तत्काल लकडाउन नखुल्ने ? रेड, एलो र ग्रिन जोन बनाई व्यवस्थापन गरिने

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)लाई खुकुलो र खुला गर्न केही विकप्ल अघि सारेको छ । सरकारले तयार पारेको रणनीति अनुसार ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै अब रेड, एलो र ग्रिन जोन बनाई लकडाउनलाई व्यवस्थापन गरिने छ । तर सीमानाका खोल्ने हकमा यो लागू हुनेछैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोहीअनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।

जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेंलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिनेछ । त्यसरी विभाजन गरिएपछि संक्रमण नियन्त्रणमा रहेको क्षेत्रलाई ग्रिन जोनमा राखिनेछ । ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने छ ।

संक्रमण नियन्त्रण उन्मुख रहेका जिल्ला तथा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला राखिनेछ । संक्रमण नियन्त्रण बाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ र कृषिबाहेक अन्य सबै क्रियाकलाप बन्द गरिनेछ ।

लामो समयसम्म लकडाउन जारी राखिने रेड क्षेत्रमा अत्यावश्यक खाद्यान्न आपूर्ति गर्ने तथा राहत आवश्यक पर्ने परिवारका लागि राहत दिने व्यवस्था सरकारले मिलाउने गरी कार्ययोजना बनाइएको छ ।

लगातारको लकडाउनबाट बाहिर आई राज्यका सेवा तथा कार्यलाई साविकको अवस्थामा फर्काउने उद्देश्यसहित कार्ययोजना बनाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

अब लकडाउनलाई खुकुलो बनाउनुअघि विश्व स्वास्थ्य संगठनको निर्देशिकामा रहेका विभिन्न ६ वटा सर्तलाई ध्यान दिइनेछ । सो सर्तअनुसार लकडाउनलाई खुकुलो बनाउन संक्रमण विस्तार हुने क्रम नियन्त्रणमा आएको हुनु पर्नेछ भने स्वास्थ्य प्रणालीबाट सबै केसको पहिचान गर्न, जाँच गर्न, आइसोलेसनमा राख्न, उपचार गर्न र सबैको कन्ट्याक्ट ट्रेसिङ् गर्न सक्षम भएको हुनु पर्नेछ ।

यसैगरी, अस्पताल जस्ता संवेदनशील ठाउँहरूलाई ‘हट स्पट’ घोषणा गरी जोखिम न्यूनीकरण भएको हुनु पर्नेछ भने विद्यालय, कार्यस्थललगायतका अन्य आवश्यक ठाउँमा पर्याप्त स्वास्थ्य सजगता अपनाइएको हुनु पर्नेछ ।

यसैगरी, लकडाउनलाई खुकुलो पार्नुअघि नयाँ केसका कारण आउन सक्ने जोखिम व्यवस्थापन गर्न सक्षम भएको हुनु पर्नेछ भने कोभिड–१९ पछिको नयाँ परिस्थितिसँग व्यवहार गर्न समुदाय पूर्णरूपमा जानकार र सक्षम भएको हुनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्