1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

ग्यास अभाव थेग्न अब सिलिन्डरमा आधा मात्रै भरेर बेच्ने तयारी

    | प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६  

काठमाडौ । नेपाल आयल निगमले बजारमा देखिएकाे ग्यास अभाव कम गर्न आधा ग्यास भरिएको सिलिण्डर बेच्ने निर्णय गरेको छ ।बजारमा देखिएको ग्यास अभाव हटाउन तत्कालका लागि ७.१ किलो ग्यास भर्न ग्यास उद्योगहरुलाई निर्देशन दिइएको हो ।

निगमले सबै ग्यास उद्योगहरुलाई इमेलमार्फत् पत्र पठाएर शुक्रबारदेखि सिलिण्डरहरुमा आधा ग्यास मात्र भरेर बजारमा पठाउन भनिएको छ । निगम स्राेतका अनुसार याे निर्णय कार्यान्वयनका लागि ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधिलाई बिहीबार छलफलमा बोलाइएको छ ।

भरी सिलिन्डरमा १४.२ किलो हुन्छ, जसकाे मूल्य १३७५ ताेकिएकाे छ । निर्णय कार्यान्वयन भएमा ७ किलो ग्यास किन्दा उपभोक्ताले मूल्य पनि आधा अर्थात् करिब ६८८ रुपैयाँ पैसा तिर्नुपर्ने हुन्छ ।

सरकारले मुलुकमा कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्न मुलुकभर लकडाउन गरेको छ । अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएका छन् भने अन्तर्राष्ट्रिय नाका पनि बन्द छन् ।

सीमानाका बन्द हुने र मुलुकमा लकडाउन हुने हल्ला सुरू भएदेखि नै उपभाेक्ताहरूले अधिक स्टक राख्न थालेकाेले अभाव देखिएकाे बताइएकाे छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६     1:40:42 PM  |

प्रतिक्रया दिनुहोस्