्लो आँगनमा वल्लो पल्लो मिसिन पाए
वाह ! क्या जाती हुन्थ्यो

तर, तिम्रो अहमताले साझा खुशीमा हामी
ताली पड्काउँन पनि पाएनौं
कम्मर मर्काउँन पाएनौं
दीवावली गर्न पनि पाएनौं
तिमीले जस्तो सोँचे पनि हामीलाई अझै आशा छ
तिमीसँगै नाँच्न पाए
बारूले कम्मर भाँच्न पाए
अझैं क्या जाती हुन्थ्यो ।

हाम्रो खुशीमा आरिस गर्नेहरू अझै जल्थे
अनि सम्झ त !
हाम्रो शिर कत्ति माथि हुन्थ्यो ?
हामीलाई कति दुःख लागेको छ
तिम्रो भोजमा हामी सामेल हुन सकेनौं
तिमी पल्लो घरमा भतेर गर्दैछौ
हामी वल्लो घरे छिमिकीहरू
भतेरको वासना सुघ्दैछौं।
तिम्रो त एक्लै खाने ऐतिहासिक बानी छ क्यारे

आउ
अघाउञ्जेल खाउ
तर, थाहा पाइराख
धेरै खाए विरामी होउलाउ
डाक्टर सापको अस्पताल अन्यौलमा छ
अन्ततः
थारु गुरूवाले तिम्रो आछत हेर्नैपर्छ
दवाई पानी गर्नेपर्छ
अनि वाध्य भएर लज्जित भई तिमीले
हामी थारू गुरूवालाई अंगालो मार्नै पर्छ
त्यसैले
संविधान जारी गर्यौं, हाम्रो बधाई छ
यत्रो ऐतिहासिक संविधानलाई
हामी पनि जलाउन्नौं
बरू पढ्छौं
हाम्रो पनि कँहीकतै
अधिकार उल्लेख छ कि ?

त्यसैले
आफूआफू मिलेको मिलन पो कत्ति जाती हुन्थ्यो ?
अरे वाह! सबैको सहमतिमा जारी गरेको संविधान
संसारमा क्या माथि हुन्थ्यो
खैर तिम्रो खुशीमा हामी पनि हाँस्न पाए
क्या जाती हुन्थ्यो ।
अनि संसार सामु हामी सबै नेपालीको शिर
क्या माथि हुन्थ्यो।

(नोट-रेशल चौधरीको पुस्तक ‘चिरफार’ बाट साभार गरिएको हो )

प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६     3:55:49 PM  |

प्रतिक्रया दिनुहोस्