सन्दीप आवद्ध जमैकाको चौथो हार

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले चौथो हार व्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो । ब्रायन लारा स्टेडियममा नाइट राइडर्सले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

जमैकाका आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै ग्लेन फिलिप्सले ४१ रन जोड्दा कार्लोस ब्रेथवेटले अविजित २१ रन जोडे ।

त्यस्तै एनक्रुमा बोनेरले २६ रन बनाए । नाइट राइडर्सका फावद अमहेदले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । नाइट राइडर्सका लागि कोलिन मुन्रोले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै सुनिल नारिनले २९ तथा लेन्डेल सिमोन्सले २५ रन बनाए । टिम सेइफर्टले १८ रन जोड्दा कप्तान केइरन पोलार्डले अविजित ३३ रन बनाए । जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र फिडेल एडवार्डले एक एक विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका हुन् ।

यससँगै सन्दीपले ७ खेलमा १० विकेट लिन सफल भएका छन् । जमैकालाई हराएसँगै नाइट राइडर्सले लगातार सातौं खेलमा जित निकालेको छ । शीर्ष स्थानमा रहेको नाइट राइडर्सले ७ खेलमा १४ अंक जोडेको छ । जमैका ७ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्