नेपाली मौलिक संस्कृति हामीले कहिल्यै पनि नभुलौं – ‘ईच्छुक’

गीतमा कुनै शब्द र अर्थ भेटिदैन । सुर र लय भेटिदैन अनि संगीत त झनै भेटिदैन हो यस्तै गीतलाई भनिन्छ मौलिक गीत।

कति सजिलोसँग लेख्छन् आयो अहिलेसम्मकै मौलिक तिज गीत, यो गीत हेरेपछि बल्ल तिज आएजस्तै लाग्यो ल हेर्नुस् भनेर प्रायोजित अाईडी बाट फेसबुक र मेसेन्जरमा आउने वुस्टवाला गित ।
धन्न बाँचेका छौ तिमी पैसे कलाकार । नारायण रायमाझीका गीत त कहिल्यै यसरी बुस्ट भएर आउँदैनन् त लाखौं भ्यूज नआएपनि । सोध्नुस् त नारायण रायमाझी को हुन् भनेर । अनि कुन नेपालीले भन्न नसक्ला नारायण रायमाझीको एउटा गीत र कसले गाउन नसक्ला उहाँको गीत ?? अनि कसले नबुझ्ला गीतका शब्द र भाव? अनि कस्ले याद नगर्ला त्यो गीतको १ शब्द मात्रै भए नि ?
उहाँ त एउटा उदाहरण मात्रै हो । यस्तै अझैसम्म पनि कति कलाकार युट्युबमा चारैतिर नदेखिए पनि हरेक नेपालीको नजरमा देखिईरहेका छन् ।
गीत संगीत दुई किसिमको हुन्छन् रे मैले सुनेको सेर ब. दाइ बाट ‘कान छुने र मन छुने’ ।
हामी अहिले कान छुने गीतको पछि लागेका छौं जुन गीत २-४-६ पटक सुन्यो भने कान छुने मात्रै हैन कानै पाक्न सुरु गर्छ, ज्वरो आउँदा खाएको खाना देखे भन्दा अझै धेरै वाक्क लाग्छ। सुरुमा सुन्दा वा वा वा भनेको गीत ७ दिन पछि छि हुन्छ । पहिलाका गीत अहिले सुन्दा पनि उतिकै मीठो लाग्छ भने ६०-६५ को दशक तिर आएका गीतहरु पनि ६ महिनामा पुरानो लाग्थ्यो । बिस्तारै रेडियोबाट पनि अलि कम बज्दथे तर बिस्तारै गीत आउँदै गर्दा ३ महिना /१ महिना /१५ दिन/ ७ दिन/१ दिन गर्दै अहिले त गीत १ पटक देखि २ पटकमै पुरानो लाग्न थालिसकेको छ ।
पछिल्लो समयका गीत सबै मौलिक भनेर लय शब्द र स्वर भिडियो राम्रो राखेपनि संगीतमा ड्रम सेट र गितार, बिचमा र्याप नमिसाएसम्म गीत नै नबन्ने भएका छन् । खहरे खोलाले पहाडै भत्काउने र बगाउने आँट गर्छ र सानो ढिस्को आयो भनेपनि आफ्नो धार / बाटो परिवर्तन गरेर अन्तै मोडिन्छ र सुकेर जान्छ तर अबिरल बगिरहने नदिहरु आफ्नै बाटो र रफ्तारमा हुन्छन् । साना तिना अवरोधले केही छुँदैन । जब जब रोक्न खोजिन्छ मोड्न खोजिन्छ अनि क्षति कति हुन्छ कल्पनै गर्न सकिदैन ।
हामी कस्ताे बन्ने? गीत कस्तो बनाउने? समाज परिवर्तनको सजिलो माध्यम गीत संगीतलाई कसरी नेपाली माटो सुहाउँदो गराउने? बेलैमा सोचौं ।
नेपाली माटो, नेपाली बाटो, नेपाली पन, नेपाली मन, नेपाली प्रकृति र नेपाली मौलिक संस्कृति हामीले कहिल्यै पनि नभुलौं ।
नमस्कार !
– डिलाराम आचार्य ‘ईच्छुक’

(गायक तथा संचारकर्मि )

लेकबेशि-१०, मैनडाँडा, सुर्खेत

प्रतिक्रया दिनुहोस्