मौसममा उतारचढाव,पाँचवटा वायु एकैसाथ सक्रिय,एकहप्ता अझै वर्षा हुने

काठमाडौ । देशका विभिन्न स्थानमा बिहानीदेखि पानी परेको छ । मौसममा आएको उतारचढावले अझै एक हप्तासम्म वर्षा हुने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको कारण वर्षाको सम्भावना बढि छ। पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षा हुने जल तथा महाशाखाले जनाएको छ।

नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ। त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ।

पूर्वमनसुन (प्रिमनसुन)को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको  मौसमविद्ले बताएका छ्न ।

नेपालमा पश्चिमी वायुको प्रभाव रहँदै गर्दा अन्य वायुले पनि साथ दिएकाले वर्षा मौसममा झैं वर्षा भइरहेको छ । मौसममा आएको उतारचढाव रहेकाले सचेत रहन महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार यस वर्षको प्रिमनसुनको समय गएका वर्षभन्दा फरक रहेको छ। यो मौसममा अनुमान गरे अनुसार पानी नपर्ने, मौसममा परिवर्तन नहुने क्रम विगतमा धेरै देखिएको थियो तर यसपटक अनुमान गरेभन्दा फरक हिसाबले पानी परेको मौसमविद् मानन्धरको भनाइ छ।

नेपालमा आगामी जुन १० देखि मनसुन भित्रने महाशाखाले जनाएको छ। यो हरेक  १० वर्षमा परिवर्तन हुने गर्छ। प्रिमनसुन सकिँदै गर्दा पूर्वीय वायु सक्रिय हुने र बङ्गालको खाडीलगायतका क्षेत्रबाट भारत हुँदै नेपालमा मनसुन भित्रन्छ।

प्रतिक्रया दिनुहोस्