बिक्रिमा – कविता


– अनुपा रिजाल
पौरखीको खाममा जान्थ्यो
स्वाभिमानको सन्देश
आशङ्काको बादल हिँड्छ अचेल मूल सडकमा
लाग्छ, देश नै बिक्छ कि ।।

वीर गोर्खालीको नामले चिनिएका
तेजिला अनुहारहरु
श्रमशील पाखुराहरु
४५ डिग्रीको तातोमा पिल्सिएर
परदेशी भूमिको माटो स्याहार्दै छन् ।।

बुद्ध अनि सगरमाथाको देश भनेर कतिञ्जेल शीर ठाडो पार्ने ?
नजोतेर आफ्नै देशको टारी खेत
भुत्ते बनाएर हाम्रै कुटो कोदाली
के थाहा, हस्तक्षेप हुनसक्छ खान बसेको थालमै ।।

न्यायका आँखा छोपिने गरी
यो पवित्र धाममा किल्ला गाढ्ने पो हुन् कि

कोशी कर्णाली मेरै रगत धारा
तर अभर भो
लोभिएका छन् परचक्री ।।

मुटु पोल्यो
छाती चर्कियो
भयो छटपटी
बिक्ने हो कि यो देश भनेर
जसरी बिकिरहेछ देशको नक्सा सजिलै पसल पसलबाट !!

प्रतिक्रया दिनुहोस्