30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि,धनगढीमा उपचार हुँदै

    | प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६  

काठमाडौ ।नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी कैलालीको धनगढीमा रहेको प्रादेशिक अस्पतालमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको रिपोर्टमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो। हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। “उनी दुबईबाट आएका हुन्। उनको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयका प्रवक्ता देवकोटाले भने , “उनी चैत ११ गते भर्ना भएका थिए। स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो।”

दुई दिनअघि नेपालका तेस्रो व्यक्तिमा सङ्क्रमित भएको पुष्टि भएको थियो। ती व्यक्ति कतारबाट फर्केका थिए। त्यसअघि फ्रान्सबाट फर्केकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको अधिकारीहरूले पुष्टि गरेका थिए।

कोरोनाभाइरस सङ्क्रमित भएका पहिलो नेपाली चीनको वुहान शहरबाट फर्केका थिए। उनी निको भई घर फर्किसकेका छन्। उनी पछिका बाँकी तीनैजना बिरामीको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६     7:49:16 PM  |

One Comment

प्रतिक्रया दिनुहोस्