रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गरिने, यस्तो छ सहमति

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ ।

ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा भएको सर्वपक्षीय छलफलका क्रममा रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको हो ।

सहमतिअनुसार रातो मच्छिन्द्रनाथ रथ राखिएको स्थानमा क्षमा पूजा गरिने छ । भाद्र २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तानिने भएको छ ।

त्यस्तै भाद्र २२ गते साइत हेर्ने र २६ गते भित्र मूर्ति बुङ्गमतीमा पु¥याएर मन्दिरमा बिराजमान गराउने तय भएको छ ।

बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा संघ संस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

कुनै अप्रिय घटना हुन नदिन ललितपुर प्रशासनले ललितपुर महानगरभित्र कर्फ्य जारी गरेको छ भने रातो मच्छिन्द्रनाथको रथ वरपर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्