हिन्दू धर्म:एक चिन्तन !

डा.मनोज कुमार झा

धर्म के हो ? मानव केवल भौतिक सुखमा अल्झेर वा भौतिक वस्तुमा मात्र खुम्चिएर बस्न सक्दैन । जब उ यो भन्दा माथि उठेर हामी को हौँ ? कहाँबाट आयौँ? मरेर कहाँ जान्छौँ ? र यत्रो सृष्टि कसरी बन्यो होला ? आदि अतिन्द्रिय विषयहरुमा प्रश्न गर्न थाल्छ, त्यहींबाट नै धर्मको यात्रा शुरू हुन्छ । भौतिकताको यात्रा अति सीमित छ र जब यो यात्रा समाप्त हुन्छ, अर्को यात्रा शुरु भै हाल्छ– अध्यात्मको र यही अध्यात्म नै धर्म हो ।धर्म मूल स्वभाव हो, मूल प्रकृति हो । धर्ममा कुनै कृत्रिमता वा आडम्बर हुँदैन । धर्म बिना संसारमा केही पनि हुँदैन ।

धर्म झिकिदियो भने संसार शून्य हुन्छ, किनकी अस्तित्वहीनता र स्वभावहीनताको जुन स्थिति हुन्छ ।त्यसलाई नै शून्य भनिन्छ । अतः धर्मले नै यो सृष्टि अडेको छ, यो प्रकृति चलायमान छ, चर–अचर यावत् गतिशील छन् र सम्णूर्ण प्राणी स्पन्दनशील छ । विभिन्न वस्तुको आ–आफ्नो धर्म भए जस्तै मानवको धर्म हो– मानवता । मानवता छैन भने मानव–मानव होइन भन्ने कुरा स्वतः सिद्ध भैहाल्छ । त्यसैले एउटा मानवलाई अर्को मानवसँग मिलाउने तत्व नै धर्म हो । ईष्र्या, घृणा र द्वेष छ भने मानव –मानवसँग मिल्न सक्दैन, प्रेम, दया र करूणा छ भने मानव–मानवसँग स्वतः मिलि नै हाल्छ । अतः धर्म नै एकमात्र यस्तो तत्व हो जस्ले मानवलाई दानव बन्नबाट बचाइरहेको छ ।

हिन्दू धर्मको स्वरूप: (ohm) धर्म के हो ? भन्ने बुझेपछि धर्मका प्रकारहरूबारे वा विविधताबारे जान्न स्वतः उत्सुकता जागेर आउँछ । संसारमा जसरी विभिन्न किसिमका वस्तुहरु छन् र तिनीहरुको आफ्नो आफ्नो धर्म छ । त्यसैगरी यस संसारमा विभिन्न किसिमका धर्महरु छन् र तिनीहरुको आ–आफ्नो किसिमका विशेषता वा स्वरूप छन् । हिन्दू धर्म, जैन धर्म , बौद्ध धर्म, सिख धर्म , मुस्लिम धर्म, क्रिश्चियन धर्म आदि जति पनि धर्म छन्, ती सबैका आ–आफ्ना विशेषता र स्वरूप छन् । तर, यसमा मुख्यतः ध्यान दिनुपर्ने कुरा के छ भने हिन्दू धर्म नै यी सबै धर्मको मूल हो र यी सबै धर्म अन्ततोगत्वा नदीहरू समुद्रमा मिले जस्तै हिन्दू धर्ममा नै गएर मिल्छन् ।

हिन्दू धर्म कुनै व्यक्ति विशेषद्वारा कुनै विशेष परिस्थिति र समयलाई आधार बनाएर बनाइएको धर्म नभएर स्वतःनै सिर्जित भएकोले यसमा मानव मात्रलाई नै अट्न सक्ने खालको विस्तीर्णता छ । “एकं सद्विप्रा बहुधा वदन्ति” भन्ने यसको दार्शनिक आधार भएकोले सबैप्रति नै उदारताको भाव छ । यो धर्म मानव धर्मकै पर्याय भएकोले अथवा मानव मात्रलाई समेटिएको दर्शन र सिद्धान्त भएकोले नै यसको स्वरूप यस्तै हुन्छ भनेर किटान गर्न पनि सकिँदैन र आजसम्म कसैले सकेका पनि छैनन् । तर, अन्य धर्म व्यक्तिविशेष, ग्रन्थविशेष र पद्धतिविशेषमा बाँधिएकोले एवं विशेष समय र परिस्थितिको उपज भएकोले धर्म नभैकन सम्प्रदाय हुन् भन्दा बढी युक्तिसंगत देखिन्छ किनकी धर्म निश्चित समयमा व्यक्तिविशेषद्वारा जन्माइँदैन तर सम्प्रदाय व्यक्तिविशेषद्वारा निश्चित सिद्धान्त प्रतिपादनका लागि जन्माइन्छ ।

अतः संसारमा एकमात्र धर्म छ– त्यो हो मानव धर्म र यो मानव धर्म नै हिन्दू धर्मको रुपान्तर हो किनकी सनातन हिन्दू धर्मले मानव मात्रका लागि “वसुधैव कुटुम्बकम्” र “आत्मा खलु विश्वमूलम्” भन्ने सन्देश सर्वप्रथम यो ब्रहाण्डमा गुञ्जाएको थियो ।

हिन्दू शब्दको अर्थ र महत्व: हिन्दू एक व्यापक शब्द हो, यो कुनै खास उपासना पद्धतिलाई बुझाउने शब्द होइन । उदाहरणका लागि आर्यसमाजीहरु मूर्तिपूजा गर्दैनन् र सनातनीहरु गर्छन् तर पनि यी दुवै हिन्दू नै हुन् । हिन्दू शब्द कुनै समूहविशेषको वा वर्गविशेषको द्योतक पनि कदापि होइन किनभने “हिन्दू” को अर्थ हो– “हीनम् दुनोति इति हिन्दू” अर्थात् हीनतालाई जसले परित्याग गर्छ, ऊ हिन्दू हो । यस दृष्टिले हेर्ने हो भने प्रत्येक त्यो मानव हिन्दू नै हुन्छ जो वास्तवमा हीनता त्यागी आदर्श मानव बन्ने प्रयत्न गर्छ । यसमा क्रिश्चियन, मुस्लिम आदि भन्ने प्रश्न नै उठ्दैन ।

यसैगरी हिन्दू शब्द कुनै एक सम्प्रदायविशेषको परिचायक पनि कदापि होइन किनकी हिन्दू धर्म त सबै सम्प्रदायहरूलाई समेट्ने र प्रेरणा दिने मूल हो । त्यसैले त “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः” भन्ने यसको मूल मन्त्र रहेको छ (यसमा सर्वे भनिएको छ, हिन्दू भनिएको छैन ) तथा “वसुधैव कुटुम्बकम्” भन्ने यसको जीवन आदर्श रहेको छ । यस्तै प्रकारले हिन्दू शब्द धर्मको परिचायक मात्र नभएर यस राष्ट्रको राष्ट्रियता नै हो ।

राष्ट्रियता भनेको राष्ट्रिय जीवन दर्शन र राष्ट्रिय जीवन प्रणाली हो एवं राष्ट्रिय विभूति र संस्कृति, राष्ट्रिय परम्परा र चिन्तनधारा, राष्ट्रिय मर्यादा र आदर्शको समष्टिगत भाव हो । हिन्दुत्व बिना हाम्रो राष्ट्रियताको यो समष्टिगत भाव कदापि प्रदर्शित हुनै सक्दैन ।

हिन्दू धर्मको व्यापकता र प्राचीनता:क. व्यापकता:त्यही चीज व्यापक हुन्छ जुन चीज स्थानविशेषमा बाँधिदैन । यो हिन्दू धर्म न त स्थानविशेषमा बाँधियो र न त कालविशेषमा नै बाँधिनेछ । व्यापकता त्यहाँ हन्छ, जहाँ कुनै किसिमको शर्त वा परिधि हुँदैन । यो कुरा हिन्दू धर्ममा ठीक मिल्न आउँछ किनकी यहाँ जुन दर्शन माने पनि, जुन मार्ग /योग अपनाए पनि, जुन देवता पूजे पनि, जुन धर्मग्रन्थ माने पनि र सगुण–निर्गुण, साकार–निराकार आदि जुन विश्वास लिए पनि पूर्ण स्वतन्त्रता छ, न कुनै शर्त छ न कुनै परिधि ।

आकाशलाई कसैले परिधिमा बाँध्न सक्दैन बरू आकाशद्वारा नै अरू चीज परिधिमा बाँधिइन्छन् । समुद्रलाई कसैले पनि सिमांकित गर्न सक्दैन र सूर्यको प्रकाशलाई कसैले पनि हत्केलाले छोप्न सक्दैन । त्यसरी नै यो हिन्दू धर्म न बाँधिन सक्छ र न त कसैद्वारा छोपिन सक्छ । यो व्यापक छ, विशाल छ र अवर्णनीय छ ।

ख. प्राचीनता: जुन चीज कहिलेदेखि शुरु भयो भनी कसैले पनि भन्न सक्दैन, त्यो कति प्रचीन होला ? स्वतः सोच्नु पर्ने हुन्छ । यो हिन्दू धर्म प्राचीनताको एकमात्र उदाहरण हो, अन्य जति पनि धर्म वा सम्प्रदायहरु जन्मे, ती सब यसकै छत्रछायाँमा जन्मे र हुर्के । राम, कृष्ण, बुद्ध, महावीर, नानक, जीसस, मोहम्मद पैगम्बर आदि सबै महापुरुषहरु यसकै विशाल आगंनमा जन्मेर, खेलेर, हुर्केर भगवान् बन्न पुगे । २०१३ बर्षको मात्र इतिहास क्रिश्चियनहरुको छ र १४०० बर्षको मात्र इतिहास मुस्लिमहरूको छ तर यो भन्दा धेरै पहिले नै राम, कृष्ण, बुद्ध, महावीर, नानक आदि महापुरुषहरूको जन्म भैसेकेको थियो र उनीहरूले आ–आफ्ना भाषा र शैलीमा जनजनमा धर्मसन्देश पुर्याइसकेका थिए। यसैबाट अनुमान गर्न सकिन्छ कि यो धर्म कति प्राचीन रहेछ ?

हिन्दू धर्मको उदारता र सहिष्णुता:क. उदारता: जुन धर्म र दर्शनलाई प्रतिपादन गर्नका लागि राम र कृष्ण, मनु र गोरक्षनाथ, वशिष्ठ र विश्वामित्र, वाल्मीकि र कालिदास, दधीचि र शिवी, बुद्ध र महावीर, नानक र दयानन्द जस्ता महान् आत्माहरु जन्मे त्यो धर्म कति उदार होला ?अनुमान गर्न पनि गाह्रो होला । जुन धर्मले भगवान् बुद्धलाई नवम अवतारको रुपमा, महावीरलाई आर्य आचार्यको रूपमा र गुरु नानकलाई महान् गुरूको रुपमा मान्यता दियो, त्यो धर्ममा अनुदारताको प्रश्नचिन्ह लगाउनु पनि आफ्नै अनुदारताको र संकीर्णताको परिचय दिनु मात्र हैन र ? अनेकौं खोला र नदी–नालालाई आफ्नो काखमा शरण दिने समुद्र कति उदार छ ? भनेर अनुमान गर्न सकिन्छ र ?

सारा विश्वकै सम्पूर्ण भारलाई वहन गर्ने धर्तीमाता कति उदार छिन् ? भनेर सोध्न मिल्ला र ? ठीक त्यस्तै यो धर्मले नै सबै धर्म र संस्कृतिलाई, सबै पन्थ र सम्प्रदायलार्य प्रश्रय दिएको छ, प्रकाश दिएको छ र टेवा पुर्याएको छ । त्यसैले त आजसम्म पनि कुनै पनि दर्शनाचार्यले, र कुनै पनि नयाँ पन्थका प्रवर्तकले त्यस्तो नयाँ कुरा भन्न सकेका छैनन्, जुन कुरा हिन्दूहरूको प्राच्य धर्मग्रन्थमा नभनिएको होस् ।भगवान् बुद्ध र महावीरले प्रसार गरेको अहिंसाको सिद्धान्त, गुरु नानकले जोड दिएको पवित्रता र प्रेमको सिद्धान्त, जीसस क्राइष्टले प्रचार गरेको प्रेम र सेवाको सिद्धान्त, मोहम्मद पैगम्बरले प्रचार गरेको ईश्वरभक्तिको सन्देश ,पारसीहरुको सत्यनिष्ठाको सन्देश, यहुदीहरुको ईश्वरनिष्ठाको सन्देश, ताओ र कन्फ्यूशियसको प्रेम र मैत्रीको आदर्श आदि जति पनि धार्मिक जागरणका सन्देशहरु यस धर्तीमा विभिन्न महापुरुषहरुको मुखबाट सुन्दर, आकर्षक र परिमार्जित रुपमा नयाँ नयाँ तरिकाले समय–समयमा प्रस्फुटित भए, ती सबै नै हिन्दूहरुका सर्वमान्य धर्मग्रन्थ–वेद, उपनिषद्, स्मृति, रामायण, महाभारत गीता आदिदेखि पृथक् वा नवीन भने कुनै पनि हालतमा छैनन् । “जसरी पानीलाई कोही जल, कोही वाटर र कोही आब भन्छन् त्यसरी नै ईश्वरलाई कोही भगवान् कोही गड र कोही अल्लाह भन्छन्” भन्ने श्रीरामकृष्ण परमहंसज्यूको उद्गार यस हिन्दू धर्ममा चरितार्थ भएको छ ।

जुन कुरा पहिलेदेखि नै थियो त्यही कुरालाई समाजको आवश्यकता अनुसार आ–आफ्नो भाषामा पुनः अभिव्यक्त गरिएको मात्र हो भन्ने निर्विवाद नै छ । सागरबाट जति गागर (घैटो) भरे पनि सागर घट्दैन अपितु सागरकै महिमा बढ्छ । किनकी त्यो सागरको पानीले फेरि अर्को ठाउँमा आफ्नै तरिकाले सिञ्चन गर्छ र सृष्टिलाई सुन्दर बनाउने प्रयास गर्छ । यसरी नै यो हिन्दू धर्म सागर हो भने अरू सब यसैबाट निसृत जलधारा वा प्रवाह हुन्, सबै यसकै विभिन्न रुपका प्रस्तुति र प्रस्फुटन हुन् ।

ख. सहिष्णुता:माथि हिन्दू धर्मको सर्वमान्य, इतिहाससिद्ध एवं प्रमाणसिद्ध उदारता बारे चर्चा गरे पछि अब यसको सहिष्णुताको पक्षमा चिन्तन गर्नु प्रासंगिक हुन जान्छ । जहाँ उदारता छ, त्यहाँ सहिष्णुता त स्वतः सिद्ध नै हुन्छ । उदारता बिना सहिष्णुता र सहिष्णुता बिना उदारताको कल्पना कदापि गर्ने सकिंदैन । दर्शन र सिद्धान्तका दृष्टिले यो धर्म सहिष्णुताकै एकमात्र प्रतीक हो भने व्यावहारिकता दृष्टिले पनि यो धर्ममा दीक्षित विश्वका हिन्दू बन्धुहरूले जुन सहिष्णुता देखाएका छन् त्यो वास्तवमा रोमाञ्चकारी र प्रेरणादायी छ ।

छिमेकी देश भारतमा लगातार सात सय वर्षसम्म हूण, शक, कुषाण, मुगल, मुस्लिम आदि जातिले आक्रमण गर्नु र निर्लज्जताले पनि लाज मानेर आँखा छोप्नुपर्ने जस्ता अति घृणित एवं बर्बर कार्य गर्नु तथा ब्रिटिशहरूले व्यापारको नामबाट सन्धि गरेर देशको अनमोल खजाना सम्पत्ति आदि लुटी भारतलाई कंगाल बनाई दिनु र भारतवासीलाई राज्य, जात, वर्ण, ऊँच–नीच आदिको माध्यमबाट टुक्रा टुक्रामा विभक्त गर्ने प्रयास गर्नु आदि अनेकौ उदाहरण छन् तर पनि हिन्दू सधैं शान्त रहे, सधैं सहिष्णु रहे ।

हिन्दूहरूले अरू कसैमाथि आक्रमण गरेको एउटा पनि इतिहास छैन, कसैको धर्म र संस्कृतिलाई बिथोल्न खोजेको एउटा पनि उदाहरण छैन । अहिले पनि भारतमा हिन्दूहरुमाथि के कस्ता किसिमका आक्रमण भैरहेको छन् ? सबैलाई थाहा नै छ तर पनि भारत अझै पनि “ईश्वर अल्लाह तेरो नाम, सबको सम्मति दे भगवान्” भन्ने आदर्शमा विश्वास लिएर अघि बढि रहेको छ । कैयौ देशहरूमा आज पनि हिन्दूहरु माथि जे जति पनि अत्याचारहरू भैरहेका छन् । ती सबलाई हिन्दूहरू शान्त भएर सहिरहेका छन् किनकी उनीहरूको संस्कृतिले उनीहरूलाई सघैं नै मानव मात्रलाई प्रेम गर, दया गर र करूणा राख भन्ने सन्देश दिरहेको छ । “ईश्वर न काबामा छन् न काशीमा, उनी त सब घरमा र सब दिलमा व्याप्त छन्” भन्ने महात्मा गान्धीज्यूको भनाइ अनुसार सबैमा ईश्वरदर्शन गरी र सबैलाई आदर दिई हिन्दूहरु जीवनयापन गरिरहेका छन् ।

हिन्दू धर्मबारे विदेशीहरुको दृष्टिकोणआफूलाई आफै राम्रो छु भनेर मात्र हुँदैन । अरूले कस्तो भन्छन्, त्यो पनि हेर्नुपर्छ । हामी हिन्दूले आफ्नो धर्मलाई त राम्रो भनि नै हाल्छौँ तर अरूहरूले पनि भनेका उदाहरणहरू सजिलै फेला पार्न सक्छौँ । ,अनि लहै लहमा होइन, लगनशील भएर निर्णय गर्न सक्छौँ ।प्रसिद्ध पश्चिमी विद्वान् प्रो. मैक्समूलरले भनेका छन्, “यदि मैले निष्पक्ष भैकन आफूलाई नै भनूँ, कुन साहित्य र दर्शनको आश्रय लिएर सेमेटिक यूनानी र रोमन विचारधारामा बगिरहेका युरोपियनहरू आफ्नो आध्यात्मिक जीवनलाई अझ विकसित, अति विश्वजनीन र उच्चतम बनाउन सक्छन्, भने मैले आर्यावर्ततिर संकेत गर्नेछु ।”यसै गरी प्रसिद्ध पश्चिमी दार्शनिक रोम्या रोलाँले भनेका कुराहरूलाई स्मरण गरौँ, “मैलै यूरोप र एशियाका सबै धर्मको अध्ययन गरेको छु किन्तु यी सबैमा हिन्दू धर्म नै सर्वश्रेष्ठ हो भन्न मैले ठानेको छु ।

मलाई विश्वास छ, यसको सामु एकदिन सबै नतमस्तक हुनेछन् ।”प्रसिद्ध विद्वान् शाँपेन हावरको भनाइलाई संझौं, “हिन्दू दर्शन समान उपयोगी र उन्नति तर्फ लैजान समर्थ स्वाध्याय संसारमा अर्को छैन । यो उच्चतम बुद्धिको उपज हो, भविष्यमा एक दिन सम्पूर्ण मानवको यही नै धर्म हुनेछ ।”

हिन्दू धर्मको सही सन्देशः हिन्दू धर्मको सही सन्देश मानव मात्रलाई सत्मार्गमा समेट्दै पुरूषार्थ प्राप्ति गर्नु हो । न यहाँ जातिगत विभाजनको आधारमा कोही सानो र ठूलो छ, न त यहाँ कोही विद्वत्ताको आधारमा सानो र ठूलो छ । न त यहाँ कोही विद्वत्ताको आधारमा सानो र ठूलो छ । न यहाँ यस्तो खाने नै हिन्दू र नखाने अहिन्दू भन्ने खालको कठोर नियमहरू छन् । न त क्रिश्चियनलाई र न त मुस्लिमलाई नै अहिन्दू भनेर हेय दृष्टिले हेरेको छ । त्यसैले हाम्रो हिन्दू समाजमा आएको समस्यालाई हामी आफै नै समाधान गर्ने तर्फ अघि बढौँ । यसलाई विदेशीहरूको र स्वार्थी तत्वहरूको स्र्वाथपूर्ति गर्ने हतियार बन्न नदिऔँ । हिलोमा सुनको टुक्रा खस्यो भने कसैले पनि मिल्काउँदैन । आफ्नो आमाको शरीरमा फोहोर लाग्यो भने धोइ–पखाली गर्नुको साटो कसैले पनि निष्कासित गर्दैन । यही नै बुद्धिमत्ता हो र यही नै दूरदर्शिता हो ।

सारांश:सारांशमा भन्नु पर्दा धैर्य ,क्षमा ,करुणा आदि नै हिन्दू धर्मको सार हो । नीतिकारहरूले पनि स्पष्ट भनेका छन्:“धृति क्षमा दमोकस्तेयं शौचमिन्द्रियनिग्रह,धीर्विघा सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।।अर्थात् धैर्य, क्षमा, दम, अस्तेय आदि नै धर्मका प्रमुख लक्षण हुन् । धर्मका यिनै लक्षणहरूलाई कतै पञ्चशीलका रूपमा त कतै दश प्रमुख आज्ञाको रूपमा, कतै महाव्रर्तका रूपमा वा संकल्पका रूपमा व्याख्या गरिएका छन् । त्यसैले धर्मका नाममा झगडा नगरौ, धर्मको मर्म बुझौ र वास्तवमै धार्मिक बनौ । हिन्दू धर्मको यही नै सार हो, सन्देश हो र सबैलाई विनम्र अनुरोध पनि हो । धर्मौ रक्षति रक्षितः । यतो धर्मस्ततो जयः।।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्