कीट अभावले कोरोना परीक्षण प्रभावित

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा कीट अभावका कारण कोरोनाभाइरसको परीक्षण प्रभावित बनेको छ ।

थ्रोट स्वाबको नमुना संकलन र ‘प्रोसेसिङ’ गर्ने सामान सकिएपछि केही दिनपहिले जडान गरिएका आरटी पीसीआर मेसिन थन्किएका हुन् ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको आरटी पीसीआर मेसिन सुचारु हुन सकेको छैन ।

गत मंगलबार प्रतिष्ठानले ‘कोभिड–१९’ को परीक्षण गर्नको लागि आरटी पीसीआर मेसिन जडान गरेको थियो ।

जुम्लामै पीसीआर विधिबाट परीक्षण गर्न प्रतिष्ठानले २७ लाखमा आरटी पीसीआर मेसिन खरिद गरेको हो ।

प्रयोगशाला सुचारु नहुँदा अहिले जुम्लामा कोरोना शंकास्पद व्यक्तिहरूको सुरुमा ‘र्‍यापिड टेस्ट’ गर्ने र थप शंकास्पद भए ‘पीसीआर’ जाँचको लागि सुर्खेत पठाउने गरिएको छ ।

यता, प्रदेश अस्पताल सुर्खेतमा पनि कीट अभावका कारण परीक्षण प्रभावित भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता जोशी भण्डारीले जानकारी दिइन् ।

प्रतिक्रया दिनुहोस्