कोरोना भाइरसबाट भारतमा लोकपाल सभाका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको मृत्यु

काठमाडौ । कोरोना भाइरसका कारण भारतको लोकपाल सभाका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार गत अप्रिल २ तारिखमा त्रिपाठीको स्वास्थ्यमा समस्या आएको थियो । लगत्तै उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

त्रिपाठी ६२ वर्षका थिए र उनको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर अवस्थामा थियो । भेन्टिलेटरमा राखेर उपचार गराइरहकै अवस्थामा शनिबार राति उनको निधन भएको बताइएको छ ।

छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीश समेत रहेका त्रिपाठीलाई सन् २०१९ को मार्चमा कानुन मन्त्रालयले लोकपाल सदस्यमा नियुक्त गरेको थियो ।

यसैबीच न्यायमूर्ति अजय कुमार त्रिपाठीको निधनमा बिहारका मुख्यमन्त्री नीतीश कुमार र उपमुख्यमन्त्री सुशील मोदीले शोक व्यक्त गरेका छन् । आफ्नो शोक सन्देशमा नीतीश कुमारले भने कि अजय कुमार त्रिपाठीको मृत्युले न्यायपालिका क्षेत्रमा अपूरणीय क्षति भएको छ ।

प्रतिक्रया दिनुहोस्