चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियू सेवा

भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो ।

त्यसको १४ वर्षपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भक्तपुरमा विसं १९६१ असार १७ गते १५ शय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट स्थापना गरेको अस्पताल हो ‘भक्तपुर अस्पताल ।’ यसरी नेपालको जेठो वीर अस्पताल पछिको दोश्रो अस्पताल हो यो । देशकै दोश्रो जेठो अस्पताल भएपनि हरेक सरकारबाट उपेक्षित बन्दै आएको भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल सघन उपचार (आइसियू) सेवा शुरु हुने भएको छ ।

चन्द्र शमशेरले यो जिल्लाका साथै काभ्रेको बासिन्दालाई पनि स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गराएको यो अस्पताल २०२८ सालमा ५० शय्याको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार गरेको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मिलन सुवाल बताउँछन् ।

विसं २०३० मा बनेको भवनमा हाल सञ्चालन भइरहेको अस्पतालमा २०५८ जेठमा अमेरिकी सैनिक सहयोगमा आकस्मिक कक्षको निर्माण भयो भने विसं २०६१ भदौमा २५ शय्याको प्रसूति गृह थपगरी ७५ शय्यामा विस्तार निर्माण गरेको उनले जानकारी दिए ।

भक्तपुर अस्पतालको जग्गाभित्र अहिले तीनवटा अस्पताल सञ्चालनमा छन् । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र छन् । ‘चन्द्रलोक डिस्पेन्सरी’ को ऐतिहासिक भवनबाटै शुरु भएको भक्तपुृर क्यान्सर अस्पताल अहिले पनि क्यान्सरले भोगचलन गर्दै आएको छ ।

सरकारले भक्तपुर अस्पतालको लागि १०० शय्यामा बिस्तार गर्ने भन्दै बनाएको नयाँ अन्तरङ्ग भवनमा राष्ट्रिय प्रत्यारोपण केन्द सञ्चालनमा छ । अहिले यहाँका तीन वटै अस्पताललाई भवन निकै अभाव छ ।

अस्पतालकै जग्गामा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको भवन छ भने अस्पताल परिसरभित्रको जग्गामा भक्तपुर नगरपालिकाले आफ्नो जग्गा भन्दै निजी रुपमा पर्यटकीय शौचालय बनाएको छ । अलिकति खाली भएको जग्गामा अहिले कोभिड–१९ का विरामी र आईसियू वार्ड निर्माण गरेको छ ।

यसअघि राजनीतीकरण, भ्रष्टाचारको जालोमा बेरिँदै आएको आरोप लागेको भक्तपुर अस्पतालमा देशमा कोरोना सङ्क्रमण बढेसँगै बल्ल आइसियू कक्ष सञ्चालनमा आउने भएको छ । अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष नवराज गेलालले आइसियू सञ्चालन गर्न ल्याएका भेण्टिलेटरसहितको सामग्री थन्किएको पाँच वर्षपछि बल्ल प्रयोगमा आएको हो ।

भक्तपुर अस्पतालमा यसअघिका मेडिकल सुपरिटेण्डेन्ट डा.सुधा देवकोटालाई यहाँका सांसददेखि समितिका अध्यक्षसमेतले पटक पटक आइसियू सञ्चालन गर्न आग्रह गर्दा अटेर गरी थन्क्याएर राखेको आइसियूका सामान अहिले प्रयोगमा आएका हुन् ।

भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा सरुवा भई आएकी डा. सुमित्रा गौतमले वर्षौदेखि प्रयोगमा नआएका आइसियूका भेण्टिलेटरसहितका सामानहरुको प्रयोग गर्दै एकसाता भित्र आइसियू सञ्चालनमा ल्याउने गरी तयारी पूरा गरेपछि देशकै दोश्रो जेठो अस्पतालले स्थापनाको ११६ वर्षपछि आइसियू सेवाको शुरुआत गर्ने भएको हो ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले यसअघि नै भक्तपुर अस्पतालमा विशेषज्ञ सेवादेखि आइसियू सञ्चालन गर्न पटक पटक भन्दा पनि चासो नदिएको अवस्थमा अहिलेको स्वास्थ्य सङ्कटको बेलामा भएपनि आइसियू सञ्चालनमा आउनु खेशीको कुरा भएको बताए ।

भक्तपुर अस्पताललाई यहाँका विरामी मात्रै नभई काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकदेखि पूर्वका जिल्लाका अधिकांश बिरामीको केन्द्र अस्पतालको रुपमा विकास गर्न आफूले पहल गरिरहेको बताउदै उनले पूर्वका धेरै जिल्लासँगै वागमती प्रदेशका जिल्लाका मुख्य अस्पतालको रुपमा विकास गर्दै यहाँका नागरिकलाई सहज र सुलभ उपचार दिने गरी विकास गर्नु आवश्यक रहेको बताए ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्