रुँदै होलान ती वीरहरुका आँखा !


डा.मनोज कुमार झा
आज रुँदै होलान् मदनका आत्मा
आज रुँदै होलान् जीवरामका आँखा
आज लज्जीत हुँदै होलान ती वीरहरु,
आज रुँदै होलान ती वीरहरुका आँखा !!

जनताको बेहाल र देशको बेतिथी हेर्दै होलान
ब्यवस्था भित्रको अब्यवस्था हेरी रुँदै होलान्
ब्याप्त श्री ३ प्रवृत्ति हेरी आत्मगलानी हुँदै होलान
आफैले आफुलाई धिक्कार्दै रुँदै होलान् !!

तिनका आत्माको चीत्कार सुन्ने कोहि भएनन् यहाँ,
तिनकै त्याग र बलिदानी माथि रोटी सेक्ने थुप्रै जन्मिए यहाँ,

तिनका उपदेश र कृति बखान गर्ने थुप्रै भए यहाँ
तिनकै नाममा जनता झुक्याई देश बेच्ने थुप्रै देखिए यहाँ !!

चिल्ला, राता,सुकिला,मुकिला जताततै च्याउ झै उम्रे
आफ्नै जीउको जुम्रा नहेर्ने देशद्रोही चेलाचेलीहरु सत्ता-भोगमा रमाए

गुरु-आदर्श-मार्गदर्शकहरुलाई नै बेचीबेची खाए
वाद र वादीका नाममा सर्वस्व स्वाहा गराए !!

सलाम छ ती वीर ज्ञात अज्ञातहरुलाई
जसले हामीलाई सुनौला सपनाहरु देखाए
अधिकार र पहिचानका लागी बोल्न सिकाए
राष्ट्र र राष्ट्रियताका लागि अमरत्व प्राप्त गरे !!

सलाम छ ती वीरहरुलाई
जो नेपाली भएर बाँचे र नेपाल कै लागि मरे,
त्याग, बलिदान, पुरुषार्थका कीर्तिमान स्थापित गरे,
तर धिक्कार छ तिनलाई जसले ती महान-आत्माहरुलाई पनि गाली सुनाए !!

हार्दिक श्रद्धाञ्जली छ ती वीरहरुलाई
जो-जसले निषेधलाई लोकतन्त्र सिकाए
आस्रुपुरित श्रद्धाञ्जली छ ती कर्मवीरहरुलाई,
जो-जसले नेपाल र नेपालीका लागि सर्वोच्च बलिदान गरे !!

प्रतिक्रया दिनुहोस्