देशैभर करिब २३ हजार मानिस क्वारेन्टाइनमा

काठमाडौं । कोरोना भाइरसबाट देशभरमा संक्रमितको संख्या हालसम्म ५७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको जानकारी दिएका हुन् । उनका अनुसार १६ जना निको भएर घर फर्किएका छन् ।

आज थप तीन जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ५७ पुगेको मन्त्रालयले जनाएको छ । तीन संक्रमितमध्ये जितपुर सिमरा नगरपालिकाका ४३ वर्षीय र सिम्रौनगढका ३१ वर्षीय रहेका छन् । दुवै जना सिमराको क्वारेन्टाइनमा रहेका थिए । अर्का वीरगञ्जको सिद्धार्थ क्वारेन्टाइनमा रहेका छपकैया वीरगञ्जका ४६ वर्षका पुरुष रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

उनले सातै प्रदेशको क्वारेन्टाइनमा बुधबार २२ हजार ९०१ जना रहेको जानकारी दिए ।

प्रदेश १ को क्वारेन्टाइनमा दुई हजार ४७८ जना, प्रदेश २ मा एक हजार ४०४ जना वाग्मती प्रदेशमा छ सय ११ जना, गण्डकी प्रदेशमा छ सय ९४, प्रदेश ५ मा १२ हजार ५१५ जना, कर्णाली प्रदेशमा ३ हजार ९६३ र सुदूर पश्चिम एक हजार २३६ जना रहेका मन्त्रालयले जनाएको छ ।

देशैभरका अस्पतालको आइसोलेनमा ८७ जना रहेका छन् जसमा काठमाडौं उपत्यकामा ४ जना र उपत्यका बाहिर ८३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्