भारतमा कोरोनाको नयाँ रेकर्ड ,एकैदिन ४० हजार बढी संक्रमित थपिए

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण छिमेकी मुलुक भारतमा डरलाग्दो अबस्थामा देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४० हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै सबैभन्दा बढी हो ।

एकैदिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जना संक्रमित भएका छन् । यसअघि आइतबार त्यहाँ ३७ हजार ४०७ जना संक्रमित भएका थिए ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ११ लाख १८ हजार १०७ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ७ लाख ३९९ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ९० हजार २०५ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको २७ हजार ५०३ पुगेको वर्ल्डओमिटर्सले जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्