नेपालमा शाहवंशीय राजसंस्था पतनको कारण !


संसारका विभिन्न देशमा राजसंस्था पतनको आ-आफ्नै कारण एवं कारकहरु छन । तर इतिहासलाई पल्टाएर हेर्दा सबै राजसंस्थाहरुको पतनका प्रमुख कारणहरुमा केही समानताहरु पक्कै पनि भेटिन्छन् । त्यस्तै नेपालको सन्दर्भमा भन्नुपर्दा व्यक्तिवादी एवं चरम अहमतावादी राजनीतिक सोंच, चरित्र, प्रवृत्ति एवं संस्कारले ग्रस्त चण्डमुण्डहरुको झुन्ड र जमातको प्रतिनिधित्व गर्ने मण्डले, कमण्डले तथा भाई-भारदारहरु एवं दरबारीया विभिषणहरुको अतिनै सुक्ष्म घेरामा रहदै र बस्दै आएका शाहवंशीय राजसंस्था अपत्यारिलो एवं नाटकीय रुपले संवैधानिक तवरले समाप्त भएको तथ्यलाई बुझपचाएका शाहवंशका उत्तराधिकारी राजा ज्ञानेन्द्र शाह राजनीति एवं ब्यापारका माहिर खेलाडी भएता पनि उनी कलीयूगका धृत नै हुन । २१औं शताब्दीका देवरथ अर्थात भीष्म पितामह नै हुन भन्दा नमिठो लागेपनी यथार्थ यहि नै हो ।

तत्कालीन नारायणहिटी राजदरबार भित्र सक्रिय भजन-मन्डलीहरुको झुन्ड र त्यसमै रमाइबस्ने राजाको नाक, कान, मुख र मस्तिष्क कहलाउने,भनाउनेहरु कै निहित स्वार्थ एवं अदुर्दशिताको परिणाम राष्ट्रिय एकता, राष्ट्रिय पहिचान, राष्ट्रिय स्वाधीनताका प्रतीक २५० वर्ष पुरानो सक्रिय शाहवंशीय राजसंस्था एकाएक इतिहासको पानामा सिमित हुन पुगेकै हो । नेपाल र नेपाली पहिचान बिहिन भई अन्तहिन शासकीय दुराचक्रको गणेश परिक्रमामा धकेलिन बाध्य पारिएकै हो ।

एक समयमा राजारानीलाई ईश्वरी अवतार मान्ने र पालनहार, न्यायमुर्ती, प्रजावत्सल, धर्म-शिरोमणि, समानता एवं उदारताको प्रतीक, विकाशका पथ-प्रदर्शक तथा माता-पिता तुल्य मान्दै श्रीमान गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपति भन्ने राष्ट्रगान हरेक नेपालीको मन,मस्तिष्कमा गुन्ज्यमान रहने तथा राजा र राजसंस्थाका लागि जेपनि जसरी पनि गर्न तमतैयार रहने आम नेपाली आज नेपालबाट विधिवत रुपमा राजसंस्थाको अन्त्य हुँदा चुईक पनि बोलेन्न र विगत डेढ दशकमा पटकपटक विभिन्न अवसरमा राजा ज्ञानेन्द्रले देश र जनतालाई पुकार लगाउउँदा पनि कोहि कतैबाट काँध थाप्ने भएनन् ।

आखिर यस्तो किन ? राजा ज्ञानेन्द्रले अत्यन्तै गम्भीर भएर आत्मचिन्तन गर्नैपर्ने देखिन्छ । हुन त राजा ज्ञानेन्द्रको धार्मिक, पारिवारिक एवं व्यक्ति देश-दौडाहा र भ्रमणहरुमा जनताको उल्लेख्य भिडभाड देखिन्छ तर त्यसको आन्तरिक र बाहिरी पक्ष अत्यन्तै भिन्न छ, वास्तविकता अत्यन्तै निर्मम छ । यदी त्यही भिडभाड देखेर वा देखाईएर राजालाई विश्वस्त एवं आश्वस्त परिदैछ वा राजा स्वेम दंग परेका छन भने त्यो उनका लागि निकै मुर्खतापूर्ण सावित हुने निश्चित छ ।

नेपालमा राष्ट्रभक्त शक्ति भनेकै सिमामा बस्ने वा दुर्गम गाउँमा बस्ने राज्यबाट उपेक्षित, अपहेलित, बन्चित, उत्पीडित आम मुक्ति कामी नेपाली जनता र राज-संस्था नै हो, यस तथ्यलाई नकार्न सकिन्न । अहिले पनि आम नेपाली जनताको मन-मस्तिष्कमा राज-संस्था प्रती अगाध माया, विश्वास, भरोसा देखिन्छ तर वर्षौंदेखि कब्जा जमाएर बसेका राजाका वरिपरिका ब्यक्ति र ब्याक्तित्व प्रति नकारात्मक सोंच र भावना पनि उत्तिकै पाईन्छ । आम जनताको भावना राजा प्रतिको हो उनिहरु राज-संस्था पुनःस्थापना चाहन्छन् न कि राजाका आसेपासे, कुरौटे, भरौटे, मण्डले, भाइ-भारदार, दरबारीयालाई नेपालको शासन-सत्तामा काबिज गर्न वा प्रधानमन्त्री, मन्त्री, सन्तरी बनाउन बलिदान दिन तैयार देखिन्न, र यो उपयुक्त एवं ब्यवहारिक पनि हो ।

आम नेपाली नयाँ नेतृत्व खोज्दैछन् जसले सम्पूर्ण बेथितिहरुको स्थायी समाधान गर्न सक्षम होस, देश र जनतालाई नयाँ बिहानीको प्रत्याभूति दिलाउन नेतृत्वदायी भुमिका खेल्न सकोस् । तर राजा अहिले पनि आँखा, कान, मुखमा कालो पट्टी बाँधेर उही पुरानै गीत गाएर बसेका छन, जहाँ जनता सम्पूर्ण क्रान्ति र परिवर्तन खोज्दैछन् त्यहीँ राजा परम्परागत बोली, व्यबहार, ब्यक्तिहरुलाई निरन्तरता दिन तल्लीन देखिन्छन् । हो त्यही काराण राजा जति पनि आवहान,अपील गरेपनि जनता सडक तताउन उत्सुक देखिदैन्न, अनिच्छुक छन । आखिर हो पनि, किन राजाले तोकिदिएका ब्यक्तिको नेतृत्व स्वीकार गर्ने त आम जनताले ? आखिर तिनीहरुको लगानी के त ? देश र जनतका लागि के नै गरेका छन ?

स्वार्थसिद्धीमा लिप्त, बिचार र सिद्धान्तले दरिद्र, भष्मासुर प्रवृत्तिका अनुयायीहरुको पछि पछि किन ?, चरम नश्लीय चिन्तनले ग्रस्त नितान्त ब्यक्तिवादीहरुलाई किन नेता मान्ने त ? यी यावत प्रश्नहरु छन आम नेपालीको, जसलाई निर्मल निवास र नागार्जुन दरबारले सम्बोधन गर्नैपर्ने देखिन्छ नभए जसरी राज-संस्था नेपालको इतिहासको पानामा सिमित हुन पुग्यो त्यसरी नै राज-संस्था पुनःस्थापनाको मुद्दा सपना मै सिमित हुन निश्चित देखिन्छ ।

नेपालको वर्तमान राजनीतिक, सामाजिक, धार्मिक अवस्था र राजनीतिक नेतृत्वको बोली, ब्यवहार, आचरण, प्रवृत्ति एवं अन्तर्राष्ट्रिय सम्बन्ध  तथा नेपाल प्रतिको अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको चलखेल तथा स्वार्थहरुको सुक्ष्म अध्यन, अनुसंधान, विश्लेषण एवं विवेचना गर्दा स्पष्ट हुन्छ कि वर्तमान संविधानको अवसान निकै छिटो हुँदैछ । निकट भविष्य मै नेपालमा राज-संस्था पुनःस्थापना हुने पक्का छ तर त्यस संगै राजा ज्ञानेन्द्रको सचिवालयदेखि तिनका सुरक्षामा खटिएका निजी तथा सरकारी सुरक्षाकर्मी र सुरक्षा संयन्त्रमा रहेका विदेशी खुफिया एजेन्सीका सुराकी, सुचना संवाहक, गुप्तचरहरुको जालो कै कारण कहिँ कतै राजा ज्ञानेन्द्र पछि नेपालको राजसंस्थाका उत्तराधिकारी युवराज हृदयेन्द्रको पालोमा राज-संस्था र नेपाल-नेपाली माथी फेरि ठुलै षड्यन्त्र त हुने होईन ? भन्ने गम्भीर प्रश्न पनि उब्जेको छ । त्यसो भयो भने नेपालबाट राज-संस्था संधैका लागि बहिरगमन हुनेछ र नेपाल-नेपाली विदेशीका गुलाम भएर बस्नुपर्ने बाध्यता हुने निश्चित छ । त्यसकारण राजा ज्ञानेन्द्र गम्भीर हुनैपर्ने देखियो, सचेत एवं निर्णायक कदम चाल्नै पर्ने देखिन्छ । परिवर्तन एवं अग्रगमनलाई आत्मसात गर्दै नयाँ नेतृत्वलाई अगाडि सार्दै जन-चाहना अनुसार अगाडि बढ्नु नै राजा ज्ञानेन्द्र, देश र जनताका लागि हितकर देखिन्छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्