1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

आइतबारदेखि धनगढीमा रहेका सबै माध्यमिक तहसम्मका शैक्षिक संस्था बन्द हुने,परिक्षा समेत अनिश्चित

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन २३, २०७६  

कैलाली । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै यहाँको धनगढी उपमहानगपालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गइरहेको भन्दै त्यसबाट जोगिनका लागि उपमहानगपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबारदेखि नगर क्षेत्रका सबै माध्यमिक तहसम्मका शैक्षिक संस्थाहरू बन्द निर्णय गरेको छ।

उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू लगायत सम्पूर्ण शिक्षण संस्थाहरूमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरू अर्को सूचना नभएसम्म आइतबारदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आम नगरबासीमा जानकारी गराइन्छ’ नगरप्रमुख नृपबहादुर वडद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

उपमहानगरपालिकाले यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिँड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने हुनाले सतर्कता अपनाउनसमेत आग्रह गरेको छ। साथै कोरोना भाइरसको संवेदनशिलताका लागि धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भीडाभाडमा गरिने किसिमका कार्यक्रमहरू आयोजना नगर्न पनि आग्रह गरिएको छ।

यसैगरी कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको थियो। तर, उपमहानगरपालिकाले त्योभन्दा अगावै विद्यालय बन्द गर्ने निर्णय गरेपछि वार्षिक परीक्षा अनिश्चित हुने भएको छ ।

कोरोनाको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई कोरोना संक्रमण छिटो हुनसक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन मन्त्रालयलाई निर्देशन दिएको थियो।

सरकारको निर्देशन अनुसार सरकारी तथा निजी विद्यालयले फागुन २८ गतेदेखि नै वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने थियो। तर, धनगढी नगर क्षेत्रमा भने अब वार्षिक परीक्षा अनिश्चित हुने भएको हो।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २३, २०७६     3:05:10 PM  |

प्रतिक्रया दिनुहोस्