संविधान संशोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन्।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो । संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।

संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ। सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रया दिनुहोस्