प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर सङ्क्रमितको स्वास्थ्यमा क्रमिक सुधार

नेपालगञ्ज । बाँकेका दुई ठूला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर अवस्थाका कोराना सङ्क्रमितको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएका छन् ।

भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा दिइएका सल्यान शारदा नगरपालिका–६ का २९ वर्षीय गम्भीर कोरोना सङ्क्रमित पुरुष र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक रेम्डिसिभिर दिइएका धनगढीका ४८ वर्षीय पुरुषको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाइएको छ ।

भेरी अस्पतालका प्लाज्मा थेरापीका सम्पर्क व्यक्ति डा। खगेन्द्रजङ्ग शाहले गत शुक्रबार भेरी अस्पतालमा भर्ना भएका सल्यानका पुरुषको अवस्था निकै गम्भीर बनेपछि उनलाई मङ्गलबार प्लाज्मा दिइएको र त्यसपछि क्रमशः उनको स्वास्थ्यमा सुधार आउँदै गएको बताउनुभयो । उहाँले प्लाज्मा दिएको तेस्रो दिनमै उनको स्वास्थ्यमा राम्रो सुधार देखिएकोले आफूहरू उत्साहित भएको बताउनुभयो ।

डा। शाहले सङ्क्रमितको स्वास्थ्य अवस्थामा व्यापक सुधार आएको जनाउँदै यस्तै अवस्था रहेमा उहाँलाई बिहीबारनै अक्सिजनबाट बाहिर निकालिने पनि बताउनुभयो ।
ती सङ्क्रमितलाई नेपालगञ्ज १ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिनुभएको थियो । बाँकेमा पहिलो प्लाज्मा दिने व्यक्ति पनि उहाँ बन्नुभएको थियो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना रहेका धनगढीका गम्भीर सङ्क्रमित पुरुषलाई पहिलो पटक रेम्डिसिभिर दिएपछि उहाँको स्वास्थ्य अवस्थामा पनि सुधार आएको शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका फिजिसियन डा. श्याम विकको नेतृत्वमा डा।सन्देश पण्डितसहितको टीमले पहिलो पटक सङ्क्रमितलाई मङ्गलबार रेम्डिसिभिर औषधि दिएको थियो । सङ्क्रमितको उपचारमा संलग्न फिजिसियन डा। विकले न्यायलयका उच्च अधिकारी ती सङ्क्रमितलाई बिहीबारसम्म आइपुग्दा रेम्डिसिभिरको पाँचौ डोज दिइएको बताउनुभयो ।

उहाँको स्वास्थ्यमा उत्साहजनक सुधार भइरहेको जनाउँदै सोही अस्पतालमा रहनुभएका अन्य गम्भीर अवस्थाका एक जना अन्य सङ्क्रमितलाई पनि रेम्डिसिभिरको दोस्रो डोज दिइएको र थप दुई जना अरुलाई पनि बिहीबार नै रेम्डिसिभिर दिइने बताउनुभयो ।

डा। विकका अनुसार गम्भीर सङ्क्रमितलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आइसीयूमा राखेर उपचार गर्दा रेम्डिसिभिर औषधि दिइने गरिएको छ । कोहलपुर अस्पतालले पश्चिम नेपालबाट पहिलोपटक यसको प्रयोग गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्