ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चार पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने संलग्नमाथि चार पूर्वमन्त्री दुई पूर्व सचिव लगायत १७५ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

आयोगले पूर्वमन्त्रीहरू विजय कुमार गच्छदार, चन्द्रदेब जोशी, डम्बरबहादुर श्रेष्ठ तथा छविराज पन्त विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । त्यसैगरी पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व आयुक्त दीपबहादुर बस्नेत, दिनेशहरि अधिकारी विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

सो प्रकरणका मुख्य पात्र भनिएका शोभाकान्त ढकाल तथा मीनबाहदुर गुरुङ विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँलाई पनि प्रतिवादी बनाइएको छ । बालुवाटारको सरकारी जग्गा हड्प्नेमा उनीहरुको पनि प्रमुख हात रहेको अख्तियारले दावी गरेको छ । चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतमलाई पनि जग्गा हड्प्ने मतियार बनाइएको छ । उनीबिरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियारले गच्छदार र डम्बर श्रेष्ठविरुद्ध ९ करोड ६५ लाख ७६ हजार तथा पूर्वमन्त्री चन्ददेव जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार बिगो दावी गरेको छ भने अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविराज पन्तविरुद्ध पनि समान ९ करोड ६५ लाख बिगो दावी गरेको छ । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र उनको परिवारविरुद्ध ११ करोड ३० लाख बिगो कायम गरिएको छ ।

 

प्रतिक्रया दिनुहोस्