24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

सरकारले नेपालको नयाँ नक्सा तत्काल सार्बजनिक नगरे देशभर आन्दोलनको तयारी

    | प्रकाशित मितिः मङ्लबार, पुस २९, २०७६  

काठमाडौ । सीमा बचाऔ अभियानले सरकारले तत्काल नेपालको नयाँ नक्सा सार्बजनिक नगरे देशभर आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ । रिपोर्टस क्लब नेपालमा आज पत्रकार सम्मेलनको आयोजना गरि अभियानले यस्तो चेतावनी दिएको हो ।

कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले  सुस्तासहितको नेपालको नक्शा सार्वजनिक गरेको छ ।

नेपालको अतिक्रमित सम्पूर्ण भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्दै अभियानले सरकारसँग आधिकारिक नक्शा सार्वजनिक गर्न माग गरेको हो। अभियानले नयाँ नक्शालाई देशव्यापी बनाउने जानकारी पनि दिएको छ ।

तत्काल प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर नक्शा हस्तान्तरण गरी कुटनीतिक पहलबाट समस्या समाधान गर्न अनुरोध गर्ने निर्णय समेत सीमा बचाऔं अभियानले गरेको छ ।

सार्वजनिक गरिएको नक्शालाई विश्वविद्यालय र विद्यालयका विद्यार्थीहरुका माझ वितरण गरिने अभियानले जनाएको छ ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्शा जारी गर्न माग गरे ।उनले सरकारले नक्शा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने चेतावनी दिए ।

पत्रकार सम्मेलनमा पूर्व सचिव द्धारिका ढुंगेलले सरकारसंग तत्काल अतिक्रमित भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्न माग गरे । नागरिक स्तरबाट जारी गरेको नक्शा सरकारका मन्त्रीहरु सामु प्रस्तुत गरेर सार्वजनिक गर्न माग समेत गरिसकेको उनको भनाइ छ । उनले नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्शा सार्वजनिक नभएको आरोप लगाए । परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई अहिलेसम्म सरकारले प्रकाशित नगरेकोमा ढुंगेलले आपत्ति समेत जनाए ।

कार्यक्रममा प्रा.डा नरेन्द्र खनालले अभियानले जारी गरेको नक्शा सरकारले सार्वजनिक गर्नुपर्ने बताए । नेपाल र भारतबीचको सीमानामा रहेको सुस्ता ठूलो क्षेत्रफलको रहेको र मेची क्षेत्रको सीमा विवादमा भारतले मानी सकेको पनि उनको भनाइ थियो । तर सुदरपश्चिम क्षेत्रमा भने सीमा विवाद अझै मिलिनसकेको खनालले बताए ।

प्रकाशित मितिः मङ्लबार, पुस २९, २०७६     5:34:28 PM  |

प्रतिक्रया दिनुहोस्