28 March 2020  |   शनिबार, चैत्र १५, २०७६

१८ देशमा कोरोना भाइरसको संक्रमण,विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

    | प्रकाशित मितिः शुक्रबार, माघ १७, २०७६  

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ। कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो। जनवरी ३० तारिक विहीबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस चीनमा मात्र नभई संसारभर फैलिएका कारण आपतकाल घोषणा गर्नु परेको उल्लेख गरेको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा बसेको विश्व स्वास्थ्य संगठनको बैठकमा सो भाइरस चीनबाहिर पनि फैलादो क्रममा देखिएकोबारे चासो व्यक्त गर्दै संसारभरको मानव स्वास्थ्यमा नयां चुनौति आएकोबारे छलफल भएको थियो । सो संगठनका अनुसार, चीनवाहिर १८ देशमा ८२ वटा संक्रमणका केसहरु देखिइसकेको छ ।

मान्छेबाट मान्छेमै सो भाइरस सरेका ३ वटा घटनाहरु चीनवाहिरका तीनवटा देशमा प्रमाणित भएको पनि सो संगठनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । तीन संक्रमणमध्ये एउटा केस गम्भीर देखिएको तर चीनवाहिर यो भाइरसका कारण मृत्यु भएको विवरण भने प्राप्त नभएको संगठनले जनाएको छ । विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्ने भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन्।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको छ । चीनले विश्व स्वास्थ्य संठनलाई उपलब्ध गराएको तथ्यांकअनुसार, उहानबाट शुरु भएको यो भाइरसको फैलावटले चीनमा ७ हजार ७ सय ११ जनामा संक्रमण देखिइसकेको र यीमध्ये १ सय ७० जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले आपतकालको घोषणा गर्दै विश्वका सबै देशहरुले यो समस्याको सामना गर्न उचित सावधानी अपनाउनु पर्ने उल्लेख गरेको छ ।

 

प्रकाशित मितिः शुक्रबार, माघ १७, २०७६     9:58:26 AM  |

प्रतिक्रया दिनुहोस्