दुई विश्व युद्ध भोगेका १ सय ४ बर्षका वृद्धले जिते कोरोना भाइरसलाई

काठमाडौ । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धाहरू छन् । तर, अमेरिकामा एकजना यस्ता व्यक्ति छन् जसले एक सय चार वर्षको उमेरमा कोरोनालाई पराजित गरेका छन् ।

अमेरिकाको ओरेगन प्रान्तका एक सय चार वर्षीय विलियम बिलको जन्म सन् १९१६ मा भएको हो ।उनले आफ्नो जीवनकालमा यसअघि पहिलो विश्वयुद्ध, सन् १९१९ को स्पेनिश महामारी, महामन्दी तथा द्वितीय विश्वयुद्ध लगायतका महासंकट व्यहोरेका छन् । जीवनको उत्तरार्धमा उनी कोरोना भाइरसबाट संक्रमित भए ।

निकै जोखिमयुक्त उमेरमा रहेका बिल जब कोरोना संक्रमित भए तब परिवार तथा डाक्टरहरू पनि चिन्तित भए । तर, यी भाग्यमानी बिलले कोरोना भाइरसको संक्रमणलाई जितेर अहिले निको भइसकेका छन् ।

त्योसँगै उनी भाइरसको संक्रमणबाट निको हुने विश्वको सबैभन्दा वृद्ध व्यक्ति बन्न सफल भएका छन् । निको भई अस्पतालबाट घर फर्किएसँगै गत बुधबार उनले आफ्नो एक सय चारऔं जन्मदिन मनाएका छन् ।

भाइरसबाट संक्रमित भएमा यो उमेरका मानिसहरू बाँच्ने सम्भावना कमै हुन्छ । तर, बिलले कोरोनालाई जित्नु एउटा चमत्कार सरह नै भएको उनको उपचारमा संलग्न चिकित्सकको प्रतिक्रिया छ ।

प्रतिक्रया दिनुहोस्