8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

गणतन्त्रका नव सामन्तवादीहरु देश सिध्याउने भाइरस हुन !

    | प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६  

खगिन्द्र राज पौडेल
गलत प्रचार र गलत प्रयासहरु अन्नत: विफल हुन्छन् । देशभक्ति र सत्यतालाई परास्त गर्न सकिंदैन भन्ने प्रमाणित हुंदै आएको छ । विदेशी बिस्तारबादीहरुलाई सहयोग गर्दै देशलाई उपनिवेश बनाउने मूल उद्देश्यका साथ स्थापना गरिएको गणतन्त्रलाई अब राजा ज्ञानेन्द्र र नेपाली जनताको स्वाभिमानी कदमहरुले पछाडी धकेलिदिएको महशुस हुन थालेको छ। दरवार हत्याकाण्ड गरेर राजा ज्ञानेन्द्रलाई दोष थुपारेपछि राजाले देश छोडेर कुनै देशमा शरणार्थी बनेर जीवन गुजारा गर्नेछन् र हाम्रो मनोमानी चलाएर देश सुम्पन सकिनेछ भन्ने अवधारणालाई राजाले असफल बनाइ दिएका छन्। शुरुमा त राजाले राजसत्ता सरक्क छोडेको देखेर सफल भयौं भन्ने बिश्वासमा रहेका गणतन्त्रवादीहरुलाई राजा ज्ञानेन्द्रको देश नछोड्ने र नेपाली जनता सरह भएर बस्ने निर्णयले असफल बनाई दिएको मान्न सकिन्छ ।

समय अति जटिल बन्दै गैरहेको छ, देश बिखण्डनको संघारमा छ । देश बचाउनका लागि दलहरुबाट संभव नहुने र यसका लागि राजसंस्थाको अपरिहार्यताको महशुस सबै दलहरु लगायतका राष्ट्रवादीहरुले गरिरहेका छन् ।,तर पनि स्पष्ट रुपमा अखण्ड हिन्दु अधिराज्य नेपाल भनेर बोल्न नसक्ने दलहरु र राष्ट्रवादीहरुकै कारण देश ईतिहांसमा मात्र सिमित हुने संघारमा पुगेको छ । को धेरै राष्ट्रघाती ऊ नै अब्बल दर्जाको नेता मानिने परिपाटीको बिकास गर्ने उन्नत जातको गणतन्त्रका कारण छिमेकीको दृष्टि गिद्दे देखिनु स्वाभाविक हो ।

आन्तरिक मत भिन्नता र पद प्राप्तिका लागि जस्तो जस्तोसुकै राष्ट्रघात पनि गर्न सक्नेलाई नेता बनाईने प्रचलनले राष्ट्र नै निल्न सकिन्छ भनेर छिमेकीहरुले सपना देख्नुलाई अचम्म मान्नु पर्दैन,जसको पछिल्लो उदाहरणको रुपमा लिपुलेक, कालापानी र लिम्पुयाधुरालाई आधिकारीक कब्जा ग-यौं हुति भए देखा भन्ने साहस भारतीयमा पलाउनुमा यो उन्नत जातको गणतन्त्र जिम्मेवार छ । बिचित्र राजनैतिक द्वैद चरित्रहरुका कारण अब देशले स्वतन्त्र अस्तित्वको रक्षात्मक बाटो लिन सक्ला की नसक्ला भन्ने प्रश्न झन् झन् जटिल बन्दै गैरहेको छ । दुईतिहाईको सरकारको संधैको रुवाबासी के का लागि हो प्रष्ट हुन सकेको छैन । हामी असक्षम भैसकेका छौं भन्न पनि नसक्ने र हामीलाई काम गर्न दिएनन् र कमजोर पारियो भन्दै संधै रुवाबासी गर्नुको कारण अब सरकारले जनतालाई दिन सक्नुपर्छ ।

देशको कठिन परिस्थितीबाट म देशलाई निकास दिन र नेतृत्व लिन तैयार छु भनेर राजाबाट हुकुम भएको बर्ष दिन ब्यतित भैसकेको छ तर दुईतिहाईको सरकार संधै बिदेशीलाई पुजन गर्दै काम गर्ने बातावरण बनेन भन्दै देशलाई गुलामी बनाउन उद्दत देखिएको छ । सहमती र सहकार्य त आन्तरिक शक्तिमा हुनुपर्दछ यदि देशकै बिषयमा सोच्ने हो भने तर त्यसो नभएर बिदेशी एजेन्डा ल्याएर देशलाई तहसनहस पार्नकै लागि खेलिएको खेलमा जनता भ्रमित पार्ने काम किन भैरहेको छ ।

राजाको देश भक्तिका कारण र गणतन्त्रबादीका राष्ट्रघाति  कदमका कारण नेपाली जनतालाई पनि यो देश माथिको नियोजित षडयन्त्र रहेछ भन्ने बुझ्न गाह्रो परेन। देश माथिको नेताहरुको गिद्देदृष्टि बुझ्न थालिसकेपछी सबै पार्टी भित्रका राष्ट्रवादी ब्यक्तित्वहरुबाट पनि देश जोगाउने कदममा देखिएको हालको साथ र सहयोगी भुमिकाले देश अब औपनिवेशिक मानसिकता बोकेका गणतन्त्रवादी गद्दारहरुबाट मुक्ति पाउनेछ भनेर आश गर्न सकिने अबस्था श्रृजना भएको देख्न सकिन्छ।

देशलाई साथ दिन छोडेर देशद्रोहीलाई साथ दिन हुन्न र कुनै पनि हालतमा देशको स्वाभिमान बचाउनु पर्छ भन्ने चर्चा देशभरी नै टट्कारो भएर उठ्न थालेको छ ,यसलाई एउटा बिषम परिस्थितीबाट देशलाई बचाउने सकारात्मक ऊर्जाका रुपमा लिन सकिन्छ। धर्म छोडेपछि ,नाम फेरेपछि देश टुक्र्याएपछी देश आफैं बिकसित हुन्छ भन्दै बिदेशीको एजेन्डा लागु गर्ने मानसिकतालाई नेपाली जनताले अहिले गलत सिद्ध गर्न थालिसकेका छन् । भाइभाइ फुटाएर, जाती, धर्म र नाम मेटाएर उपनिवेश बनाउन उद्दतहरुलाई जनताले नंग्याउन थालिसकेका छन्। सामाजिक रुपान्तरणका नाममा जन्मिएका नवसामन्तहरुलाई चिन्न लामै समय लगाएपनि उनीहरुको अन्तिम लक्ष्यसम्म पुग्न अब नेपाली जनताले दिने छैनन् भन्ने स्वरहरु मात्र सुनिनु आजको सुखद पक्ष हो। काम नगर्ने र सपना मात्र बाँड्नेहरु अत्तालिन थालेका छन् ।

देशलाई माग्ने बनाएर संधै गुलामीको चंगुलमा फसाउनका लागि अझै पनि प्रयास भैरहेको छ र जति सकिन्छ देशलाई ऋणमा डुबाएर आफु मौज गर्नका लागि कचौरा बोकाएर बिभिन्न देशमा पठाउने कार्यहरु झन् तिब्र रुपले बढेको छ। देशमा रहेका रोजगारीमुलक उधोगको स्थापना र बिकास गर्नुको सट्टा भएका सबै उधोगहरु धमाधम बन्द गराएर बिदेशसंगै परजीवी राखिरहने रणनीति दिनानुदिन बढ्नुले नेपालीहरुमा सरकार प्रति निराशा बढ्नु स्वभाविक नै हो । आफ्ना आफन्त र आफ्नो पार्टी भन्दा माथि उठेर देशको प्रतिनिधी हुं म भन्ने भावनाको बिकास सरकारको नेतृत्व गर्नेहरुमा महशुस भएको देखिंदैन ।

देश विकास भन्दा पनि पार्टी विकासमा लागिरहनेले देशलाई कसरी संम्बृद्घ बनाउलान् भन्ने प्रश्न जनतामा उठ्नु अस्वभाविक मान्न सकिंदैन । देश टुक्रिने संघारमा पुगेको बेला बिकासका हावा भन्दा सबै राष्ट्रिय शक्ति बीच मेलमिलापको निती तैयार गरेर देशको अस्थित्व रक्षा गर्ने क्षेत्रमा सरकारबाट कुनै किसिमका कदमहरु चालेको नदेखिनु यो सरकारको पुर्व नियोजित देश सिध्याउने खेल त हैन भन्ने जनताले महशुस गर्न थालेका छन् । सेना बिगठनका कुराहरुको चर्चा चल्नु, देश बिखण्डनको नारा बोकेर हिडेका सिके रावत जस्ता समुहलाई कार्वाही गर्न नचाहनुलाई सामान्य हिसाबले बुझ्नु भोलीका दिनका लागि दुर्भाग्य पुर्ण हुनेछ ।

राष्ट्रिय एकतामा संधै जोड दिने राजसंस्थासंग एकता गर्न हिच्किचाउने र संधै बिदेशीको ईशारा र बिदेशीसंग एकता गर्ने प्रवृतिका कारण श्रृजना भएको समस्याको बास्तविकाता बोधसम्म जनतासम्म पुग्ला भनेर ढाकछोप गरिरहने सरकारको नाङ्गो नाच कति समयसम्म जनताले हेरिरहने हुन् त्यो त समयले नै देखाउला । तर जुन ढंगले दुईतिहाईको सरकार प्रस्तुत भैरहेको छ त्यसमा नेपाली जनता सन्तुष्ट भने पक्कै छैनन् ।अब राजसंस्थासंग एकता गरेर दलहरु अगाडी नबढे भोली नेपाल खण्डित हुनेछ , यसको सबै जिम्मेवारी बर्तमान सरकारले लिनुपर्ने छ । यदि बर्तमान सरकारमा राष्ट्र र जनताप्रति थोरै मात्र पनि जिम्मेवारी छ भने राजसंस्था पुनस्थापना गरेर देश बचाउनका लागि अगाडी बढ्नुको बिकल्प छैन !

प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६     12:23:38 PM  |

प्रतिक्रया दिनुहोस्