24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

तसर्थ म आम मान्छे भन्दा फरक हैन – भोजराज घोडासैनी

    | प्रकाशित मितिः आइतवार, पुस १३, २०७६  

 

बाँकी समय सोचे जस्तो होला नहोला। अहिले सम्म जे गरें गिरेर गरेको छैन हुँला लाग्छ। यो मलाई लागेको हो मेरो बारेमा तपाईंको पनि यस्तै धारण हुनुपर्छ भन्ने छैन। जे गरिन्छ अक्सर आफ्ना लागि गर्ने हो। पहिला आफुलाई खुसी बनाउने हो। त्यसपछि अरुको खुशी खोज्ने हो, सोच्ने हो। म पनि आम मान्छे जस्तै हुँ। गौतम बुद्ध जस्तो बनेर अरुको दुख बुझ्न राजकाज छोडेर जोगि बन्न सक्दैन। मैले यसो भन्दा तपाईंको नजरमा म स्वार्थी अर्थात मतलबी हुन सक्छु। त्यो म जरुर हुँ। मैले भने अरुले नभनेका मात्रै हुन्। आम मान्छे यस्तै हुन्छन्। एकाध फरक होलान् म त्यसमा पर्दैन।

म सामाजिक मान्छे, मेरो जिन्दगी अरुका लागि सकियो। मैले यति वर्ष यस्तो गरें। अर्थात मैले यसो नगरेको भए यस्तो हुने थियो भनेर जसले आफुलाई बहुत भद्र, ज्ञानी, बुद्धिजीवी ठान्छन् तिनीहरु पनि स्वार्थले त्यसो गरिरहेका छन्। आफू खुसी हुन त्यसो गरिरहेका छन्। यदि तिनलाई त्यो पेशामा सन्तुष्टि मिल्ने थिएन भने कुनै हालतमा त्यसो गर्ने थिएनन्।मलाई थाहा छ तपाईं मेरो यो भनाईसँग सहमत हुनुहुन्न। एकछिन आफुलाई नै नियाल्नुहोला। त्यसपछि मलाई बुझाउनु होला। यदि मैले गलत बुझेको रहेछु भने म सचिन्छु। पेशागत रुपमा गरिने कर्मको कुरा छोडौं। अहिले यसो भन्न छोड्दैन जे गरिन्छ आत्मसन्तुष्टिका लागी हो।

दुख, दर्द, हाँसो र मिलन जीवन चक्रको स्वाभाविक प्रकृया हो। यहि चक्रभित्र जिन्दगी बन्छ र भत्किन्छ।हामीलाई कति स्वाभाविक लाग्छन् त कति अस्वाभाविक। स्वाभाविक सबै हामीले सिर्जना गरौं अस्वाभाविक जति ईश्वरको देन हो भन्ने परम्परा छ। यो पनि नितान्त भ्रमबाट सिर्जित छ। जीवनमा केही यस्ता छैनन् कि तपाई हामीले सिर्जना गर्न सकौं। हामी माध्यम हौं रिमोट अर्कैको हातमा हुन्छ। यदि राम्रो जति हामीले नै सिर्जना गर्ने भए जीवनमा मृत्यु भन्दा डर लाग्दो अरु के छ। किन कुनै महापुरुषले आफुलाई त्यसबाट बचाएर अमर हुन सकेन?

सबथोक भ्रम हैनन् केही सत्य पनि छन्। सत्य के हो त्यो सिमित घेरामा सिमित हुन्छ। असत्य आम मान्छेको बुझाई बनेर बस्छ। जसका पछाडी तपाईं, म र अरु आममान्छे हुन्छौं। हाम्रो क्षमताले सत्य खोज्न सक्दैन। अरुले खोजी दियो भनेपनि बुझ्ने त झन् चान्सै भएन। यदि कसैले बुझाउनै खोजे पनि हामी बुझ्नै खोज्दैनौं। किन कि हामी आम बुझाई नै सत्य ठान्छौं कमजोरी यहिनेर छ। र मपनि त्यही कमजोरीको नाफामा जीवन चलाई रहेको छु। तसर्थ म आम मान्छे भन्दा फरक हैन।

भोजराज घोडासैनी

सुर्खेत

हाल दक्षिण कोरिया

प्रकाशित मितिः आइतवार, पुस १३, २०७६     6:22:37 PM  |

प्रतिक्रया दिनुहोस्