आज युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्तीः यसरी मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

यस वर्ष कोरोना भाइरस संक्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।  विसं १९२३ भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसीकै दिन उनको निधन भएको थियो । ३० वर्षको उमेरमा परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । साथै, नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उनले नै पाएका छन् ।  युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए ।

भानुभक्तलाई चर्चामा ल्याउने काम उनले गरेका थिए । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।   शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाएको नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए ।

नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेखेका गजल व्यङ्ग्यात्मक शैलीका समेत हुन्थे । ‘जता हेर्यो त्यतै मेरो नजर्मा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उनका गजलका नमूना हुन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्