कर्णाली प्रदेश एकहप्ताका लागि सिल

सुर्खेत । प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेटिएपछि सात दिनको लागि कर्णाली प्रदेश सिल गरिएको छ । छिमेकी प्रदेशहरु सुदूरपश्चिम र प्रदेश नम्बर ५ मा कोरोना संक्रमितहरु भेटिएसँगै कर्णाली प्रदेश सात दिनको लागि सिल गर्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णयपछि कर्णाली प्रदेश पूर्ण रुपमा सिल हुने सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिले जानकारी गराएको छ ।

कर्णाली प्रदेशको विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने भएको छ । सोही बैठकमार्फत् २५ स्थानमा टोली खटाउने निर्णय भएता पनि डोल्पाका दुई स्थान थप गरिएको जानकारी गराइएको छ ।

गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने जानकारी गराइएको छ । स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रूत परीक्षणसमेत गर्ने जानकारी गराइएको छ ।

त्यस्तै सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुलाई सरकारले परिचालन गर्ने जनाइएको छ ।

प्रतिक्रया दिनुहोस्