30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

एकाएक हटाइए उपत्यकाका सबै घुमुवा प्रहरी

    | प्रकाशित मितिः आइतवार, चैत्र २, २०७६  

काठमाडौं । उपत्यकामा सादा पोसाकमा खटिँदै आएका सबै प्रहरी जिम्मेवारीबाट हटाइएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपपछि महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा सादा पोसाकमा खटिँदै आएका ७४ जना प्रहरीलाई एकसाथ जिम्मेवारीबाट हटाएको हो । जिम्मेवारीबाट हटाइनेमा १० वर्षदेखि एकै स्थानमा घुमुवाका रूपमा कार्यरत प्रहरीसमेत छन् ।

यसरी हटाइनेमा १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागबाट गरी १७ जना अधिकृत र ५७ जवान छन् । सबै घुमुवा प्रहरीलाई एक साथ जिम्मेवारी परिवर्तन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिए ।

घुमुवा प्रहरीलाई सादा पोसाकमा सूचना संकलनका लागि खटाइँदै आइएको थियो । उनीहरूमाथि ‘हप्ता असुली’सहितका अनैतिक गतिविधिमा संलग्न रहेको आरोपसमेत लाग्दै आएको थियो । डीआईजी पोखरेलले लामो समयदेखि एकै स्थानमा रहेर काम गर्दासमेत काममा प्रभावकारिता नदेखिएको भन्दै उनीहरूलाई एकसाथ परिवर्तन गरिएको बताए ।

लामो समयदेखि एकै स्थानमा रहेर काम गर्दासमेत काममा प्रभावकारिता देखिएन, सूचना संकलन क्षमताको प्रभावकारिता नदेखिएकाले सेटै फेरिएको हो,’ उनले भने ।

डीआईजी पोखरेलले यो अभियान निस्पक्ष, पारदर्शी र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि भएको र अभियानमार्फत प्रहरी संगठनमा सुशासन कायम हुनेसमेत जनाए ।‘यो अभियान निस्पक्ष, पारदर्शी र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि हो, अभियानमार्फत प्रहरी संगठनमा सुशासन कायम हुने विश्वास छ,’ डीआईजी पाखरेलले भने ।

सादा पोसाकको जिम्मेवारीबाट हटाइएका प्रहरीलाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्जमा पठाइएको छ । हटाइएका घुमुवाको विकल्पमा उच्च व्यावसायिकता र इमानदारिता भएका नयाँ टोली राख्न मातहतका अधिकृतलाई निर्देशन दिइएको पोखरेलले जानकारी दिए ।

जिम्मेवारी परिवर्तनपछि प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको डीआईजी पोखरेलले जनाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

 

 

 

प्रकाशित मितिः आइतवार, चैत्र २, २०७६     5:45:19 AM  |

प्रतिक्रया दिनुहोस्