नेपालगञ्जका लागि आयो २५ थान कोरोना परीक्षण गर्ने पीसीआर कीट

नेपालगञ्ज। स्वास्थ्य मन्त्रालयले नेपालगञ्जका लागि २५ थान कोरोना परीक्षण गर्ने पीसीआर कीट पठाएको छ ।

नेपालगञ्जमा १६ जना कोरोना संक्रमित भेटिएपछि थप परीक्षण कीट, स्वास्थ्य सामग्री, प्राविधिक र उपकरणहरुको व्यवस्था गर्ने पर्ने माग गर्दै बाँकेका सांसदहरुले स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएपछि स्वास्थ्य मन्त्रीको निर्देशनमा २५ किट नेपालगञ्ज पठाइएको हो ।

आइतवार एकै दिन १५ जना संक्रमित भेटिएपछि कोरोना सर्वसाधारणमा फैलिएको आशंका बढेकोले बाँकेका ५ जना सांसदहरुले सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमा भेटेर विभिन्न मागहरु गरिएलगत्तै स्वास्थ्यमन्त्रीले २५ थान किट पठाउन लगाएको र अन्य सामग्री पठाउने तयारी भैरहेको पूर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले बताउनुभयो ।

उहाँले भेटमा मन्त्रीसंग बाँकेमा थप कीट पठाउनुका साथै सबै नगरवासीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनु पर्ने, थप स्वास्थ्य उपकरण लगायत प्राविधिक टोली पठाउनु पर्ने र तेस्रो चरणका लागि अस्पतालहरु निर्माण गर्ने पर्ने माग गरिएको बताउनु भयो ।

स्वास्थ्य मन्त्री ढकालसंग भेट गरेर नेपालगञ्जलाई उच्च प्राथमिकतामा राखेर युद्धस्तरमा काम गर्न पर्ने माग गर्ने टोलीमा पुर्वमन्त्री राई लगायत बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथक, बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकाया, बाँकेबाट समानुपातिक सांसदहरु पूर्णाकुमारी सुवेदी र सर्वतआरा खानम हुनुहुन्थ्यो ।

मन्त्री ढकालले २५ थान कीट तत्काल पठाउन लगाईएको जनाउँदै थप टोलीसंगै अन्य स्वास्थ्य सामग्री पनि पठाइने प्रतिबद्धता जनाउनु भएको सांसद अथकले बताउनुभयो ।

शुक्रवार नेपालगञ्जमा एक जना ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ भेटिएपछि उनको सम्पर्कमा आएकाहरुमध्ये ५५ जनाको परीक्षण गर्दा थप १५ जना संक्रमित भेटिएका थिए ।

प्रतिक्रया दिनुहोस्